जेन–जी आन्दोलनमा ढलेका सुलभराजः परिवारको एक्लो छोरो थिए…

यही आन्दोलनले नेपालगन्जको एउटा परिवारलाई जीवनभरको पीडामा डुबाएको छ। नेपालगन्ज उपमहानगरपालिका–१, धम्वोजीका २३ वर्षीय सुलभराज श्रेष्ठको यही आन्दोलनमै मृत्यु भयो ।


    • प्रियास्मृति ढकाल

  • २३ भाद्र २०८२, सोमबार

नेपालगन्जः जेन–जी प्रदर्शनले देशैभरि हलचल ल्याइरहेको छ। यही आन्दोलनले नेपालगन्जको एउटा परिवारलाई जीवनभरको पीडामा डुबाएको छ। नेपालगन्ज उपमहानगरपालिका–१, धम्वोजीका २३ वर्षीय सुलभराज श्रेष्ठको यही आन्दोलनमै मृत्यु भयो ।

सुलभराज, भेरी बोर्डिङ स्कुलका संस्थापक नरेन्द्र श्रेष्ठका एक्लो छोरो थिए। इन्जिनियर बन्ने सपना बोकेका उनले केही समयअघि मात्र कान्तिपुर इन्जिनियरिङ कलेजबाट अध्ययन पूरा गरेका थिए। टोलभरि सुनसान छ, गल्लीका मानिसहरू असाध्यै भावुक छन्। भर्खरै मात्र इन्जिनियरिङ सकेर उज्ज्वल भविष्य बोकेका सुलभराज श्रेष्ठ अब फर्केर आउने छैनन्।

काठमाडौंमा भइरहेको जेन–जी आन्दोलनमा विद्यार्थीहरूको ठूलो सहभागिता थियो। सुलभ पनि साथीहरुसँगै समर्थन जनाउन गएका थिए। तर त्यो आन्दोलनले उनको जीवनमै कालो मोड ल्यायो। प्रदर्शन दमन गर्न प्रहरीले चलाएको गोलीमा लागेर उनी त्यहीँ ढले।

साथीहरुले तत्काल उनलाई ट्रमा सेन्टर पुर्याए तर चिकित्सकले बचाउन सकेनन्। परिवारले मात्र होइन, छिमेकीहरूले पनि सुलभको असामयिक निधनलाई ठूलो क्षतिका रूपमा लिएका छन्।

‘राज्यले निहत्था विद्यार्थीमाथि गोली चलाएर वर्वरता देखायो ठूला बुवा राजेन्द्र श्रेष्ठ भन्छन् -‘इन्जिनियर बनेर समाजलाई सेवा गर्छु भन्थ्यो कहिले नउठ्ने गरि राज्यले ढाल्यो ।’

उनका साथीहरू भन्छन्- ‘सुलभ हँसिलो मान्छे थिए, सबैलाई सहयोग गर्थे, कहिल्यै रिसाउँदैनथे।’ आज ती साथीहरूकै आँखामा आँसु छ।  छिमेकीहरू भन्छन्-‘हामीले सुलभलाई हुर्किँदाखेरि देखेका हौं। भर्खरै मात्र जीवन सुरु भएको थियो। अब त्यो जीवन अन्त्य भएको छ।’

एक इन्जिनियर बन्ने सपना बोकेको युवा किन यसरी असमयमा ढल्नुपर्‍यो ? देशलाई ज्ञान र सीप दिन सक्ने हात किन गोलीले च्यात्नुपर्‍यो ? यी प्रश्नहरूको जवाफ कसैसँग छैन। तर एउटा कुरा स्पष्ट छ-सुलभराजको मृत्युले राज्यप्रति विश्वास कमजोर बनाएको छ, र समाजलाई अझै गहिरो घाउ दिएको छ।

  • २३ भाद्र २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech