विराटनगर: कोशी अस्पताल विराटनगरमा कार्यरत तीनजना कर्मचारीलाई अस्पताल प्रशासनले सेवाबाट हटाएको छ । अस्पतालको फार्मेसीमा कार्यरत दुईजना र स्वास्थ्य बिमा शाखामा कार्यरत एकजना गरी तीनजना कर्मचारीलाई अस्पतालले बर्खास्त गरेको हो । फार्मेसीमार्फत स्वास्थ्य बिमा अन्तर्गत स्वास्थ्य उपचार सेवा लिने सर्वसाधारणमा बिमा कार्ड प्रयोग गरेर औषधि हिनामिना गरी अनियमितता गरेको पाइएपछि उनीहरुलाई सेवाबाट हटाएको हो । बर्खास्तीमा परेका तीनैजना कर्मचारीहरु अस्पताल विकास समिति अन्तर्गत सेवा करारमा कार्यरत थिए ।
ती कर्मचारीहरुको मिलेमतोमा औषधिको हिनामिना भएको, विमितको स्वास्थ्य बिमाको रकम दुरुपयोग गरी अनियमितता गरिएको, विमितको जानकारी बिनै औषधि खरिद गरेको नाममा एक लाख रुपियाँसम्म खर्च गरिएको आदि घटनामा संलग्न रहेको पाइएपछि अस्पताल प्रशासनले आइतबारबाट ती कर्मचारीहरुलाई बर्खास्त गरेको थियो । त्यसअघि अस्पताल प्रशासनले घटना छानबिन गर्न आन्तरिक रुपमा छानविन समिति नै गठन गरेको थियो । छानबिन समितिबाट दुरुपयोग भएको, पटक पटक उस्तै कार्य दोहोराएको पाइएपछि सेवाबाट हटाउने निर्णय गरेको थियो ।
स्वास्थ्य बिमाको कार्डको दुरुपयोग गरेर फार्मेसीमा लुट मच्चाएको आरोपमा फार्मेसी सहायक शिशिर साहु (साह), फार्मेसी सहायक निरीक्षक सन्ध्या यादव र कार्यालय सहयोगी सुमित कामतलाई सेवाबाट बर्खास्त गरिएको हो । अस्पतालले गठन गरेको छानबिन समितिले उनीहरूको संलग्नता पुष्टि गरेपछि पटक पटक स्पष्टीकरण सोधेर कारवाही गरेको थियो । तर छानविन समितिले उजुरी आएको र भेटिएको सीमित बिलहरुमाथि मात्र अनुसन्धान गरेको थियो ।
उक्त प्रवृत्तिलाई हेर्दा फार्मेसीमा अझ ठूलो बदमासी हुनसक्ने आशंका गर्दै अस्पताल प्रशासनले विस्तृत अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै सहयोग लिने तयारी गरेको छ । सेवाग्राहीले औषधि खरिद नै नगरी उनको नाममा रहेको बिमा रकम सकिएको जानकारी पाएपछि अस्पताल प्रशासनमा दिएको उजुरीका आधारमा छानबिन अघि बढाइएको थियो । एकजना क्यान्सरका बिरामीले किमो खरिद गर्न जाँदा बिमाको रकम सकिएको जवाफ पाएपछि उजुरी दिएका थिए ।
सोही उजुरीका आधारमा अध्ययन गर्दा अहिले पाँचवटा त्यस्ता बिल भेटिएको र त्यसमा तीनैजनाको संलग्नता पाइएको थियो । समितिले प्रतिवेदन दिएपछि आइतबार तीनै जनालाई सेवाबाट बर्खास्त गरिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रूना झाले जानकारी दिइन् । उनले भनिन्, ‘‘एक जना बिमितले दिएको उजुरीको आधारमा हामीले तत्काल छानबिन समिति गठन गरेका थियौं । समितिले पेस गरेको प्रतिवेदनले उनीहरूको संलग्नता स्पष्ट पारेपछि हामीले कारबाही गर्यौं ।’’