जेन–जी आन्दाेलनमा मृत्युवरण गर्नेलाई सहिद घाेषणा, सरकारले जनही १० लाख प्रदान गर्ने (पदभार ग्रहणपछि कार्कीको सम्वोधनको पूर्णपाठ)

    • स्वास्थ्य पेज

  • २९ भाद्र २०८२, आईतवार

नेपालगन्जः जेन–जी आन्दोलनमा ज्यान गुमाउनेहरूलाई सरकारले सहिद घोषणा गर्दै प्रत्येक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ।

आज पदभार ग्रहण गरेसँगै प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठकमार्फत उक्त निर्णयमा हस्ताक्षर गरेकी हुन्।

त्यसैगरी, आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था गर्न पनि प्रधानमन्त्री कार्कीले सम्बन्धित निकायलाई निर्देशन दिएकी छिन्।

अन्तरिम प्रधानमन्त्रीले पदभार ग्रहणपछि गरेको सम्बोधनको पूर्णपाठ

आज मलाई यहाँ उपस्थित भई आज पदभार ग्रहण गर्ने मौका अवसर मिल्यो । सचिवज्यूहरु लगायत सम्पूर्णले मेरो कार्यकालको सफलताको काम कामना गर्नुभएको हुनाले म सबैलाई धन्यवाद दिन चाहन्छु ।

यहाँहरु सबैलाई जानकारी छ कि कुन परिस्थितिमा यो अन्तरिम सरकार आवश्यकता पर्न आयो । २७ घण्टाको एउटा आन्दोलनबाट मुलुकमा जनधनको व्यापक क्षति हुन गएको छ। युवा युवतीहरुले मृत्युवरण गर्नु पर्‍यो । सुरक्षा निकायहरु, प्रहरीका बिटहरु, सर्वोच्च अदालत, तराईका जम्मै सम्पूर्ण जिल्ला अदालतलगायत सिंहदरबार समेत विभत्स तरिकाले जलेर गयो ।

हाम्रा जति पनि रेकर्डहरु,  प्रमाणहरु, सर्वोच्च अदालतका फाइलहरू नष्ट भयो । ठूलो समस्या भौतिक भवनको क्षतिले त केही हुनु रहेनछ, त्यो त बनाउन पनि सकिन्छ। तर, ती रेकर्डहरु, ती जमानाका फाइलहरु, ती विवरणहरु सम्पूर्ण हाम्रो नष्ट भएर हामी यतिखेर शून्यमा पुगेका छौँ। हाम्रा सुरक्षा कर्मीहरूको पनि देहावसान भयो। देशभरिका सुरक्षाकर्मीलाई दिएको बाहनहरु अर्को खरिद नगरी नहुने अवस्था विद्यमान छ।

र, यस घडीमा मलाई अलिकति लागेको कुरा के हो भने- यो जुन हत्या, हिंसा भयो, चाहे हत्या होस् चाहे यो आगजनीका कुराहरु भएका छन्, यो टिपिकल कस्तो भने मुलुकको अत्यन्त आवश्यक जुन संस्थाहरु छ, त्यसमा छानी-छानी प्रहार भएको छ। प्रहरीहरु सुरक्षाको लागि अनिवार्य थिए, तिनलाई प्रहार भयो, ती बिटहरु सम्पूर्ण र प्रहरीका चाहिँ जुन चौकी, थानाहरु सबै जले। अदालतका फाइलहरु सम्पूर्ण नष्ट भएर गयो। हाम्रै सिंहदरबारभित्रका पनि कयौँ त्यस्तो पुराना फाइलहरु ती सबै नष्ट भएर गयो।

बडो आश्चर्यको कुरा अत्यन्त आवश्यक संस्थाहरु देशको, जसले चाहिँ यो देशको शासन चलाएको छ, ती भवनहरु र ती मिसिल, ती कागजहरु नष्ट भयो । अलिकति त मलाई त यो देखेर लाज पनि लागेको छ। नेपाली नै भएर यो काम गरेको हो भने, तीनलाई नेपाली कसरी भन्ने ? मान्छेले ज्यान मार्छ, भवनहरु लुट्ला, भत्काउला, बेग्लै, तर यो घटना त मलाई लाग्छ यो देशमा पहिलो चोटि भएको हो ।

यस किसिमबाट अहिले हाम्रो अनुहार देखाउनै नसक्ने अवस्थामा पुर्‍याएको छ । मलाई त जहाँसम्म लाग्छ, यो एउटा षड्यन्त्रै भएको हो कि भन्ने लाग्छ। यो अनुसन्धान हुन बाँकी छ । र अनुसन्धान गरेर यसरी प्रहार गर्नेहरुलाई,  यसरी नोक्सान गर्नेहरूलाई, अत्यन्त आवश्यक कुराहरुको नामोमेट गराएकाहरूलाई छोड्नुपर्ने अवस्था चाहिँ छैन। यसको खोजबिन, तलास हुनुपर्ने अवस्था छ।

अर्कोतिर जुन परिस्थितिमा म आएँ, कुनै रहरले म आएको होइ न। सडकबाट जताततैबाट सुशीला कार्कीलाई जिम्मा देऊ भनेर आवाज उठ्यो । मैले पनि विवश हुनुपर्‍यो । जहाँसम्म, मेरो जुन टीम छ, हामी कुनै यो सत्ताको, यो पदको रसस्वादन गर्न आएको होइन। मेरो उमेर पनि होइन त्यो। हामीले के चाहेको हो भने- ठिक छ, हामीलाई खोजियो, हामीले यो बेलामा किन सेवा नगर्ने ? हामीले के गर्‍यौँ भने ६ महिनामात्रै अवधि, त्यो भन्दा बढी नबस्ने, कुनै हालतमा पनि आफ्ना काम कारबाही गरेर हामी चाहिँ मुक्त हुने । र, नयाँ आउने संसद, नयाँ आउने मन्त्रीहरुलाई यो जिम्मेवारी र दायित्व सुम्पिने अठोट गरेका छौँ । यो अठोटमा यहाँहरुको साथ नपाइकन सम्भव चाहिँ छैन । सुरक्षा निकायले पनि हामीलाई साथ नदिई यो सम्भव छैन । मलाई सहयोग गर्नुस् ।

हाम्रो जति नोक्सान भएको छ, क्षति भएको छ,  सचिवज्यूलाई,  मुख्य सचिवज्यूलाई पनि हिजोअस्ति नै मैले भनेँ, हामी आफैँ आफ्नै तर्फबाट, आफ्नै मुलुकका जनताबाट पहल गरेर त्यो कुराहरु पूरा किन नगर्ने ? सानोतिनो भएपनि । तराईमा किन हामी बाँसका भाटा जोडेर प्रहरीको बिट नबनाउने ? सस्तो, हामीलाई कामचलाउ भए त पुग्छ । त्यो हामी किन नगर्ने ?

नेपालीहरुलाई जतिकै जस्तो भूकम्प आयो ७२ को, मलाई थाहा छ, यो सिंहदरबार रेट्रोफिट भएको कयौँ रुपैयाँ खर्च भएर, अस्तिको कुरा हो । त्यसमा मुलुकको पैसा खर्च भएको छ । सर्वोच्च अदालतमा म थिएँ, त्यो कति दुःख गरेर रेट्रोफिट भएको, आज त्यो भवनलाई राम्रोसँग युज पनि नगरेर, उपयोग पनि नगरेर अहिले जलेर भस्म भयो ।

यो हाम्रा लागि अपराधीहरुले गरेको हामीमाथिको चुनौती हो। यो मुलुकको विरुद्ध गरेको चुनौती हो। त्यो चुनौतीलाई चाहिँ तपाईं हामी सबैजना मिलेर, जुटेर एउटा एकताको भावना राखेर आफ्नो तर्फबाट, चाहे जनतालाई गुहारेर हुन्छ बनाउनुपर्छ । म हिजो चक्रपथनेरको भाटभटेनी, त्यहाँनिरको प्रहरी बिटमा गएको थिएँ। माथि चढेँ, हेरेँ । उत्रिँदा व्यापारीहरुको ठूलो समूह त्यहाँ भेला भयो । उनीहरुले सम्माननीयज्यू ! यसमा कुनै चिन्ता लिनुपर्दैन, हामी छौँ । सुरक्षा हामीलाई चाहिने हो। यति ठूलो फट्याइँ भएको छ। हामी यसलाई पूरा गर्दिन्छौँ। तपाईंहरुले धन्यवाद… धन्य मान्नु पर्दैन। यो हाम्रो जिम्मा भो, हामी गर्छौँ भनेर भनेपछि, मैले पनि उहाँहरुलाई धन्यवाद दिएँ किनभने कमसेकम राज्यको एउटा सानो कोष त बच्यो।

उहाँहरुले तपाईं त वकिलबाट आएको सर्वोच्च अदालत बनाउनलाई वकिलहरुलाई भन्नुस् न। रातदिन त वकिल खट्ने हो भने । भनेर हुने त होइन, सर्वोच्च अदालत बन्नलाई त धेरै पैसा लाग्ने अवस्था छ। त्यसकारण जे होस्, हामी सबैजना मिलौँ। एकले अर्काको आलोचना नगरौं । हामी युनिट चाहिँ होऔँ।

यो जो एउटा मुभमेन्ट आयो, यो बडो अचम्म वर्ल्डमा कहीँ पनि भएको छैन। २७ घण्टाको आन्दोलनमा चाहिँ कायापलट गरेको मलाई थाहा छैन। त्यसैले यो समूहले मागेको कुरा के हो भने, भ्रष्टाचारको अन्त्य, सुशासन, गुड गभर्नेन्स, र एउटा समान आर्थिक समानताको माग पूरा गर्न हामी तपाईंहरुले अठोट गर्नुपर्छ अवस्था छ।

मैले मृत्युवरण गरेका नाबालकहरु, साना-साना स्कुले र कलेजका विद्यार्थी, छात्र-छात्राहरुका परिवारहरुलाई मैले भेट्ने काम गरेँ। उहाँहरुको आँसु देखेर बहुतै दुःख लाग्यो। अनि मलाई के फिल भयो भने, एउटा परिवारको एउटा चाहिँ परिवारको सदस्यको अन्त्य भएको छ। राज्यसँग हात थापेर मलाई केही सहयोग गर, मेरो घरमा यत्रो नोक्सान भो, ज्यानधन गयो भनेर भन्नुभन्दा पहिले, राज्यले नै पुर्ताल किन नगर्ने? मर्न त उहाँहरुको परिवारको मर्यो, त्यसपछि आर्थिक अवस्थाले उहाँहरुमा विपन्नता आउँछ। त्यसैले हामीले मुख्य सचिवज्यू र म ९-१० बजेसम्म सरसल्लाह गर्‍यौँ। र, यहाँ आएर उहाँहरुलाई शहीद घोषणा गरेको निर्णयमा हस्ताक्षर गरेँ।

यहाँको सिस्टमै अब देश अनुसारको हुन्छ, मुलुक अनुसारको, १० लाखको एउटा लिमिटेसन छ । त्यो १० लाख प्रदान गर्ने हामीले निर्णय चाहिँ गर्‍यौँ । घाइतेहरुलाई पनि उपचार र केही राहतको निर्णय गरेका छौँ। अहिले मृतकका परिवारहरु काठमाडौँ भ्यालीमै छन्। उनीहरु बसेको, उठेको, खाएको, यहाँ बसेको, त्यो खर्च हेरिदिने। शवहरू आफ्नो स्थानीय क्षेत्रमा पुर्‍याउने हो भने, कसैले चाहन्छ भने सवारी साधनको लागि पनि व्यवस्था गरिदिने । र पछि सम्म, अपाङ्गको परिभाषाभित्र कोही परेछन् भने, उपचारको एउटा सुविधाको व्यवस्था गरेका छौँ। प्राइभेट सेक्टरमा पनि बाट पनि केही गर्न सकिन्छ कि भनेर हाम्रा मित्रहरुले कोसिस गरिरहनुभएको छ।

एउटा चोट परेको व्यक्तिलाई हामीले मलम लगाउनैपर्छ। किनभने यो हाम्रै इस्यु हो, हाम्रै मामिला हो, हाम्रै छोराछोरी हुन्, हाम्रै सन्तान हुन्। अन्यथा मान्ने, दुःखी बनाउने हाम्रो कहिल्यै सोच रहेन। त्यसैले हठात् नै यो निर्णय गर्‍यौँ। अब क्रमशः सद्‍गदको लागि तयारी हुन्छ। पोस्टमार्टम भइसकेको जसको शव छ, उनीहरुको लान चाहने, आफ्नो घरको क्षेत्रमा लान चाहनेहरुलाई व्यवस्था पनि गरिदिने,  यतैको शव छ भने दाहसंस्कारको बाटो खुल्छ । त्यसैले अब सबै पक्ष मिलेर नेपालको निर्माण गर्नु पर्‍यो ।

हामी एकदम विषम आर्थिक परिस्थितिमा छौँ। जनता पनि विषम आर्थिक परिस्थितिमा छ। हाम्रो सरकार पनि विषम आर्थिक परिस्थितिमा छ। के कसो गर्न सक्छौं त्यहीअनुसार प्रयासहरू गर्छौं । सबभन्दा दुःखको कुरा यो एउटा आतंक जस्तो २४ गते फैलाइयो, हरेक व्यक्तिका घर, सम्पत्ति, सुरक्षा निकायदेखि लिएर, सिंहदरबार, अदालतहरु जस्तो निकाय जलाउने काम भयो ।

अर्को दु:खान्त घटना- व्यक्तिको सम्पत्तिको, व्यापारीहरुको, इन्टरप्रेनरहरुको, उद्योगीहरुको सम्पत्ति पनि डडाउने, नास्ने, मास्ने कामहरु भएको छ। तीनलाई जसरी उभिन्छौ, उभ्यौ भनेर सोच्न भएन। किनभने कतिपय व्यापारी त उठ्न नसक्ने अवस्थामा पुगेका छन्। त्यसमा पनि राज्यले विचार गर्छ,  हामी विचार गर्छौँ कि उनीहरुलाई कसरी उठाउने ? कुन सहयोग दिने ? बैंकको सफ्ट लोनहरुबाट हुन्छ कि । साना-साना सटर खोलेका व्यापारीहरु पनि लुटिएका छन्।

आज मैले बिहान न्युजमा पढेँ कि जो व्यापारीहरुको नोक्सान भएको छ, उहाँहरुले भन्नुभएको छ, हामी उठ्ने कोसिस गर्छौँ, हामी हार्दैनौँ। आन्तरिक बल देखाउनु भएकोमा धन्यवाद पनि दिन्छु। र शुभकामना पनि दिन्छु। आतंक जस्तो जलाएर खरानी बनाउने काम गरियो, त्यसको बाबजुद पनि म उठ्छु भन्ने उहाँको, उहाँहरुले जुन किसिमको अठोट गर्नुभएको छ, त्यसको लागि शुभकामना र धन्यवाद छ। र, राज्यको तर्फबाट उहाँहरुलाई सल्लाह चाहिने हो कि,  कुन किसिमबाट सहयोग गर्ने हो, त्यो हामी विचार गर्नेछौँ।

  • २९ भाद्र २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech