जेन–जी प्रदर्शन : टाउको र छातीमा गोली लागेकै कारण अधिकांशको मृत्यु

    • स्वास्थ्य पेज

  • ३१ भाद्र २०८२, मंगलवार

काठमाडौं: जेन–जी प्रदर्शनका क्रममा मृत्यु भएका ३९ जनाको त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा पोस्टमार्टम सम्पन्न भएको छ । पोस्टमार्टमपछि सबै शव परिवारजनले बुझिसकेका छन् ।

फोरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार मृतकमध्ये ३६ जनाको कम्मरमाथि गोली लागेर मृत्यु भएको देखिएको छ । ‘अधिकांशको टाउको र छातीमा गोली लागेको छ,’ उनले भने, ‘शवमा प्रायः एक–एक वटा मात्र गोली भेटिएको छ ।’

त्यस्तै, तीनजनाको भने चोटपटकका कारण अत्यधिक रक्तस्राव र करङ भाँचिँदा मृत्यु भएको पोस्टमार्टम प्रतिवेदनले देखाएको छ ।

फोरेन्सिक विभागमा हालसम्म ४६ वटा शव पुगेका छन् । तीमध्ये ७ वटा पूर्णरूपमा जलेका शव भएको र ती शवको पोस्टमार्टम केही दिनपछि मात्र गर्ने तयारी भइरहेको विभागले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सोमबार र मंगलबारको प्रदर्शनमा हालसम्म ७३ जनाको मृत्यु भएको छ । सोमबार २१ जनाको र मंगलबार ३९ जनाको मृत्यु भएको छ । उपचाररत घाइतेमध्ये धेरैलाई टाउको र छातीमा गोली लागेको चिकित्सकहरूले बताएका छन् ।

चिकित्सकका अनुसार अधिकांश मृतकको मृत्यु पहिलो घण्टामै भएको थियो । ट्रमा सेन्टरमा मात्रै सोमबार ८ जनाको मृत्यु भएको थियो भने वीर अस्पताल र निजामती अस्पतालमा पनि घाइतेकै उपचार क्रममा केहीले ज्यान गुमाएका थिए ।

  • ३१ भाद्र २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech