नेपालगन्जः बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल चितवनपछि पश्चिम नेपालकै पहिलो क्यान्सर अस्पताल हो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लाखौं बिरामीका लागि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आज जीवनको सहारा बनेको छ । यो क्षेत्रकै एक मात्र क्यान्सर अस्पताल भएको कारण, यहाँ पुग्ने बिरामीहरूलाई चिकित्सकको सल्लाह मात्र होइन, आशा र भरोसा पनि मिल्छ ।
२०७४ असारमा ओपीडी सेवा सुरु गर्दा यो अस्पतालसँग धेरै स्रोत थिएनन् । तर, एकपछि अर्को कदम अघि बढाउँदै यसले उपचारको दायरा विस्तार गर्यो २०७७ मंसिरमा अपरेशन थियटर सुरु भयो, २०७९ माघमा अत्याधुनिक आइसीयू सेवा थपियो । आज, अस्पतालसँग पोजेटिभ प्रेसर आइसीयू, सिटिस्क्यान , मेमोग्राफी, किमोथेरापी, ब्राकीथेरापी, इमरजेन्सी, शल्य चिकित्सा, पाठेघरको भित्री सेकाई लगायतका सेवा निरन्तर सञ्चालनमा छन् । लिन्याक मेसिन समेत संचालनमा छ । पश्चिम नेपालमै पहिलोपटक लिन्याक मेसिनमार्फत रेडियोथेरापी सेवा प्रवाह गरिरहेको छ । त्यसका लागि रेडियोलोजी र क्लिनिकल ३ जनाको टिम नै छ ।
‘क्यान्सरको पहिचानका लागि भारतको लखनउ वा चितवनको भरतपुर जानु पर्ने अवस्थाको अन्त्य त भइसकेको छ नै अस्पतालका निमित्त निर्देशक डा.ज्वलन्द पौडेल भन्छन्–‘जटिल खालका क्यान्सरका शल्यक्रिया समेत गरेर जीवन बचाउने अवस्थामा पुगेका छौं ।’ फोक्सो, स्तन, नाक–कान–घाँटी, पाठेघर, हड्डी, मुख, टियुमर, मूत्रनलीदेखि बाल क्यान्सरसम्मका बिरामीहरूलाई उपचार दिंदै, यो अस्पताल क्रमशः ‘क्यान्सरका बिरामीको गन्तव्य अस्पताल’ बनेको छ । यति हुँदाहुँदै पनि अस्पतालको यात्रा सहज छैन । एक सय शैयाको स्वीकृत प्राप्त यो अस्पताले ७० वटा शैया मात्रै संचालन गर्न सकेको छ ।
थप वेड संचालनका लागि भवन छैन । स्टाफ क्वाटर नहुँदा चिकित्सक र स्वास्थ्यकर्मीलाई बसाउनै मुश्किल छ । अस्पताल आफैले निजी घरहरु भाँडामा ल्याएर स्टाफहरुलाई आवासको व्यवस्थापन गरेपनि त्यो दीर्घकालीन छैन । स्थायी दरवन्दी नहुँदाको मार क्यान्सर अस्पतालले मात्रै खेपेको छैन बिरामीसमेतले खेप्नु परेको तितो यथार्थ छ । दैनिक डेढ सय बढी बिरामी अस्पतालमा आउछन् । क्यान्सरका फलोअप बिरामीको चाप पनि उस्तै छ । दुई वटा अप्रेसन थिएटर छन् । एउटामा माइनर ओटी र अर्कोमा सिभियर ओटी गरिन्छ । तर भवन अभावका कारण अप्रेसन थिएटर थप्न नसकिएको दुखेसो सुनाउँछन् निमित्त निर्देशक डा.पौडेल ।
‘बिरामीको चापको अनुपातमा न भौतिक पूर्वाधार पर्याप्त छ न त जनशक्ति उनी भन्छन्–‘चाहेर पनि विस्तारित सेवा दिन सकिएको छैन ।’ हाल अस्पतालमा २१ जना विशेषज्ञ चिकित्सक र ११ जना मेडिकल अफिसरसहित १६१ जना करार, अस्थायी र ज्यालादारी कर्मचारी छन् । डा.पौडेल भन्छन्–‘अस्पताललाई अझै ठूलो चुनौती भनेको जनशक्ति र पूर्वाधारको कमी हो । ७० बेडलाई १०० बेडमा विस्तार गर्ने, चिकित्सक र कर्मचारीका लागि आवास बनाउने, वार्ड विस्तार गर्ने आवश्यकतामा अस्पताल व्यवस्थापन निरन्तर सरकारसँग माग गर्दै आएको छ । तर दरबन्दी स्वीकृत नहुँदा अहिले पनि करार र ज्यालादारीमा आधारित सेवामार्फत अस्पताल सञ्चालन भइरहेको छ ।’
को हुन् डा.ज्वलन्द पौडेल ?
डा.ज्वलन्द पौडेल २०४५ सालमा विराटनगरमा जन्मिए । बुवा जयन्त र आमा मीना देवीका जेठा छोरा हुन् ज्वलन्द । उनका दुई भाई छन् । बुवा राष्ट्र बैंकमा जागिरे थिए । ज्वलन्दको बाल्यकाल विराटनगरमै वित्यो । अरणीको उच्च माविबाट २०६० सालमा एसएलसी उर्तिण गरे । प्लस टु पनि त्यहींबाट गरे । त्यसपछि एमबीबीएस अध्ययनका लागि चिन गए । २०६९ मा साङदोनबाट एमबीबीएस अध्ययन गरेर उनी नेपाल फर्किए । करिव एक वर्ष उनले वीर अस्पताल, प्रसूति गृह र कान्ति बाल अस्पतालमा इन्टर्नसिप गरे । उनले केही समय नोवेल हस्पिटलमा समेत काम गरे ।
२०७२ सालमा उनी एमडी अध्ययनका लागि टिचिङमा भर्ना भए । एमबीबीएस अध्ययनपछि उनका लागि अरु विषयमा विज्ञता हासिल गर्ने अवसर नभएका होइनन् तर उनले प्याथोलोजीमै एमडी गर्ने निर्णय किन लिए ? उनी भन्छन्–‘प्याथोलोजी भनेको रोगको विज्ञान हो, जसले रोगलाई पत्ता लगाउने, बुझाउने र उपचारलाई सहज बनाउने काम गर्छ । त्यहीं भएर मेरो रोजाइ प्याथोलोजी बनेको हो ।’ २०७५ मा एमडी गरिसकेपछि उनी छात्रावृत्ति करारमा करिव दुई वर्ष राष्ट्रिय प्रयोगशाला टेकुमा काम गरे । २०७८ सालमा उनले लोकसेवा आयोगबाट नवौं तहमा नाम निकाले ।
कान्ति वाल अस्पताल र वीर अस्पतालमा कन्सल्टेन्ट प्याथोलोजीका रुपमा काम गरे । २०८१ साल बैशाखदेखि भने उनी खजुरा क्यान्सर अस्पतालका निमित्त निर्देशकको जिम्मेवारीमा छन् । पहिलोपटक प्रशासकीय भूमिकाको अनुभव गरेका उनी भन्छन्–‘प्रशासनिक जिम्मेवारी भन्दा मेरो रुचि र दक्षता भनेको प्याथोलोजी हो । रोग पहिचान र परीक्षणमार्फत मानिसको जीवन सहज बनाउन सकिने क्षेत्रमा मलाई विशेष लगाव छ ।
तर, सरकारको तर्फबाट जुनसुकै जिम्मेवारी आइपुगे पनि पछि हट्ने प्रसंग भने उठ्दैन । व्यक्तिगत रोजाइ प्याथोलोजी भए पनि, सार्वजनिक सेवामा आएको अवसरलाई म सधैं दायित्व र कर्तव्यका रुपमा स्वीकार गर्छु ।’

स्वास्थ्य पेजका लागि पत्रकार प्रियास्मृति ढकालसँग कुराकानी गर्दै अस्पतालका निमित्त निर्देशक डा.ज्वलन्द पौडेल