काठमाडौंः सोमवार पौने दुई बजेदेखि त्रिवि शिक्षण अस्पतालअन्तर्गतको ट्रमा सेन्टरमा अकल्पनीय दृश्य सुरु भयो। नवनिर्मित इर्मजेन्सी वार्डमा एकपछि अर्को एम्बुलेन्स पुग्दै गयो। कार, मोटरसाइकल र निजी गाडीमा समेत घाइते ल्याइँदै थिए। कसैको टाउको च्यातिएको, कसैको छातीमा गोली रोपिएको। कसैको हातमा अझै विद्यालयको झोला टाँसिएको, खुट्टामा कलेजको सेतो जुत्ता।
‘आज युद्ध भएको जस्तो लाग्यो,’ न्युरोसर्जन डा. सन्तोष पौडेलले भनीहाले, ‘हामीले भूकम्प देख्यौं, सवारी दुर्घटना देख्यौं, कोभिडमा हजारौं बिरामी देख्यौं, तर यस्तो भयावहता कहिल्यै देखेका थिएनौं।’ भुइँमै बिरामी राखेर शल्यक्रिया गर्नुपर्ने अवस्था आयो। डेढ घण्टामै ब्लड बैंकमा रगत सकियो। डाक्टर, नर्स, स्टाफहरू आफैं लाइनमा उभिएर रगत दान गर्न थाले। “१५ जनाभन्दा बढी स्वास्थ्यकर्मीले तत्कालै रगत दिएर उपचार अगाडि बढाइयो,” डा. पौडेल सम्झन्छन्, “त्यो क्षण हामी चिकित्सक नभएर आफ्ना छोराछोरीलाई बचाउन दौडिएका अभिभावकझैं भयौं।”
न्युरो–स्पाइन विशेषज्ञ डा. राजीव झाले भने भावुक हुँदै भने, “स्कुलकै ड्रेसमा आएका बालबालिका थिए। बोल्न नसक्ने, छट्पटाउँदै गरेका तिनको स्वरले आँखा रसाउँछ। चार जना ज्यान गुमाए, कसैलाई चाहेर पनि बचाउन सकिएन।”
यो दिन चिकित्सकहरूले आफ्नो पेशागत दायित्वभन्दा बाहिरको जिम्मेवारी बोके। उनीहरू केवल उपचारक मात्र रहेनन्, रक्तदातासमेत बने। कसैले घाइते बालकलाई आफ्नो सन्तान सम्झिएर हातमा बोकेर अपरेसन थिएटर पुर्याए। कसैले आमा जस्तै ढाडस दिँदै अक्सिजन पाइप मिलाए। “आज हामीलाई डाक्टरभन्दा बढी मान्छे भएर काम गर्नुपर्यो,” एक नर्सले भनिन्, “बच्चाहरूका आँखाले धेरै कुरा भनिरहेका थिए– हामीलाई बचाइदिनुहोस्।”
ट्रमा सेन्टरको शैय्यामा चित्कार गुञ्जिरहेको थियो। १०–१२ कक्षामा पढ्ने किशोर–किशोरीहरूको आवाज एकैपटक मिसिएको थियो। कसैको टाउकोमा पट्टी, कसैको छातीमा अक्सिजन पाइप। कतिपयले अझै पनि झोलामा किताब बोकेका थिए।
एक घाइतेले स्वर थाम्दै भने, “हामी आन्दोलन गर्न आएका थियौं, भ्रष्टाचारविरुद्ध। तर गोली चल्यो, साथीहरू मेरो आँखै अगाडि ढल्दै गए।” अरू केही घाइते भने भन्थे, उनीहरू आन्दोलनमा सहभागी नै थिएनन्, बाटो हुँदै गर्दा गोली लाग्यो। उनीहरूको आँखामा प्रश्न थियो– “हामी दोषी थियौं र ?”
साँझ ८ बजे अस्पताल पुगेका पत्रकारले गेटमा मृतक र घाइतेको सूची टाँसिएको देखे। भित्र प्रवेश गर्न नपाउने आफन्तहरू सूचीमा नाम खोज्दै भक्कानिँदै थिए। “मेरो छोरो जिउँदो छ कि छैन ?” भन्दै अर्धचेत अवस्थासम्म पुगेका आमाबुबा थिए। तर त्यही बेला गेटबाहिर प्रदर्शनकारीको नाराबाजी चलिरहेको थियो। प्रहरीसँगै भिडन्त भयो। अस्पतालकै गेटमा फेरि लाठीचार्ज भयो।
भ्रष्टाचार र अन्यायविरुद्धको आवाज सडकमा फैलिएको थियो। तर त्यसको प्रतिफल अस्पतालको इर्मजेन्सीमा पीडाको रूपमा आयो। विद्यार्थीको ड्रेसमा रगत टपकिरहेको थियो। चिकित्सकको कोटमा पसिना र आँसु मिसिएको थियो।
सोमबार बिहानैदेखि जेन–जेली सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा सरकार विरुद्ध आन्दोलन गरेका थिए । जसका कारण दिनभर नै माइतघर–नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो । देशभर १९ जनाले ज्यान गुमाएका छन् ।