एक वर्षमै ४० हजार बिरामीको उपचारः ब्रिनोज कान स्वास्थ्य सेवामा भारतीयको समेत भरोसा

    • स्वास्थ्य पेज

  • ७ आश्विन २०८२, मंगलवार

नेपालगन्जः नेपालगन्जको फुलटेकस्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाले एक वर्षमै करिब ४० हजार बिरामीलाई ओपीडी सेवा दिएको छ । कान उपचारका लागि नेपाली मात्र नभई भारतीय बिरामीहरूको पनि भरोसाको केन्द्र बनेको ब्रिनोजले आर्थिक वर्ष २०८१/०८२ मा ३९ हजार ५३७ जनालाई ओपीडी सेवा प्रदान गरेको सेवाका प्रवन्धक चेतनारायण चौधरीले जानकारी दिए ।

उनका अनुसार, सेवा लिनेमा २४ हजार ५०३ जना महिला र १५ हजार ०३४ जना पुरुष छन् । तीमध्ये ३१ प्रतिशत भारतीय नागरिक हुन् । यस्तै, ७८४ वटा शल्यक्रिया भएका छन्, जसमा ५८१ वटा मेजर शल्यक्रिया हुन् । कानको जाली प्वाल परेका तथा कानको हड्डी खाने समस्या भएका बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिएको इएनटी सर्जन डा. आनन्द झा बताउँछन् । त्यस्तै, २०३ वटा माइनर शल्यक्रिया भएका छन् । शल्यक्रिया सेवा लिनेमा २४१ जना भारतीय बिरामी रहेका छन् ।

यो एक वर्षको अवधिमा ४ हजार २७ जनाको कानको सुनुवाइ क्षमता जाँच गरिएको छ भने ९६० जनाको ल्याब परीक्षण गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ३५ हजार ८३४ जनाले ओपीडी सेवा लिएका थिए । त्यतिबेला ७२६ जनाको शल्यक्रिया भएको थियो भने ४ हजार २१९ जनाको सुनुवाइ परीक्षण र ९२१ जनाको ल्याब परीक्षण गरिएको थियो ।

इएनटी सर्जन डा. आनन्द झा, डा. अजय बैश्य, डा. लोकनाथ वर्मा लगायतको टोलीले ओपीडी तथा शल्यक्रिया सेवा दिँदै आएको छ । दक्ष चिकित्सकहरूको उपचारले बिरामीमा थप भरोसा र विश्वास दिलाएको बिरामीहरूले बताएका छन् ।

यस्तै, भीषण थारुको नेतृत्वमा आउटरिच कार्यक्रम पनि ब्रिनोजले सञ्चालन गर्दै आएको छ । कान स्वास्थ्यबारे जनचेतना फैलाउन तथा ग्रामीण क्षेत्रका नागरिकलाई निःशुल्क सेवा प्रदान गर्न लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा शिविर आयोजना गरिएको प्रवन्धक चौधरीले बताए । आर्थिक वर्ष २०८१/०८२ मा मात्रै ७ हजार ६५६ जनाले आउटरिच कार्यक्रममार्फत सेवा लिएका छन् ।

  • ७ आश्विन २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech