दुई दिनदेखि शोकमा डुबेको नेपालगन्जः सुलभपछि आयुसको पनि आँसुमा विदाइ

    • स्वास्थ्य पेज

  • २८ भाद्र २०८२, शनिबार

नेपालगन्जः दुई दिनदेखि नेपालगन्ज स्तब्ध छ। नेपालगन्ज उपमहानगरपालिका वडा नं १ मा वडाभरि शोकको वातावरण छाएको छ। एउटै वडाका दुई तन्नेरी जीवनले असमयमा अन्त्य पाएका छन्। शुक्रबार सुलभ राज श्रेष्ठलाई अन्तिम विदाइ दिइयो। र, त्यसको भोलिपल्टै शनिवार अर्का तन्नेरी आयुस थापाको पार्थिव शरीर पनि राप्ती नदी किनारमा धुवाँ बनेर उड्यो।

१९ वर्षीय थापा र २३ वर्षीय सुलभ राज श्रेष्ठको पार्थिव शरीर शुक्रबार काठमाडौंबाट बुद्ध एअरको चार्टर विमानमा नेपालगन्ज ल्याइएको थियो। तर आफन्तहरु नआएकाले आयुसको शव भेरी अस्पतालको पोष्टमार्टम कक्षमा राखियो । आफन्तहरु आएपछि शनिवारमात्रै अन्त्यष्टि गरियो । विमानस्थलदेखि नै ठूलो भीडले उनलाई आँसुभरी स्वागत गरिसकेको थियो । आफन्तहरु नआएकाले शनिवारमात्रै उनको अन्त्यष्टि भएको हो ।

घरमा राखिएको पार्थिव शरीरलाई देख्ने बित्तिकै आमाबाबु, दाजुभाइ र छिमेकी रोएर भतभताए। आँगनभरि रुवाबासीको स्वर गुञ्जिएको थियो। फ्रान्सको भिजाको पखाईमा रहेका आयुष जेनजीको प्रदर्शनमा काठमाडौंमा सहभागी भए । आन्दोलन चर्कियो । प्रहरीले गोली चलायो । उनी कहिल्यै नउठ्ने गरी ढले । सपना बोकेको छोरो निर्जीव शव भएर घर फर्किदा परिवार मुर्छित जस्तै छ । छिमेकीहरु भक्कानिएका छन् । घरमै श्रद्धाञ्जली अर्पणपछि आयुसको शवलाई नगर परिक्रमा गराइयो।

भीडभाडका बीच मानिसहरूले आँसु झार्दै उनलाई फूलमालासहित विदा गरे। राप्ती नदीले दुई दिनमै दुईवटा असामयिक शवको धुवाँ उढाएको छ। त्यो धुवाँसँगै नेपालगन्जको भविष्यका दुई सम्भावना पनि आकाशमा विलीन भएका छन्।

  • २८ भाद्र २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech