घुर्ने बानीले स्वास्थ्यमा पार्ने असर, परीक्षण र उपचार

कहिलेकाहीँ रातको समयमा निद्रामै सास रोकिने कारणले ज्यान जान सक्ने अवस्था पनि आउँछ । राति सुत्दा खेरि सुतेको सुतै भएको साथीहरुको समाचार पनि हामीले पढ्छौं सुन्छौं । उनीहरुको पृष्ठभूमि अध्ययन गर्दा असाध्यै घुर्ने बानी रहेको सुन्न पाइन्छ ।


    • स्वास्थ्य पेज

  • २ आश्विन २०८२, बिहीबार

हामी मध्ये कतिपयमा सुत्दा घुर्ने समस्या हुन्छ । प्रायको घरमा एक न एकजना घुर्ने व्यक्ति हुन्छन् । धेरैलाई लाग्छ, यो एउटा बानी मात्र हो । अनि, यसरी घुर्नुको बेफाइदा अरूलाई सुत्न डिस्टर्ब गर्नु मात्रै हो ।

तर, घुर्नु एक स्वास्थ्य समस्या रहेको विज्ञहरू बताउँछन् । घुर्ने बानीले कतिपय अवस्थामा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा.डा. दिपक रेग्मी बताउछँन् ।

घुर्ने समस्या किन हुन्छ ? यो कस्तो समस्या हो ? कस्ता व्यक्ति बढी घुर्छन् ? यी विषयमा प्रा.डा. रेग्मीसँगको कुराकानीको सम्पादित अंश:

सुत्दा घुर्नुलाई हामीले सामान्य बानी मात्रै मान्छौं । खासमा यो कस्तो समस्या हो ?

हामीलाई सामान्य लागे पनि घुर्ने बानी गम्भीर स्वास्थ्य समस्या हुन सक्छ । यो आफूलाई थाहा नहुने तर भित्रभित्रै मन र शरीरको भागहरू बिगार्न सक्ने समस्या हो ।

घुरेका बेला व्यक्तिको सुताइको प्रकृति भिन्न खालको हुन्छ । व्यक्ति भित्रभित्रै छट्पटिरहेको हुन्छ । तर आफूलाई थाहा हुँदैन । घुर्दा नाक बन्द भई मुखबाट सास फेरिन्छ ।

यसरी मुखबाट सास फेर्दा कहिलेकाहीँ नाक पूरै बन्द भई सास रोकिने अवस्था आउनसक्छ । एकैछिन सास रोकिए पछि झसंग ब्यूँझिन्छ । यो अवस्थालाई चिकित्सकीय भाषामा ‘अब्स्ट्रक्टिभ स्लिप एप्निया’ भन्ने गरिन्छ ।

यस्तो किन हुन्छ ? मुख्य कारण के हो ?

यो समस्या मुख्यतया दुई कारणले हुन्छ । एउटा मस्तिष्कसँग सम्बन्धित ‘सेन्ट्रल’ कारण हो भने अर्को नाक, घाँटी र श्वासनलीमा कुनै अवरोध भएर हुने ‘पेरिफेरल’ कारण हो । पेरिफेरल कारणमा एउटा न्याजल क्याभिटी भित्र हुन्छ । नाकको दायाँ र बायाँ प्वालको भित्रपट्टी केही समस्या भयो भने हुन्छ ।

अर्को नाकको पछाडिको भागमा ‘न्याजोफेरिङ्स’ हुन्छ । त्यसमा मासु पलायो वा केही समस्या भयो भने पनि घुर्ने हुनसक्छ । अर्को जिब्रोको फेद र टन्सिलको एरियामा ‘ओरोफेरिङ्स’ भन्ने हुन्छ । त्यसमा केही अवरोध हुँदा पनि सुत्दा घुर्ने हुन्छ ।

श्वासनलीको मुख ल्यारिङ्स वा भोकल कर्ड भनिन्छ । कुनै कारणवश यसमा अवरोध आएमा पनि यस्तो समस्या हुनसक्छ । नाकको दुलोभित्र सानो मासुको डल्लो हुन्छ । त्यो भाग ठूलो भएको हुनसक्छ ।

अर्को नाकमा हुने एलर्जीको कारणले पनि हुनसक्छ । नाकको एलर्जीको कारण नाकमा मासु पलाउन सक्छ । जसले वायुमार्ग बन्द गर्न सक्छ ।

घुर्ने समस्या भएकाहरू आफूले घुरेको थाहै पाउँदैनन् । अनि यसलाई समस्या नठान्ने कारण अस्पताल जाने वा चिकित्सकलाई भेट्नेबारे सोच्दैनन् । यस्तोमा के गर्ने ?

हो, घुर्ने मान्छेलाई आफू घुर्छु भन्ने थाहा हुँदैन । घुर्दाघुर्दै छिनछिनमा निद्रा बिग्रेको पनि थाहा हुँदैन । यस्तोमा उनीहरू अस्पताल जान मन गर्दैनन् ।

उनीहरूमा बिहान उठ्दा यसका विभिन्न लक्षण देखिए पनि घुर्ने समस्याकै कारण भनेर थाहा हुँदैन । अनि अवस्था गम्भीर भएपछि मात्र अस्पताल पुग्छन् । यो ठूलो चुनौती बनेको छ । यसका लागि सचेतना फैलाउन आवश्यक छ ।

यदि सम्झाउन सकिएन भने घुरिरहेको बेला एउटा भिडियोको सानो क्लिप बनाएर देखाउन पनि सकिन्छ । यसकै आधारमा अस्पताल लान सम्झाउन सकिन्छ ।

घुर्ने बानी भएका व्यक्तिमा कस्ता लक्षण देखिन्छन् ?

यस्तो समस्या भएका व्यक्तिहरू बिहान उठ्दा मुख सुख्खा भएको महसुस गर्छन्, घाँटी दुख्छ, ताजगी महसुस हुँदैन । धेरैजसोको आँखा सुन्निएको, थाकेको देखिन्छ । दिनभर निद्रा लाग्ने, विशेषगरी खाना खाइसकेपछि सुत्न मन लाग्ने लक्षण देखिन्छ । यस्तो अवस्था ‘एक्सेसिभ डे टाइम स्लीपिनेस’ हो ।

घुर्ने समस्या कतिबेला गम्भीर बन्न सक्छ ?

घुर्ने समस्यालाई हेलचेक्र्याइँ गरेर नबसौं । किनभने रातभरि घुर्दा समान्य अवस्थामा जस्तो शरीर अक्सिजन प्रवेश गर्न पाउँदैन । शरीरलाई अक्सिजनको मात्रा कमी हुन सक्छ । अनि अक्सिजनको कमी भयो भने शरीरमा कार्बन डाइअक्साइड बढ्न सक्छ ।

त्यो बढेको कार्बन डाइअक्साइडले मुटुलाई पनि असर गर्न सक्छ । अनि रातभरि निन्द्रा डिस्टर्ब भएको मान्छेले बिहान गएर आफ्नो कर्मथलोमा काम पनि त एकदम सक्रिय भएर गर्न सक्दैन ।

कहिलेकाहीँ रातको समयमा निद्रामै सास रोकिने कारणले ज्यान जान सक्ने अवस्था पनि आउँछ । राति सुत्दा सुतेको सुत्यै भएको समाचार पनि हामीले पढ्छौं, सुन्छौं । उनीहरुको पृष्ठभूमि अध्ययन गर्दा असाध्यै घुर्ने बानी रहेको सुन्न पाइन्छ।

यस्तो समस्या  कस्ता व्यक्तिमा बढी देखिन्छ ?

मोटोपन मुख्य कारण हो । मोटा व्यक्ति, ठूलो घाटी भएका, गाला फुलेका, भुँडी ठूलो भएका मानिसमा बढी देखिन्छ । तर, कहिलेकाहीँ पातला व्यक्तिमा पनि यो समस्या देखिन्छ, खासगरी सेन्ट्रल कारणका आधारमा । बच्चाहरूमा एडेनोइड ग्रन्थी ठूलो हुँदा पनि यस्तो समस्या देखिन्छ ।

घुर्ने बानीले पार्ने अन्य समस्या पनि छन् कि ? 

सुत्नेसँगैको व्यक्तिलाई रातभर डिस्टर्ब हुन्छ । सुत्ने साथीलाई पनि रातभरि डिस्टर्ब हुन्छ । त्यसले गर्दा सम्बन्धहरु पनि बिग्रिन्छ । यही घुर्ने कारणले कतिजनाको सम्बन्ध विच्छेद भएका घटनाहरू पनि हामीले सुन्छौं ।

भोलिपल्ट उठ्दा ताजगी अनुभव नहुने, आलस्य हुने, काममा जाँगर नहुने हुँदा कार्यक्षमतामा पनि ह्रास आइरहेको हुन्छ ।

यस्तो समस्या पत्ता लगाउन कस्ता परीक्षण आवश्यक पर्छ ?

सबैभन्दा पहिले नाकको इन्डोस्कोपी गरेर अवरोध कहाँ छ भनेर हेर्नुपर्छ । नाकको दुलोभित्र सानो मासुको डल्लो पनि हुन सक्छ हुन्छ । त्यो भाग ठूलो हुँदा घुर्ने समस्या हुन्छ ।

यदि अब्स्ट्रक्टिभ स्लिप एप्निया भएको शंका छ भने (स्लिप स्टडी पोलिसोमनोग्राफी) गर्नुपर्छ । यो एक स्लिप स्टडी हो ।  यसबाट रातभर सुत्दा सास कति पटक रोकियो, अक्सिजन कति घट्यो, मुटुको चाल कस्तो भयो भन्ने सम्पूर्ण विवरण आउँछ । यसले उपचारमा ठूलो मद्दत गर्छ ।

त्यो बेलामा श्वास-प्रश्वास कस्तो थियो ? सबै समस्याहरुको सूचना स्लीप स्टिडीको ग्याजेटबाट पत्ता लाइन्छ । त्यो अनुसार यसको ग्रेडिङ गरिन्छ । हल्का, मध्यम र गम्भीर ग्रेड अनुसार अगाडि कसरी बढ्ने भनेर नाक, कान तथा घाँटी रोग विशेषज्ञले सल्लाह दिन्छन् ।

उपचार के हुन्छ ?

सुरुमा तौल घटाउने उपाय सबैभन्दा प्रभावकारी हो । १० केजी तौल घटाउँदा लगभग ३० प्रतिशत समस्या कम हुन्छ । यदि नाक, टन्सिल वा अन्य भागमा अवरोध देखियो भने शल्यक्रिया गर्नुपर्छ ।  केही अवस्थामा चिकित्सकले दिएको ‘सीपीएपी मेसिन’ लगाएर सुत्नुपर्छ, जसले राति सास फेर्न सजिलो बनाउँछ ।

सीपीएपी कस्तो खालको मेडिकल उपकरण हो ? यसले के काम गर्छ ?

यो एउटा विशेष किसिमको स्वास्थ्य उपकरण हो, जुन विशेषगरी घुर्ने समस्या भएका व्यक्तिहरूका लागि प्रयोग गरिन्छ । सुत्ने बेलामा केही मानिसको घाँटीको पछाडिको भाग साँघुरो हुन्छ वा बन्द हुन्छ, जसले गर्दा सास लिन गाह्रो हुन्छ वा सास नै रोकिन्छ।

यो मेसिनले यस्तो समस्या समाधान गर्न नाक वा मुखमार्फत निरन्तर हल्का दबाब दिई हावा प्रवाहमा जोड दिन्छ, जसले श्वास-प्रश्वासको मार्ग खुला रहन्छ । यसले गर्दा निन्द्रामा सास नरोकिने, घुर्रघुर्र नगर्ने र आरामदायी निन्द्रा पर्न सक्ने अवस्था बनाउँछ ।

कहिलेकाहीँ सुताइको अवस्था नमिलेर पनि घुरिन्छ भन्ने सुनिन्छ, यो कत्तिको सत्य हो ? 

हो, कहिलेकाहीँ सुत्ने तरिका (पोस्टरल स्लीप) को कारणले पनि सामान्य घुराइ हुन सक्छ । अग्लो सिरानी वा टाउकोको अवस्था गडबड हुँदा, अलिकति टाउको बटारियो अथवा सुत्न अप्ठ्यारो भयो भने पनि घुर्न सक्छ ।

यस्तोमा सुत्ने तरिका सुधारेर समस्या कम गर्न सकिन्छ । त्यो सामान्य अवस्था हो । त्यस्तो बेलामा आफ्नो टाउकोलाई सिधा मात्रै गरियो भने समस्या समाधान भइहाल्छ । कहिलेकाहीँ चाहिँ अग्लो सिरानीमा सुत्ने व्यक्तिहरूमा पनि घाँटी अलिकति तल झुकेर घुर्ने समस्याहरु हुन सक्छ । तर, दिनहुँ यो समस्या भएमा अस्पताल जानैपर्छ ।

बजारमा पाइने घुराइ रोक्ने ग्याजेटहरूप्रति तपाईंको धारणा के छ ?

अनलाइन वा बजारमा विभिन्न ग्याजेटहरू पाइन्छन्, जसले केहीलाई सहुलीयत दिन सक्छन् । तर, ती सबै प्रभावकारी र सुरक्षित छन् भन्ने होइन । समस्या गम्भीर भएमा सस्तो ग्याजेटमा विश्वास गर्नु हुँदैन । चिकित्सकको सल्लाह अनुसार मात्रै अगाडि बढ्नुपर्छ ।

अन्त्यमा, घुर्ने समस्या हुनेहरूका लागि मुख्य सन्देश के छ ?

घुर्ने बानी सामान्य होइन । यसलाई हल्काफुल्का ठानेर बस्नु हुँदैन । समयमै इएनटी विशेषज्ञसँग परामर्श लिनुपर्छ । उपचार सजिलो छ, तर ढिला गरियो भने ज्यानै जोखिममा पर्न सक्छ । आफ्नो स्वास्थ्य र सम्बन्ध जोगाउन सधैं सजग रहनुपर्छ ।

  • २ आश्विन २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech