डा.मोहन बेल्बासेको उपचार अनुभवः आँखा रसाउने क्षणदेखि मन भत्काउने घटनासम्म

मानसिक स्वस्थताका लागि हिंजो र भोलीको चिन्ता आज गर्न नहुने उनी सुझाव दिन्छन् । उनी भन्छन्–‘अहिले जे गर्नुपर्ने छ, त्यसैमा मात्र ध्यान दिनुपर्छ । हिंजोको दुःख–पीडा सम्झनु हुँदैन र भोली के होला भनेर डर वा चिन्ता लिनु हुँदैन । हालको दैनिकीमा रमाउने, भएको कुरा मान्न र त्यसमा खुसी हुने र उपलब्ध स्रोतलाई मिलाएर उपयोग गर्ने वातावरण बनाउने हो भने आधा मानसिक रोग हराएर जान्छ ।’


    • प्रियास्मृति ढकाल / समिरमान श्रेष्ठ

  • ८ आश्विन २०८२, बुधबार

नेपालगन्जः पछिल्लो समय मानिसमा बढ्दो चेतनाको स्तर र चिकित्सकहरुको उपलब्धता बढ्दै गएका कारण परामर्श तथा उपचार लिनुपर्छ भन्ने मानसिकता बढ्दै गएको छ । पहिले देविदेउता लागेको हो कि भनेर धामीझाक्रीकहाँ जाने चलन थियो । तर अहिले चिकित्सकहरूसँग भेट्ने क्रम बढेको छ । अरु स्वास्थ्य सेवासँगको तुलना गर्दा मानसिक स्वास्थ्य धेरै पछाडि छ । मानसिक समस्या अरु रोग जस्तै हो भन्ने कुरा आम नागरिकले बुझ्न सकेका छैनन् । यो सबैभन्दा ठूलो चुनौती हो । करिव १४ वर्षदेखि बाँकेको कोहलपुरमा बसेर पश्चिम नेपालमा मानसिक स्वास्थ्यको परामर्श र उपचार सेवा प्रदान गर्दै आएका नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका मानसिक रोग विशेषज्ञ प्रा.डा.मोहन बेल्बासेले आफ्नो उपचार अनुभव स्वास्थ्य पेजलाई साटेका छन् ।

जव ती युवक खाना लिएर मेरो अगाडि उभिए, खुसीले आँखा रसाए …
६–७ वर्ष अघिको कुरा हो । स्वास्थ्य शिविरका लागि डा. मोहन डोटी पुगेका थिए । बिहानैदेखि बिरामीहरूको भीड थियो । त्यही बीचमा अचानक केही प्रहरी र स्थानीय मानिसले एक युवकलाई डोरीले बाँधेर शिविरमा ल्याए । उमेर त जम्मा २५–२६ वर्ष जस्तो देखिन्थ्यो, तर उसको रुपरङ्गले अवस्था केही अर्कै कथा बोलिरहेको थियो । लामो कपाल, महिनौँसम्म ननुहाएजस्तो मैलो शरीर, कपडाभन्दा बढी फोहोरले ढाकेको स्वरुप । आँखामा डर, असुरक्षा र बेग्लै संसारमा हराएको झल्को थियो । जाँचपछि थाहा भयो–उनी सिजोफ्रेनिया नामक गम्भीर मानसिक रोगले ग्रस्त रहेछन् । यस्तो रोगले मानिसलाई आफ्नो परिवारदेखि टाढा पुर्‍याउँछ, सामाजिक सम्बन्ध तोड्छ । घर छाड्ने, मानिस देखे भाग्ने, एक्लै भौतारिने–यी सबै लक्षण उसमा स्पष्ट देखिन्थे ।

डा. मोहनले उपचार सुरु गरिदिए । सुरुका दिनहरू सजिलो थिएनन् । तर समयसँगै औषधि र स्नेहको असर देखिन थाल्यो । दुई महिनापछि भेट्दा त्यो युवकमा आश्चर्यजनक सुधार आएको थियो । अझ दुई महिना थप उपचारपछि उनी लगभग नयाँ जीवनतर्फ फर्किएका थिए । छ महिनापछि डा. मोहन संयोगले डोटीको एउटा होटेलमा खाना खान पुगे । खाना ल्याउने वयटरलाई देखेर उनी एकछिन अचम्ममा परे–त्यो त उही युवक रहेछन्, जुन कहिल्यै समाजमा फर्कन सक्दैनन् भनेर कतिपयले हार मानेका थिए । सफा पोशाक, आत्मविश्वासिलो अनुहार र जीवनप्रति आशा बोकेको दृष्टि–उनी अब पूर्ण फरक व्यक्ति बनेका थिए ।

डा. मोहन भन्छन्–‘उनी खाना लिएर मेरो अगाडि उभिँदा खुसीले मेरो आँखा रसाए । उपचारले मात्र होइन, विश्वास र साथले पनि जीवन बदलिन्छ भन्ने त्यो दिन मैले प्रष्ट महसुस गरेँ । त्यो क्षण म कहिल्यै बिर्सन सक्दिनँ ।’ मानसिक स्वास्थ्यमा समस्या भएको व्यक्तिलाई अझै नेपाली समाजमा अझै लान्छना लगाउने, विभेद गर्ने अवस्था रहेको उनले अनुभव सुनाए । तर, यो रोग पनि अन्य धेरै रोगजस्तै उपचारपछि ठिक हुन्छ ।

दुर्भाग्य ती महिलाले आत्महत्या गरिन्…
सुर्खेतकी एक २८–२९ वर्षकी युवती डा.मोहन बेल्बासेको नियमित फलोअपमा आउँथिन् । उनी बाइपोलर अफेक्टिभ डिसअर्डर नामक गम्भीर मानसिक रोगसँग संघर्ष गरिरहेकी थिइन् । औषधि उपचार र परामर्शकै बीचमा उनी आफ्नी आमासँगै आउँथिन् । संयोग त्यस्तो थियो कि आमालाई पनि मानसिक स्वास्थ्यसम्बन्धी समस्या थियो । डा. मोहनले प्रायः देख्ने दृश्य–अस्पतालको ढोकाबाट आमाछोरीसँगै भित्र् पस्थे । नियमित औषधिले उनीहरु ठिकठाक थिए । तर दुर्भाग्य–छोरीले बीचमै औषधि खान छोडिन् ।

उपचारलाई अधुरै छाड्दा रोगले फेरि बल पायो । एकदिन खबर आयो–उनी आत्महत्या गरिसकेकी थिइन् । त्यो समाचारले मात्र होइन, त्यो रिक्तताले पनि डा. मोहनलाई गहिरो धक्का दियो । अब नियमित फलोअपमा आमा मात्र आउँछिन् । हरेकपटक आमा एक्लै कोठामा पस्दा डा. मोहनलाई ती छोरीको अनुहार याद आउँछ–जसले कहिल्यै फर्केर नआउने जीवनको बाटो रोजिन् । डा. मोहन भन्छन्–‘आमाछोरी सँगै आउँथे । अहिले आमा मात्रै आउनुहुन्छ । त्यो दृश्यले हरेक पटक मलाई भित्रसम्म छोइरहन्छ । चिकित्सक भएर पनि कतिपय घाउहरू हामी मलम लगाउन सक्दैनौं भन्ने कुरा यस्ता क्षणले सम्झाइरहन्छ ।’

गाउँको साधारण खेतबारीदेखि मानसिक रोग विशेषज्ञसम्मको यात्रा
सितगंगा–१० सिद्दारा, अर्घाखाँची । २०२९ साल जेठ ६ गते किसान परिवारमा जन्मिएका थिए मोहन । पिता नारायण र माता उमा किसानी पेशामै जीवन गुजारिरहेका थिए । खेतबारीमै पसिना बगाएर छाक टार्ने आम किसानको साधारण परिवारमा जन्मिएका मोहनलाई कोही कल्पनै गर्थेनन्–एकदिन उनी हजारौं मानसिक बिरामीका लागि आशा र जीवनको पर्याय बन्नेछन् भनेर । मोहनका परिवारमा तीन भाइ र तीन बहिनी थिए । जीवन सुरु भयो गाउँकै सरकारी विद्यालयबाट । कक्षा २ सम्म उनले गाउँमै पढे । त्यसपछि भने काठमाडौं यात्रा–जहाँ प्रगति शिक्षा सदन, कुपन्डोलमा एकैपटक ५ कक्षामा भर्ना भए । किनकि उमेर १२–१३ वर्ष पुगिसकेको थियो, ढिला गरेर पढाइ सुरु गरिएको थियो । तर बुद्धि तेज र मिहिनेती भएकाले उनले छोटो समयमै कोर्स कभर गरे । कक्षा ५ र ६ प्रगति शिक्षा सदनमै पढेपछि विजय स्मारक मावि उनको अर्को यात्रा बन्यो ।

२०४६ सालमा, देशमा प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन चर्किरहेको बेला, मोहनले सरकारी स्कुलबाट प्रथम श्रेणीमा एसएलसी उत्रिए । त्यसबेला उनले केही समय आन्दोलनमा पनि सक्रियता जनाए । त्यसपछि उनको जीवन स्वास्थ्य क्षेत्रमा मोडियो । महाराजगञ्ज क्याम्पसमा हेल्थ असिस्टेन्ट अध्ययनका लागि भर्ना भए । पढाइ साढे दुई वर्षमै सकिनुपर्ने भए पनि आन्दोलनका कारण उनले साढे तीन वर्षमा मात्र पूरा गर्न सके । पढाइ सकेपछि उनले ३–४ वर्ष प्रसूति गृहमा काम गरे । काममै रमाइरहेका बेला उनको नाम टिचिङ अस्पतालमा एमबीबीएस पढ्नका लागि निस्कियो । २०६० सालमा उनले एमबीबीएस पूरा गरे । त्यसपछि मेडिकल अधिकृतको रुपमा इलामस्थित मेघबहादुर पराजुली अस्पतालमा सात–आठ महिना काम गरे ।

त्यसपछि उनी जिरी मोडल हेल्थ परियोजनामा आवद्ध भए । कार्यक्षेत्र दोलखा थियो । अन्तराष्ट्रिय परियोजना भएकाले सेवासुविधा राम्रै थियो । करिब साढे दुई वर्षसम्म त्यहाँ काम गर्दा उनले मानसिक स्वास्थ्यको वास्तविकता नजिकबाट देखे र बुझ्ने अवसर पाए । गाउँघरमा मानसिक रोगबारे जानकारी नै नहुँदा उपचारभन्दा बढी अन्धविश्वासले मानिसलाई बाँधिरहेको अवस्था थियो । यतिखेरसम्म मोहनको मनमा नयाँ निर्णय जन्मिइसकेको थियो–मानसिक स्वास्थ्यमै विशेषज्ञता हासिल गर्ने । २०६३ सालमा उनले धरानमा एमडी अध्ययन सुरु गरे । २०६६ सालमा एमडी पूरा गर्दा उनको जीवनको बाटो प्रस्ट भइसकेको थियो–उनी अब मानसिक रोग विशेषज्ञ भइसकेका थिए । मोहन भन्छन्–‘सुरुमा मैले मानसिक स्वास्थ्य र एनेस्थेसिया पढ्नै नपरोस् भन्ने सोच्थें । तर परिस्थितिले मलाई मानसिक रोग विशेषज्ञ बनाइदियो ।’

एमडी सकाएपछि उनी किष्ट मेडिकल कलेजमा लेक्चरर भए । त्यतिबेला उनकी श्रीमती ज्योति अधिकारी नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा एमडी गर्दै थिइन् । परिवार टाढा भएपछि मोहनलाई असहज लाग्न थाल्यो । त्यसैले २०६८ सालमा उनी कोहलपुर मेडिकल कलेजमै आए । त्यतिबेला देशभर मानसिक रोग विशेषज्ञ जम्मा ३५–४० जना मात्र थिए । पश्चिम नेपालका मानिस मानसिक रोगको उपचारका लागि भारततिर धाउने गर्थे । गाउँमा त अझ मानसिक रोगलाई ‘देवदेउता लाग्यो’, ‘कर्मको फल हो’ भनेर हेर्ने चलन प्रबल थियो । यस्तो चुनौतीपूर्ण अवस्थामा मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउनु र बिरामीलाई उपचारको दायरामा ल्याउनु कुनै सजिलो कुरा थिएन ।

तर डा. मोहनले हार मान्न सकेनन् । निरन्तरको मिहिनत, समर्पण र सेवाभावले उनले पश्चिम नेपालका हजारौं मानसिक बिरामीलाई उपचार मात्रै दिएनन्, नयाँ जीवनतर्फ फर्किन प्रेरणा पनि दिए । उनले दिएको उपचारपछि कोही फेरी पढ्न थाले, कोही रोजगारमा फर्किए, कोही घर परिवारसँग पुनर्मिलन भए । आज उनी शिक्षण अस्पताल, कोहलपुरमा मानसिक स्वास्थ्यका प्रोफेसर मात्रै होइनन्, देशकै मानसिक स्वास्थ्य सेवाको आधारस्तम्भमध्ये एक बनेका छन् । यहाँ अहिले साइक्याट्रिक एमडी पढाइ हुन्छ । उनका तीन ब्याच सकिएका छन्, थप तीन ब्याच अध्ययनरत छन् ।

मनोसमस्यामा परेका व्यक्तिलाई मनोपरामर्श दिनु, रोगको प्रकृति अनुसार औषधि उपचार गर्नु उनको दैनिकी हो । त्यसैगरी मनोरोग अध्ययन गर्ने विषयका विद्यार्थीलाई आफूले सिकेको ज्ञान तथा सीप सिकाउनु उनको शैक्षिक काम हो । त्यसो त उनी मनोसमस्याका लागि परामर्श तथा उपचार गर्ने उद्देश्यले विभिन्न ठाउँमा स्वास्थ्य शिविर लिएर समेत पुग्ने गरेका छन् । उनको यात्रा–गाउँको सानो विद्यालयदेखि शिक्षण अस्पतालको प्राध्यापकसम्म–साधारण छैन । मानसिक स्वस्थताका लागि हिंजो र भोलीको चिन्ता आज गर्न नहुने उनी सुझाव दिन्छन् । उनी भन्छन्–‘अहिले जे गर्नुपर्ने छ, त्यसैमा मात्र ध्यान दिनुपर्छ । हिंजोको दुःख–पीडा सम्झनु हुँदैन र भोली के होला भनेर डर वा चिन्ता लिनु हुँदैन । हालको दैनिकीमा रमाउने, भएको कुरा मान्न र त्यसमा खुसी हुने र उपलब्ध स्रोतलाई मिलाएर उपयोग गर्ने वातावरण बनाउने हो भने आधा मानसिक रोग हराएर जान्छ ।’

  • ८ आश्विन २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech