हाल किटजन्य रोगहरू बिच एक अर्कासँग तीव्र प्रतिस्पर्धा गरेको जस्तो देखिन्छ। विशेषतः डेंगु प्रकोपको अनुमान मनसुन सुरु भए देखि नै गरिएको हो। र त्यही अनुसार चर्चा, बहस अनि योजनाहरू बनाइएका पनि छन्।
तर हाल नेपालमा सबैभन्दा घातक मानिने जापनिज इन्सेफलाइटिस तथा स्क्रब टाइफस अग्रपङ्क्तिमा देखिन्छ। यो दुई मध्ये स्क्रब टाइफस पुष्टि हुने क्रम अझ तीव्र देखिन्छ। कुनै समय ग्रामीण रोगको रूपमा हेरिने स्क्रब टाइफस काठमाडौँ जस्तो सहरी इलाकामा पनि देखिने क्रम बढ्दो छ।
स्क्रब टाइफसको चर्चा सन् २०१५ पछि बढी भएको हो।धरानमा केही बालबालिकाको मृत्यु स्क्रब टाइफसको कारणले भए पश्चात् यो रोग प्रति धेरैको चासो बढेको हो। यद्यपि सन् २००४ मा पाटन अस्पतालमा गरिएको अनुसन्धानले यो सङ्क्रमण काठमाडौँ थियो भन्ने देखाउँछ। एक प्रकारको किर्ना “चिगर माइट” को टोकाई पछि यो रोग मानिसमा लाग्ने गर्दछ।
सो टोकाइबाट “ओरियनटा शुशुगामुसी” नामक ब्याक्टेरियाको कारणले मानिसमा स्क्रब टाइफस रोग लाग्ने गर्दछ। सङ्क्रमण गरेको ५ देखि २० दिन सम्ममा बिरामीमा लक्षणहरू देखा पर्ने गर्दछ।
अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको सेतो भाग हल्का रातो देखिनु, लिम्फ ग्रन्थि सुन्निनु, शरीरमा स-साना बिबिरा देखिनु, पसिना आउनु जस्ता लक्षणहरू स्क्रब टाइफसमा देखिने गर्दछ। यसको अर्को महत्त्वपूर्ण सङ्केत भनेको “चिगर माइट” को टोकाई पछि देखिने “स्कार” भनिने कालो घाउको पाप्रो हो। यदि बिरामीलाई ज्वरो आएको छ अनि “स्कार” घाउ पनि देखिए स्क्रब टाइफसको सम्भावना प्रबल हुने गर्दछ।
त्यस्तै अर्को महत्त्वपूर्ण चिन्ह भनेको बिरामीमा श्वा-श्वा हुनु वा श्वास-प्रश्वास अवरोध देखिनु हो। बिरामीहरूलाई सोध्दा उनीहरूमा श्वा-श्वा हुने समस्या सबैभन्दा साझा समस्या भएको देखिएको थियो।तसर्थ उच्च ज्वरोसँगै श्वा-श्वा हुनु र शरीरमा “स्कार” भनिने घाउको पाप्रो देखिए त्यो स्क्रब टाइफस हुनसक्ने सबैभन्दा बलियो आधार मान्न सकिन्छ। यद्यपि यसको अन्तिम पुष्टि भने रगत परीक्षणबाट देखिने प्रमाणमा आधारित हुन्छ।
हाल डेंगु, फ्लु जस्ता भाइरल सङ्क्रमण पनि फैलदो छ।यसका कतिपय लक्षणहरू विशेषतः ज्वरो आउने, जिउ दुख्ने, खान मन नलाग्ने, कहिलेकाहीँ पखाला लाग्ने जस्ता लक्षणहरू स्क्रब टाइफससँग पनि मिल्दोजुल्दो हुने गर्दछ। डेंगु, फ्लु जस्ता भाइरल सङ्क्रमण भए अधिकांशमा (दीर्घ रोगी, ज्येष्ठ नागरिक बाहेकमा) खासै उपचारको आवश्यकता हुँदैन। तर स्क्रब टाइफसलाई बेवास्ता गरिए जटिल अवस्था आउने सम्भावना अत्यधिक हुने गर्दछ र जटिल अवस्थामा समेत उपचार नपाए बिरामीको मृत्यु समेत हुने गर्दछ। उपचार गर्ने अवसर नपाउँदा पहिले पहिले यसको मृत्युदर पनि उच्च हुने गर्दथ्यो।
एक अध्ययनले नेपालमा सन् २०१५ मा १०० सङ्क्रमित मध्ये झन्डै ६ जनाको मृत्यु हुने देखाउँदछ भने यो दर सन् २०१७ सम्म आइपुग्दा एक जनामा सीमित भएको देखिन्छ।शीघ्र पहिचान र सही उपचारको कारणले नेपालमा स्क्रब टाइफसको मृत्युदरमा उल्लेखनीय कमी आएको हुन सक्दछ। तर पछिल्लो समय धेरै मानिस ज्वरो आए पनि जँचाउन नजाने प्रचलनले गर्दा स्क्रब टाइफसको जटिलता बढेसँगै फेरी मृत्युदर पनि बढ्न सक्ने जोखिम देखिन्छ।
उदाहरणको लागि जस्तै काठमाडौँमा पछिल्लो केही वर्ष यता धेरै मानिस ज्वरो आए पनि डेंगु होला भन्दै आफ्नो दैनिकीलाई निरन्तरता दिने र परीक्षण पनि नगर्ने गरेको देखिन्छ। यसले गर्दा स्क्रब टाइफस छुटिन सक्ने र पछि जटिलता देखिन सक्ने सम्भावना बढेर गएको देखिन्छ। विशेषतः ज्वरो ८-१० पछि पनि ज्वरो कम भएन र माथि उल्लेखित लक्षणहरू देखिए स्क्रब टाइफसको सम्भावना प्रबल हुनेछ।
स्क्रब टाइफस र डेंगुको सङ्क्रमण (को-इन्फेक्सन) एकै व्यक्तिलाई सम्भव छ र अस्पतालमा देख्ने पनि गर्दछौ। सामान्यतया हामीले ज्वरो आयो र यी दुई मध्य कुनै सङ्क्रमण पहिले पुष्टि भइहाले अर्को वा अरू सङ्क्रमणको परीक्षण गर्ने गर्दैनौ। जुन स्वाभाविक पनि देखिन्छ।
तर कुनै ठाउँ तथा सो समय अवधिमा बहु-सङ्क्रमण फैलिरहेको छ भने व्यक्तिमा एक भन्दा बढी सङ्क्रमणको सम्भावना पनि रहन्छ। स्क्रब टाइफस र डेंगुको सङ्क्रमण (को-इन्फेक्सन) भएको अवस्थामा बिरामीमा स्वास्थ्य जटिलता एकल सङ्क्रमणमा भन्दा बढी हुनसक्ने विभिन्न अध्ययनहरूले देखाएका छन्।
त्यसर्थ पनि हाल नेपालमा विभिन्न किटजन्य रोगहरू एकै साथ देखिँदै गर्दा परीक्षणको दायरालाई पनि बढाउन आवश्यक देखिन्छ। खासगरी स्क्रब टाइफसको विशेष एन्टीबायोटिक औषधी हुन्छ र उपचार पश्चात् पूर्णरुपमा निको समेत हुने भएकोले परीक्षण पुष्टि अति आवश्यक हुन्छ। विगतको आधिकारिक तथ्याङ्कहरू हेर्ने हो भने पनि बर्सेनि स्क्रब टाइफसका बिरामीले समयमा रोगको पहिचान अनि उपचार गर्न नपाउँदा मृत्युवरण गर्नु परेको देखिन्छ।
अन्तमा, हाल नेपालमा स्क्रब टाइफस पुष्टि हुने क्रम तीव्र गतिमा बढेको छ। एक स्क्रब टाइफस सङ्क्रमितको भनाइ अनुसार हाल गाउँमा वाहाको जस्तै लक्षण भएकाहरू अत्यधिक बढिरहेका छन् ।ग्रामीण क्षेत्रमा स्क्रब टाइफस परीक्षणको पहुँच सहज नहुन सक्दछ।त्यस्ता ठाउँमा लक्षणको आधारमा पनि स्क्रब टाइफसको अनुमान गर्न सके र स्वास्थ्यकर्मीको सल्लाहमा उपचार सुरु गरे यो रोगबाट पूर्णरुपमा मुक्त भइन्छ।
स्क्रब टाइफस सङ्क्रमितसँग गरेको कुराकानीमा अरू लक्षणसँगै सबैभन्दा साझा स्वास्थ्य समस्यामा “उच्च ज्वरो सँगै श्वा-श्वा हुने (श्वास-प्रश्वासमा अवरोध)” भनेका थिए। तसर्थ के तपाइलाई श्वा-श्वा हुने अनि उच्च ज्वरो आएको छ ? त्यो स्क्रब टाइफस सङ्क्रमणको लक्षण पनि हुन सक्दछ है !
(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।)