अर्थोपेडिक्स अंकोसर्जन डा.गोपालको उपचार अनुभवः बोकेर ल्याइएका बिरामी ठमठम हिडेर घर फर्किए…

सुशिल कोइराला क्यान्सर अस्पताल खजुरामै भइरहेका छन् जटिल खाले क्यान्सरको सफलतापूर्वक शल्यक्रिया ।


    • प्रियास्मृति ढकाल

  • १७ भाद्र २०८२, मंगलवार

नेपालगन्जः पछिल्लो समय क्यान्सर रोगको महामारी तीब्र गतिमा फैलिँदै गएको छ । विश्व समुदायलाई नै क्यान्सर नियन्त्रण चुनौतीपूर्ण बनिरहेको बेला नेपालमा समेत यसको महामारी तीब्र गतिमा फैलिरहेको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार हरेक वर्ष करिब ३०–३५ हजार नयाँ बिरामी थपिन्छन् भने करिब २० हजार मानिस क्यान्सरकै कारण ज्यान गुमाउँछन् । बाँकेमा पनि क्यान्सरका बिरामीहरु दैनिकरुपमा पहिचान भइरहेका छन् ।

क्यान्सर अस्पतालमा खासगरी फोक्सोको क्यान्सर, स्तन क्यान्सर, पाठेघरको क्यान्सर लगायतका बिरामी बढी देखिन्छ । ‘सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका कन्सल्टेन्ट अर्थोपेडिक्स अंको सर्जन डा.गोपाल पौडेलले भने–‘समुदायस्तरमा क्यान्सरका बिरामी पहिचान हुनेक्रम बढ्दो छ । अव हेलचेक्रयाई गर्ने स्थित छैन । यो लुकाएर राख्ने रोग होइन ।’

क्यान्सर रोगलाई व्यक्ति, परिवार र समुदायले लुकाउने प्रवृत्ति अझैपनि कायमै छ । तर क्यान्सर अस्पतालमा डा.पौडेलको ओपीडीमा आउने अधिकांशमा सफ्टटिस्यु क्यान्सर बढी देखिएको पाइएको छ । यो भनेको छालामुनि वा शरीरको गहिरो भागमा गाँठागुठी आउनु हो । बाँके, दाङ, सुर्खेत लगायतका ठाउँबाट अस्पताल आउने बिरामीमा शरीरको छालामुनि गाँठागुठी देखिने र त्यो विस्तारै बढ्दै गएर क्यान्सरको स्वरुप लिएका बिरामी पहिचान भएको डा.पौडेल बताउँछन् । बाँकेमा पनि कोहलपुरमा क्यान्सरका रोगी पहिचान हुने क्रम बढी देखिएको उनी बताउँछन् ।

‘कोहलपुरमा एउटै वस्तीमा ७ जना क्यान्सर रोगी पहिचान भएका छन् उनी भन्छन्–‘मेरो ओपीडीमा आउने बाँकेका मध्ये अधिकांश केसहरु कोहलपुरका छन् ।’ उनले शरीरमा गाँठागुठीको आउने वित्तिकै क्यान्सर हुन सक्छ तत्काल जँचाइ हाल्नु पर्छ भन्ने मानसिकता सवै नागरिकमा हुनुपर्ने धारणा राख्छन् । ‘शरीरका कुनैपनि भागमा गाँठागुठी देखियो भने विलम्व गर्नै भएन उनी भन्छन्–‘गाँठागुठी देखिदैमा क्यान्सर हुने कुरा त होइन तर सुरुवाती चरण हुन सक्छ । त्यसको तत्काल जाँचपड्ताल गरियो भने क्यान्सर नभए ढुक्क भैहाल्यो, भएपनि तत्काल उपचार गरेर ठिक गर्न सकिन्छ ।’

खासगरी शरीरमा आउने गाँठागुठीलाई सामान्य ठानेर विशेषज्ञ चिकित्सकबीना चेकजाँच गरेर शल्यक्रिया गर्ने गरेको पनि पाइएको छ । यो विज्ञ चिकित्सकहरु लगि चुनौतिपूर्णमात्र छैन बिरामीका लागि झनै समस्याग्रस्त बनेको छ । क्यान्सरको पहिचान नगरेर गरिने यस्ता शल्यक्रियाले बिरामीको समस्या ठिक हुनुको साटो झन बल्झाउने गरेको छ । ‘आवश्यक चेकजाँच गरेर शल्यक्रिया गरियो भने क्यान्सरको सबै भाग एकैपटक निकाल्न सकिन्छ डा.पौडेल भन्छन्–‘ चेकजाँच नै नगरी गरिने शल्यक्रियाले क्यान्सर रहिरहने र फेरी गर्दा बिरामीको स्वास्थ्य अवस्था नै जोखिममा पर्ने हुन्छ ।’ धुम्रपान, मदिरा, फास्टफुड, अल्छी जीवनशैली, प्रदूषण, समयमै स्क्रिनिङ/जाँच नगर्नु, वंशानुगत कारणले गर्दा समुदायमा क्यान्सरको प्रभाव बढ्दै गएको उनी बताउँछन् ।

सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा दैनिक फलोअपसहित डेढ सय बढीको हाराहारीमा बिरामीहरु आइरहेका छन् । क्यान्सर रोगको पहिचानका लागि बिरामीहरुलाई छिमेकी देश भारत तथा चितवन भरतपुर क्यान्सर अस्पताल जानु पर्ने बाध्यता छैन । फोक्सो भित्र प्रत्यक्ष हेरेर जाँच गर्ने ब्रोंकोस्कोपी प्रविधिबाहेक क्यान्सर पहिचानका लागि अधिकांश उपकरण अस्पतालसँग छन् । ब्रोंकोस्कोपी प्रविधिबाट फोक्सोभित्रको असामान्य गाँठा, सुजन, रगत, संक्रमण, वा ट्युमर प्रत्यक्ष देख्न सकिन्छ ।

पहिचानमात्र होइन क्यान्सर अस्पतालमा जटिल खालका शल्यक्रियाहरु पनि सफलतापूर्वक भइरहेका छन् । ‘भरतपुर क्यान्सर अस्पतालपछि क्यान्सर बिरामीको सबैभन्दा बढी चाप हुने खजुरा क्यान्सर अस्पतालमै होला उनी भन्छन्–‘क्यान्सर डेडिकेटेड अस्पताल भएकाले हाम्रो प्राथमिकता क्यान्सरकै बिरामी हुन् । अन्य बिरामीलाई पनि सेवा त दिइराखेकै छौं ।’ रेडिसियन र क्लिनिक टिमपनि त्यतिकै अव्वल छ । क्यान्सर पत्ता लगाउने, त्यसको निवारण गर्ने, सहज जीवनयापनका लागि सहयोग गर्ने र औषधोपचार गर्ने काम क्यान्सर अस्पतालबाट भइरहेका छन् ।

बोकेर ल्याइएका बिरामी ठमठम हिडेर गए…

नरैनापुरका २८ वर्षीय एक जना युवकलाई घुँडा चल्नै नसक्ने अवस्थामा परिवारले बोकेर अस्पताल ल्याए । आवश्यक परीक्षण गर्दा उनलाई टियुमर देखियो । यो क्यान्सर नै त होइन तर टियुमर फालेपनि पलाइरहने हुन्छ । यो एग्रिसीभ टियुमर हो । डा.पौडेलको टिमले टियुमर भएको हड्डीको भाग काटेर त्यो हड्डी र घुँडाको जोर्नीलाई कृत्रिम धातुले जोड्ने काम सफलतापूर्वक गर्यो । मेडिकल भाषामा यसलाई Total knee replacement with megaprosthesis अर्थात  घुँडाको जोर्नी पूर्ण रूपमा प्रतिस्थापन गर्ने शल्यक्रिया भनिन्छ । केही दिनको अस्पताल बसाइपछि उनी ठमठम हिडेर गए । अहिले उनी मज्जाले हिड्डुल गर्न सक्ने भएका छन् ।

कुन कोषबाट टियुमर निस्कियो पत्तै लागेन, शल्यक्रियापछि तयार…

बाँकेको राप्तीसोनारीकी ६२ वर्षीया महिलाको हिपमा मासुको डल्लो (टियुमर) देखियो । उनले नेपालगन्जका विभिन्न अस्पतालमा देखाइन् । उपचारका लागि भारतसम्म पुगिन् । तर सन्चो हुनुको साटो झनझन बढ्दै गयो । उनको शरीर गल्दै गइरहेको थियो । उनी खजुरा क्यान्सर अस्पतालमा पुगिन् ।Trucut Biopsy (ट्रुकट बायोप्सी)  गरियो । त्यो भनेको शंकास्पद ठाउँबाट सानो मासु निकालेर गरिने जाँच । रिपोर्टमा लो ग्रेड सरकोमा अर्थात हड्डीमा क्यान्सर । त्यसपछि उनलाई दुई वटा किमोथेरापी दिइयो । तर किमोले कुनै रेष्पोन्स गरेन् ।

शल्यक्रिया गर्नुको विकल्प थिएन । अस्पतालमा चिकित्सक सम्मेलित टियुमर वोर्ड छ । कुनै जटिल अवस्था आए बिरामीको कसरी उपचार गर्ने भन्नेबारेमा त्यो वोर्डमा छलफल गरेर निर्णय गर्ने गरिन्छ । वोर्डको बैठक बस्यो । बैठकले शल्यक्रिया गर्ने निष्कर्ष निकाल्यो । शल्यक्रिया गरियो । टियुमर सबै निकालेर त्यसको बायोप्सी गरियो । त्यसमा ट्रुकट बायोप्सी  र शल्यक्रिया गरेको बायोप्सीको रिपोर्ट फरक–फरक देखियो ।

ImmunoHistoChemistry (IHC) परीक्षण गर्ने निष्कर्षमा पुगे । त्यसका लागि नमुना भारत पठाए । खजुरा क्यान्सर अस्पतालमा यो सुविधा छैन । यो विशेष परीक्षण विधि हो । त्यहाँबाट आएको रिपोर्ट पनि टु«कट  बायोप्सी र शल्यक्रिया गरेको बायोप्सीको रिपोर्टसँग मेल खाएन । कुन कोषबाट टियुमर निस्केको हो पहिचानै हुन सकेन । शल्यक्रियापछि थप दुईवटा किमो दिइयो । त्यसले पनि कुनै रेष्पोन्स दिएन । उनी भन्छन्–‘क्यान्सर रोगको पहिचान र उपचारमा यो एकदमै दुर्लभ केस हो ।’ अहिले नियमित फलोअपमा रहेकी उनी स्वस्थ छिन् । थप भागमा टियुमर फैलिएको छैन । हिडडुल गर्न नसक्ने अवस्थामा पुगेकी उनी आफ्नो सामान्य जीवनमा फर्किएकी छिन् ।

को हुन् डा.गोपाल पौडेल ?

डा.गोपाल २०४४ मा पोखरामा जन्मिए । तर हुर्किए बाँकेको कोहलपुरमा । कोहलपुरमै पढे । २०४५ सालमा उनको परिवार बसाइसरी कोहलपुर आयो । लक्ष्मण पौडेल र गुमा पौडेलका उनी एक्ला छोरा हुन् । उनका दुई वहिनी छन् । गोपालले २ कक्षासम्म रामजानकीमा पढे । ७ कक्षासम्म भने ग्रीनपसिमा । ८,९ र १० भने गोर्खा वोर्डिङ स्कुलमा पढे । २०६० सालमा एसएलसी गरे । २०६३ सालमा उनले सगरमाथा उच्च माविबाट प्लस टु गरे । चाहना थियो पाइलट बन्ने । उनको सपनाले आकाशमा उडान भर्न पाएन । बुवाको एक किसिमको इच्छा थियो छोरो डाक्टर बनोस् । बुवाको प्रस्तावलाई उनले इन्कार गर्न सकेनन् ।

२०६४ मा उनी नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा एमबीबीएसका लागि भर्ना भए । ०६९ सालमा एमबीबीएस उर्तिण गरे । करिव १५ महिना उनले नेपाल परिवार नियोजन संघका वरिष्ठ मेडिकल अधिकृतको रुपमा काम गरे । २०७१ मा उनी मास्टरस पढ्न बंगलादेश गए । बंगलादेशको मेडिकल युनिभर्सिटीबाट अर्थोपेडिक्समा एमएस गरेर २०७७ मा फर्किए । पोखराको हस्पिटल एण्ड रिर्चस सेन्टरमा करिव १५ महिना काम गरे । त्यसपछि उनले भरतपुरस्थित वीपी कोइराला क्यान्सर अस्पतालबाट फेलोसीपमा अर्थोपेडिक्स अंको (हड्डी र मासु क्यान्सर) को विज्ञता हासिल गरे ।

एक वर्षको अध्ययन पछि पुनः पोखरा हस्पिटल एण्ड रिर्चस सेन्टरमा प्रशासकीय भूमिकासहित काम गरे । २०८१ साल साउन देखि भने उनी खजुरा क्यान्सर अस्पतालमा कन्सल्टेन्ट अर्थोपेडिक अंको सर्जनका रुपमा काम गर्दै आएका छन् । त्यसबाहेक उनले कोहलपुर, नेपालगन्ज तथा बर्दियामा समेत क्यान्सरका बिरामीको पहिचान, उपचार र निदानका लागि परामर्श र उपचार सेवा प्रदान गर्दै आएका छन् । उनी सन्तुष्ट छन् । तर पाइलट बनेर खुला आकाशमा बिमान उडाउने हुटहुटी भने अझैपनि उनको मनबाट हट्न सकेको छैन । भन्छन्–‘खुला आकाशमा उडान भर्ने त्यो चाहना एक दिन पूरा गर्ने अठोट अझै पनि छ । तर पेशागत जीवनका लागि होइन, केवल मनको चाहना पूरा गर्न । पेशा त अव चिकित्सकीय नै हो ।’

  • १७ भाद्र २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech