नेपाल जस्तो विकासोन्मुख देशमा स्वास्थ्य सेवाहरूको पहुँच विस्तार हुँदै जाँदा पनि मानसिक स्वास्थ्य भने अझै पनि छायाँमा परेको छ । देशको कुल जनसंख्याको करिब २० प्रतिशत मानिस कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन् । यसरी हेर्दा नेपालमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक छ ।
मानसिक समस्याहरू बढ्दै जाँदा आत्महत्याको जोखिम पनि बढदै गएको तर यस्तो संवेदनशील विषय राज्यको प्राथमिकतामा पर्न नसक्नु दुखद रहेको नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थका कार्यकारी निर्देशक एवम अमेरिकामा कार्यरत मानसिक रोग विशेषज्ञ डा.श्रीधर पौडेल बताउँछन् ।
उनले नेपालमा ८० देखि ८५ प्रतिशत मानिसहरु अझै पनि मानसिक स्वास्थ्य उपचारको पहुँचमा नरहेको बताउँदै प्रभावकारी उपचार पद्धति समेत नरहेको बताए । साथै, उनले राज्यले अन्य एजेण्डालाई मुख्य बनाएर मानसिक स्वास्थ्य समस्यालाई ओझेलमा पारेको गुनासो समेत गरे ।
उनले भने, ‘एकसय जनामा १५ देखि २० प्रतिशत मान्छेले मात्र उपचार पाउँछन् । अरु ८० देखि ८५ प्रतिशत मानिसहरुको पहुँच नै छैन । काठमाडौंबाट बाहिर छँदै छैन,’ उनले भने, ‘धेरै जिल्लाहरुमा मानसिक समस्या विकराल छ । तर त्यसको उपचार पद्धति छैन । राज्य प्रणालीले त्यहाँसम्म सोच्न सकेको छैन । मानसिक स्वास्थ्य सरकारको एजेण्डामा परेको छैन । अरु एजेण्डालाई मुख्य बनाएर यसलाई ओझेलमा पारिएको हो कि जस्तो देखिन्छ ।’
त्यस्तै, उनले नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी दक्ष जनशक्तिको अभाव रहेको कारण पनि मानसिक स्वास्थ्य सेवाको अवस्था विकराल रहेको धारणा राखे ।‘चाहिने जति जनशक्ति छैन । साइकोलोजिष्टहरुले परामर्श त दिनु हुन्छ तर पनि क्लिनिकल साइकोलोजीमा पिएचडी वा एमफिल गरेको कम हुनुहुन्छ । मास्टर्स गरेका क्लिनिकल साइकोलोजिस्टहरु अलिकति बढि हुनुहुन्छ । तर सरकारले त्यसमा केही योजना बनाउन भ्याएकै छैन । यस्ता धेरै कारणले गर्दा मानसिक स्वास्थ्य सेवाको अवस्था विकराल छ,’ उनले भने ।
अमेरिकाको हार्वर्ड मेडिकल स्कुलमा साइकियाट्री विषयका सहायक प्राध्यापकको रुपमा कार्यरत डा. पौडेलका अनुसार मानसिक रोग लागेका मानिसहरुको औसत आयु नलागेको मानिसको भन्दा १० देखि १५ वर्ष कम हुने गर्दछ ।
सामान्य मानिसको औसत आयु ७६ वर्ष हुँदा गहन खालको मानसिक स्वास्थ्य समस्या (स्किजफ्रेनिया) भएका मानिसहरुको औसत आयु २० वर्ष कम हुन्छ । यसरी मानसिक रोग लागेका धेरै जसो मानिसहरुमा क्यान्सरको जोखिम पनि उच्च हुने उनले जानकारी गराए ।
‘नेपालका २० देखि २५ प्रतिशत मानिसहरुको जीवनकालमा मानसिक रोगका कुनै न कुनै लक्षण देखिन्छन् । त्यसमध्ये कति जना मानिसलाई हामीले उपचार सेवा दिइरहेको छौँ, त्यसलाई अध्ययन गर्दा त्यो एकदमै कम छ,’ उनले भने, ‘मानसिक रोग लागेको मान्छेहरुको औसत आयु नलागेको मानिसको भन्दा १० देखि १५ वर्ष कम हुन्छ । तर गहन खालको मानसिक स्वास्थ्य समस्या जस्तै स्किजफ्रेनिया भएका मान्छेहरुको औसत आयु सामान्य मान्छेको औसत आयु ७६ वर्ष छ भने स्किजफ्रेनिया भएको मान्छेहरुको २० वर्ष सम्म कम हुन्छ ।’
नेपालमा आत्महत्याबाट हरेक वर्ष ६ देखि ७ हजार मानिसको मृत्यु हुनेगर्छ । हरेक दिनमा १५ देखि २० जना मान्छेले आत्महत्या गरेको डेटाहरु छन्, यो एकदमै डरलाग्दो कुरा हो । मृत्युको उक्त आँकडा हेरेर सरकारमा बसेका मानिसले प्राथमिकताका साथ काम गर्नुपर्ने डा.पौडेलको भनाइ छ ।
‘हरेक दिन १५ देखि २० जना मानिसले आत्महत्या गरेका हुन्छन् । यो एकदमै डरलाग्दो कुरा हो । आत्महत्याबाट हरेक वर्ष ६ देखि ७ हजार मान्छे मरिरहेका हुन्छन् । यी मध्य धेरै मानिसलाई जोगाउन सकिन्छ । उनीहरुलाई सही उपचार गरियो भने बचाउन सकिन्छ । मृत्युको यस्तो आँकडा हुँदापनि सरकारमा बसेका कुनैपनि व्यक्तिले यसलाई प्राथमिकता नदिइ बस्न सक्छ जस्तो मलाई लाग्दैन,’ उनले भने ।
रोग अनुसार उपचार र औषधि हुने भएकाले डिप्रेशन जस्ता रोगको उपचार थोरै खर्चमा गर्न सकिने उनले बताए । त्यस्तै स्किजफ्रेनिया जस्तो रोगको उपचारको लागि अलि बढि खर्च हुने उनले जानकारी दिए ।
उनको अनुसार विदेशमा विद्युतीय अथवा चुम्बकीय माध्यमबाट मानसिक रोगको उपचार गर्ने पद्धती छ । तर नेपालमा त्यस्तो उपचार पद्धति अहिलेसम्म पनि सुरु हुन सकेको छैन । मानसिक स्वास्थ्यमा लगानी गर्न नसकेको कारण नेपालमा यस्तो खाले पद्धतिको विकास हुन नसकेको उनको ठम्याइ छ । उनले सहज र सस्तो उपचारको लागि सबै नेपालीहरुलाई बीमामा आवद्ध गराउनुपर्नेमा पनि जोड दिए ।
नेपालमा सबैखाले मानसिक रोगको उपचार सम्भव छ । तर सबै मानसिक रोगहरु उपचार पश्चात चट्टै ठिक हुने सम्भावना भने हुँदैन । उनले सबैलाई मानसिक स्वास्थ्यको पहुँचमा पुर्याउन सरकार र निजी क्षेत्रले लगानी गर्नुपर्ने आवश्यकता औल्याए ।
कतिपय ठाँउमा मानसिक रोगको उपचार पद्धति हुँदाहुँदै पनि मानिस उपचार गर्न नजाने र यस्ता रोगीहरुलाई हेलाको दृष्टिले हेर्ने चलन अझै रहेको बताए ।
‘पहिलो कुरा मानसिक रोग लागेको छ भन्ने कुरा नै थाहा हुँदैन । थाहा भएपनि कहाँ गएर उपचार गर्ने भन्ने कुरा पनि थाहा हुँदैन । यसले गर्दा समस्या हुन्छ । गाँउ घरमा अझै पनि रुढिवादी धारणा भएका कारणले र सरकारले चेतना फैलाउन नसकेको कारणले पनि समाज पुरानै शैलीमा चलिरहेको छ,’ उनले भने ।
मानसिक स्वास्थ्यको समस्या नेपाल मात्रै नभइ संसारभर नै एकदमै गम्भीर रहेकाले राज्यले यस क्षेत्रमा थप लगानी गर्नु आवश्यक रहेको उनले बताए ।