जेन–जी प्रदर्शनमा नेपालगन्जका एक जना युवकको पनि मृत्यु,

    • स्वास्थ्य पेज

  • २३ भाद्र २०८२, सोमबार

नेपालगन्जः काठमाडौंमा भएको जेन–जी प्रदर्शनमा नेपालगन्जका एक जना युवक पनि परेका छन् । प्रदर्शन नेपालगन्ज उपमहानगरपालिका–१ धम्वोजीका २३ वर्षीय सुलभराज श्रेष्ठको मृत्यु भएको हो । उनी इन्जिनियरिङका विद्यार्थी हुन् । उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । उनी कान्तिपुर इन्जिनियरिङ कलेजमा अध्ययनरत रहेको बताइएको छ । घटनाको खवरपछि आफन्तहरु काठमाडौं जाँदै छन् । ट्रमा सेन्टरमा मात्रै ८ जनाको मृत्यु भइसकेको छ । जसमध्ये ३ जनाको नाम प्राप्त सनाखत भएको छ । मृत्यु हुनेहरूमा ग्लोबल कलेजमा अध्ययनरत श्रीराम चौलागाईं र कीर्तिपुर बस्ने ४२ वर्षीय बुद्धि बहादुर तामाङ समेत रहेका छन् ।

जेन–जी युवाहरूले गरेको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भएको छ भने २ सय ५६ घाइते भएका छन् । काठमाडौंमा भएको प्रदर्शनमा १६ जनाको मृत्यु भएको हो भने उपत्काबाहिरका प्रदर्शनमा युवाहरू घाइते भएका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सामजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा सोमबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा जेन–जी युवाहरू सडक प्रदर्शनमा उत्रिएका छन् । काठमाडौंमा कफ्र्यू जारी हुँदा पनि प्रदर्शनकारीले सडक छाडेका छैनन् ।

संघीय संसद भवनमा प्रदर्शनकारी प्रवेश गर्न थालेपछि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्दा मृतक र घाइतेको संख्या लगातार बढिरहेको छ । पोखरा, झापा, मोरङ लगायतका जिल्लामा पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ । भने १०० जना घाइतेको उपचार भइरहेको छ । सिभिलबाट १५ जना गम्भीर घाइतेलाई ट्रमा सेन्टर र वीर अस्पतालमा रेफर गरिएको छ । मन्त्रालयका अनुसार वीर अस्पतालमा ६ जना घाइतेको उपचार चलिरहेको छ । ट्रमा सेन्टरमा ९ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते उपचारत छन् । मन्त्रालयका अनुसार ट्रमा सेन्टरमा विपद् योजना लागू गरिएको छ । एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको छ भने ३४ घाइते उपचारत रहेका छन् । यस्तै जसमध्ये ७ जनाको अवस्था गम्भीर छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ जना घाइते उपचारत छन् काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केमएसी)मा २ जनाको मृत्यु भएको छ भने ३२ जना घाइतेको उपचार भइरहेको छ । केएमसीमा ६ जना गम्भीर घाइतेको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते उपचारत छन् । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा ३ जना घाइते उपचारत छन् । काठमाडौं उपत्यकाबाहिर पोखराको गण्डकी अस्पतालमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना र झापाको दमकमा ७ जना घाइतेको उपचार भइरहेको छ । इटहरीमा समेत प्रहरीको गोली लागेर २ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

  • २३ भाद्र २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech