नेपालगन्जः डा.राजन महत लमजुङमा जन्मिए । उनी काठमाडौंमै हुर्किए र त्यहीं अध्ययन पनि गरे । तर सेवा भने पश्चिम तराईको नेपालगन्जमै बसेर दिँदै आएका छन् । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सर्जन डा. महत विगत एक वर्षदेखि केयर सिटी हस्पिटल, नेपालगन्जमा पूर्णकालीन रुपमा आवद्ध रहँदै यस क्षेत्रको प्रसूति तथा स्त्रीरोग उपचारमा महत्वपूर्ण योगदान दिँदै आएका छन् । उनै डा.महतले स्वास्थ्य पेजका लागि आफ्नो उपचार अनुभव साटेका छन् ।
शल्यक्रिया गर्ने भन्दै चिकित्सकले पेट चिरे, नसकेर बन्द गरेर घर फर्काइएकी ती महिला जव राती २ बजे केयर सिटी आएपछि…
गएको वर्ष करिब ४२–४३ वर्षकी एक महिला केयर सिटी हस्पिटलमा आइन् । दाङकी ती महिलाको त्यहाँको एक अस्पतालमा चिकित्सकले शल्यक्रिया गर्ने भन्दै पेट चिरेर फेरि बन्द गरिदिएका रहेछन् । ती महिलाको पाठेघरको वरिपरी आन्द्रा टाँसिएको अवस्था थियो । चिकित्सकीय भाषामा यसलाई एन्डोमेट्रियोसिस भनिन्छ । तर त्यहाँका चिकित्सकले कुनै उपचार नगरी केवल पेट खोलेर बन्द मात्र गरिदिए ।
त्यसपछि उपचार सम्भव भएन भन्दै तीन महिनापछि काठमाडौं वा भारतको लखनउ जान सुझाव दिँदै घर पठाइएका थिए । यस्ता केसमा इन्फेक्शन र रक्तस्रावको जोखिम उच्च हुन्छ । उस्तै परे बिरामीको ज्यान समेत जान सक्छ । बिरामीको पीडा कम भएन । राति करिब २ बजेतिर ती महिलालाई परिवारले हस्पिटल ल्याए । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. राजन महतको टोलीले करिब ४ घण्टा लगाएर सफलतापूर्वक शल्यक्रिया गर्यो । अन्ततः ती महिलाको ज्यान जोगियो ।
बच्चा जन्मिनुअघि नै नाल निस्केर आएकी ती गर्भवती…
बर्दियाकी २२–२३ वर्षीया गर्भवती महिलालाई आफन्तहरूले राति करिब एक बजे अस्पतालको आपतकालीन कक्षमा ल्याए । अवस्था गम्भीर देखिएपछि त्यहाँ खटिएका चिकित्सकले तत्कालै विशेषज्ञ डा. महतलाई फोन गरे । डा. महत तुरुन्तै पुगे र उनी स्वयं छक्क परे, किनकि बच्चा जन्मिनुअघि नै नाल बाहिर निस्किसकेको थियो ।
यस्तो अवस्थामा बच्चाको ज्यान जोखिममा पर्न सक्थ्यो । बच्चा जन्मिनुअघि नै नाल (umbilical cord) बच्चाभन्दा अगाडि खस्दा वा यौनीतर्फ आउँदा नाल थिचिन सक्छ र बच्चासम्म अक्सिजन आपूर्ति रोकिएर बच्चाको ज्यान जोखिममा पर्छ । तर, उनको टोलीले १५ मिनेटमै सफलतापूर्वक शल्यक्रिया गरी बच्चा जन्मायो । परिणामस्वरुप आमा र बच्चा दुवैको ज्यान जोगियो ।
को हुन डा. राजन महत ?

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.राजन महत ।
लम्जुङ जिल्लाको मध्यनेपाल १० नेटामा २०४७ सालमा डा. राजन महत जन्मिए । उनका पिता सन्तबहादुर थापा काठमाडौंस्थित साझा प्रकाशनमा जागिरे थिए । त्यसैले आमा बिमला र दाईसँगै उनी ३–४ वर्षको उमेरमा परिवारसहित काठमाडौं बसाइँ सरे । उहाँको प्रारम्भिक पढाइ सिद्धार्थ वनस्थलीबाट भयो । २०६३ सालमा प्रथम श्रेणीसहित एसएलसी उत्तीर्ण गरेपछि उनले २०६५ सालमा निष्ट कलेजबाट प्लस टु पूरा गरे । डा. महतको बाल्यकालदेखि नै डाक्टर बन्ने सपना थियो, र पढाइमा पनि उत्कृष्ट हुँदा उनले आफ्नो सपनालाई साकार पार्ने दृढ इच्छा बनाए ।
२०६६ सालमा उनले नेपाल मेडिकल कलेज, जोरपाटीमा एमबीबीएस अध्ययनका लागि भर्ना भए र २०७१ सालमा एमबीबीएस पूरा गरे । त्यसपछि म्यादीको बेनी अस्पतालमा १८ महिना मेडिकल अधिकृतको रूपमा सेवा गरे । त्यसपश्चात् एमडी तयारीका लागि काठमाडौं फर्किए । २०७४ सालमा न्याम्सबाट छात्रवृत्तिमा नाम निकाल्दै उनी नयाँ अध्यायका लागि तयार भए । सुरूमा उनी एनस्थिसियोलोजीमा रुचि राख्थे । तर बेनी अस्पतालमा काम गर्दा थुप्रै महिलाहरुको स्वास्थ्य समस्यालाई नजिकबाट हेर्ने अवसर पाएपछि साथीभाइको सल्लाहअनुसार उनले स्त्रीरोग (गाइनोकोलोजी)मा एमडी गर्ने निर्णय गरे ।
तीन वर्षको अथक मिहिनतपछि उनले गाइनोमा एमडी पूरा गरे । छात्रवृत्तिका क्रममा उनी भेरी अस्पताल पुगे र तीन वर्ष सेवा गरे । त्यसपछि केही समय पाटन अस्पतालमा योगदान गरे । २०८१ सालको भदौ महिनाबाट डा. महत केयर सिटी हस्पिटल, नेपालगन्जमा पूर्णकालीन रुपमा यस क्षेत्रका बिरामीहरुको स्वास्थ्य सेवामा समर्पित छन् । उनी भन्छन्–‘क्यान्सरबाहेक महिलासँग सम्वन्धित अधिकांश उपचार केयर सिटीमै सम्भव छ ।’ डा. महतले भारतबाट ल्याप्रोस्कोपिक सर्जनमा फलोशिप समेत गरेका छन् ।
ल्याप्रोस्कोपिक सर्जरीको विशेषता पेट नचिरेरै तीन–चार वटा सानो प्वालमार्फत गरिने आधुनिक शल्यक्रिया पद्धति हो । यो विधिबाट शल्यक्रिया गर्दा रगत कम बग्ने, अपरेशनपछि छालामा ठूलो चोट नपर्ने र अस्पताल बसाइ छोटो हुने उनी बताउँछन् । डा. महतका भन्छन्–‘परम्परागत शल्यक्रिया (ओपन सर्जरी) को तुलनामा ल्याप्रोस्कोपिक विधिले बिरामीलाई कम पीडा र छिटो सक्रिय जीवनतर्फ फर्किन सहयोग गर्दछ ।
साथै संक्रमणको जोखिम पनि न्यून हुन्छ ।’ केयर सिटी हस्पिटल, नेपालगन्जमा विगत एक वर्षदेखि पूर्णकालीन रूपमा आवद्ध डा. महतले यस प्रविधिको प्रयोग गर्दै महिलाहरुको स्वास्थ्य सुधारमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् । यसले स्त्रीरोग र प्रसूति सम्बन्धी जटिल समस्यामा ल्याप्रोस्कोपिक सर्जरीले नयाँ आशा दिएको छ ।