नेपालगन्जः आन्दोलनमा भएको ठुलो क्षतिपछि काठमाडौं उपत्यकाको स्वास्थ्य क्षेत्र अस्तव्यस्त बनेको छ । एकातर्फ अस्पतालमा घाइते भरिएका छन् भने अर्काेतर्फ सुरक्षाका कारण अस्पतालका सेवा प्रभावित भएका छन् ।
नयाँ बानेश्वरमा रहेको निजामती अस्पतालमा संसद् भवनको धुवाँ र प्रहरीको अश्रुग्यासले उपचारमा बाधा पुगेको छ । चिकित्सकहरू आफ्नो तालिकाअनुसार ड्युटीमा खटिन पाएका छैनन् । एउटै टिमले मंगलबार दिनभर उपचार गरेको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले बताए ।
त्यस्तै, एभरेस्ट अस्पतालमा पनि घाइते खचाखच छन् । स्वास्थ्यकर्मीले बिहानदेखि रातिसम्म ड्युटी गरेका छन् । वीर र पाटन अस्पतालले मंगलबार ओपिडी सेवा नै बन्द गरेका छन् । घाइतेको उपचार सहज पार्न ओपिडी बन्द गरेको अस्पताल प्रशासनले जनाएको छ ।
त्रिवि शिक्षण अस्पतालमा मंगलबार ओपिडी चले पनि बुधबारदेखि बन्द गरिँदै छ । यहाँ पनि आन्दोलनका घाइतेहरूलाई उपचारको लागि लगिएको छ ।
अस्पतालहरूका अनुसार मंगलबार घाइते र मृत्यु हुनेको संख्या थपिएको छ । मंगलबार देशभर १५० भन्दा बढी घाइते भएका छन् । सोमबार ४२६ घाइते थिए । मंगलबारै प्रहरीको गोली लागेर अस्पताल पुर्याइएका घाइतेमध्ये थप चारजनाको मृत्यु भएको छ । तारकेश्वर सिटी अस्पतालमा एक र सिभिलमा तीनजनाको मृत्यु भएको हो । योसँगै प्रदर्शनकारीतर्फ मृत्यु हुनेको संख्या २४ पुगेको छ । त्यस्तै, मंगलबारै चार प्रहरीको पनि मृत्यु भएको छ ।
कतिपय अस्पतालको संख्या अद्यावधिक नभएकाले बढ्न सक्ने बताइएको छ । आन्दोलनका कारण उपत्यकासहित प्रादेशिक र जिल्ला अस्पतालका इमर्जेन्सी पनि अस्तव्यस्त थिए । उपत्यकामा निजामती, केएमसी, पाटन, वीर र ट्रमा सेन्टरमा बिरामीको भिड लाग्यो । तर, एम्बुलेन्स नै तोडफोड भएपछि उपचारमा थप समस्या देखिएको अस्पतालहरूले जनाएका छन् ।
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुभास आचार्यले मंगलबार ओपिडी चलाएको र बुधबारदेखि बन्द हुने बताए । उनका अनुसार अस्पतालका तीन एम्बुलेन्स जलाइएको छ । मंगलबार यहाँ २२ घाइते थपिएका छन् । त्यस्तै, केएमसीमा १६, सिभिलमा ११६, ट्रमामा २७ जना घाइते थपिएका छन् ।
निजामती अस्पतालमा मंगलबार दुई एम्बुलेन्स तोडफोड भएकामा त्रिवि शिक्षण अस्पतालमा सोमबार दुई र मंगलबार एक एम्बुलेन्स तोडफोड गरिएका छन् । मन्त्रालयका अनुसार वीरको एक र ट्रमाका दुई एम्बुलेन्स पनि जलाइएको छ । एम्बुलेन्स जलाइएपछि बिरामी बोक्न एम्बुलेन्सचालक जान असुरक्षित महसुस गर्न थालेका छन् ।
आन्दोलनकारीले स्वास्थ्य मन्त्रालय पनि जलाएका छन् । मन्त्रालय नै जलाइएपछि बिरामीको उपचार र अस्पताल व्यवस्थापनमा चुनौती थपिएको छ । संघीय अस्पताललाई सिधै स्वास्थ्य मन्त्रालयले चलाउँछ, तर मन्त्रालय नै जलेपछि बिरामीको उपचार सेवा र प्रक्रियामा समस्या उत्पन्न हुन थालेको स्वास्थ्यसचिव विकास देवकोटाले बताए ।
उनका अनुसार मन्त्रालयमा काम गर्ने अवस्था नभएकाले बाहिरै बसेर भए पनि अस्पताल संयन्त्रलाई परिचालन गरिएको छ । तर, अधिकांश अस्पतालले ओपिडी सेवा बन्द गरेका छन् । स्वास्थ्यकर्मी सिफ्टअनुसार अस्पताल आउ–जाउ गर्न सकेका छैनन् ।