नेपालगन्जः जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर निषेधाज्ञा लगाएको छ । जेनजीको प्रदर्शन पछि शान्ति, सुरक्षा एवं धनजनको क्षेतीलाई मध्यनजर गरि बाँके प्रशासनले जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।
आज राती १० बजेदेखि अर्को आदेश वा सूचना जारी नभएसम्मको लागि बाँके जिल्लाभरी निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जारी गरेको सूचनामा उल्लेख छ।
’जिल्लाका विभिन्न सरकारी, सार्वजनिक एवम् निजी संरचना र सम्पत्तिको संरक्षण तथा सुरक्षा गर्नुपर्ने, टेलिकम, विद्युुत, वडा कार्यालय, प्रहरी चौकी लगायतका सार्वजनिक निकायहरुमा तोडफोड, आगजनी र हुलदंंगा गर्ने उद्देश्य एवम् मनसाय राखी भेला–जम्मा हुने, चोरी–डकैती लगायतका आपराधिक क्रियाकलाप गर्ने मनसायले संगठित हुने कार्य निरुत्साहित र नियन्त्रण गरी शान्ति सुव्यवस्था थप विश्वसनीय र सुदृढ तुल्याउन आपराधिक मनोवृत्तिका व्यक्तिहरु भेला भई आपराधिक कार्य गर्न/हुन नदिने प्रयोजनका लागि बाँके जिल्लाभरी कुनै प्रकारको जुलुस प्रदर्शन, सभा सम्मेलन एवम् पाँच जना भन्दा बढी भेला, सभा, सम्मेलन नगर्न/नगराउन यो सूचना जारी गरिएको छ,’ सूचनामा उल्लेख छ ।
स्थानीय प्रशासन ऐन २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा १ (क) र ३ (क) बमोजिम मिति २०८२/०५/२६ गते राती १० बजेदेखि अर्को आदेश वा सूचना जारी नभएसम्मको लागि बाँके जिल्लाभरी निषेधित क्षेत्र घोषणा गरिएको जारी सूचनामा उल्लेख छ ।