मुख गन्हाउने समस्याले व्यक्तिको व्यक्तित्वमा नै नराम्रो प्रभाव पार्छ । यस्तो समस्या हुँदा मुखबाट नमिठो दुर्गन्ध आउँछ । जसले मुख र शरीर स्वस्थ छैन भन्ने स्वत: बुझाउँछ । साथै, मुख गन्हाउने समस्या भएका मानिस अलि कमजोर र मानसिक रूपमा डिपे्रसनमा हुन्छन् । आफ्नो सास आफैँलाई नगन्हाउने भएकाले यसबारे थाहा पाउन दन्तचिकित्सककोमा देखाइराख्नुपर्छ । लामो समयदेखि मुख गन्हाउने समस्या छ भने त्यहाँ क्यान्सर भएको पनि हुन सक्छ । त्यसैले, यसबारे बुझेर समयमै उपचार गर्नुपर्छ ।
कारण : प्याज, लसुन, मुलाजस्ता खाद्यपदार्थ नियमित खाँदा, पानी कम पिउने कारण मुख सुक्खा हुन्छ । कफीको अत्यधिक सेवन गर्दा, दाँत तथा मुख राम्रोसँग सफा नगर्दा, सही तरिकाले ब्रसिङ र फ्लसिङ नगर्दा, लगाएको कृत्रिम दाँत राम्रो गरी सफा नगर्दा मुख गन्हाउन सक्छ ।
खाना खाएपछि कुल्ला गर्ने बानी नहुँदा तथा जिब्रो सफा नगर्दा, गुलियोको मात्रा अधिक प्रयोग गर्नाले, गिजा सुन्निएर पाइरिया भएमा, पिनासको संक्रमण भएमा, धूम्रपान, मद्यपान तथा सुर्तीजन्य वस्तुको प्रयोगका कारण, दाँत किराले खाएर खाल्डो भएमा, मुखभित्र घाउ, खटिरा वा संक्रमण भएमा, टन्सिलाइटिस भयो भने पनि मुख गन्हाउँछ ।
त्यस्तै, एसिडिटी भएमा, अथवा पेटको अम्ल मुखमा आएमा, श्वासनली र फोक्सोमा संक्रमण भएमा, खानानली र पेटमा घाउ भएमा र शरीरमा चिनीको मात्रा अत्यधिक बढी वा कम हुँदा पनि मुख गन्हाउँछ ।
त्यस्तै पेट, फोक्सो, खानानली आदिमा क्यान्सर हुनु, नाइट्रेट्स, स्लिपिङ ट्याब्लेट र भिटामिन आदि औषधि प्रयोग गर्नाले, जोग्रेन सिन्ड्रोम नामक रोग लागेमा, कलेजोले काम गरेन भने, मिर्गौला फेल भयो भने कुहिएको माछाजस्तै गन्ध आउँछ ।
रोकथाम र उपचार
मुख गन्हाउने खानेकुरा सकेसम्म बाहिर हिँड्दा नखाने, पर्याप्त मात्रामा पानी पिउने, जसले शरीरमा पानीको मात्रा सन्तुलित राख्छ र मुख सुक्खा हुन दिँदैन, जिब्रोलाई क्लिनरले नियमित सफा गर्ने, कफी र गुलियो खानेकुरा कम खाने, सही तरिकाले ब्रसिङ र फ्लसिङ गर्ने, कृत्रिम दाँतमा खाना अड्किने भएमा राम्रोसँग सफा गर्ने, अझ ठिक नभएमा चिकित्सककोमा जाने, एउटा ब्रसलाई तीन महिनाभन्दा बढी प्रयोग नगर्ने, खाना खाएपछि मज्जाले मुख कुल्ला गर्ने, धेरै गुलियो, चकलेट र चुइङ्गमको प्रयोग कम गर्ने, गिजा सुन्निएमा उपचार गरेर ठिक पार्ने, पिनास र टनसिलको उपचार गर्ने गर्नुपर्छ ।
त्यस्तै धूम्रपान अथवा सुर्तीजन्य पदार्थ सेवन नगर्ने, दन्त सडनको उपचार सही ढंगले गर्ने, मुखका घाउ–खटिराको उपचार समयमै गर्ने, मुखमा अम्लको मात्रा बढी आउन नदिने, खानपानमा ध्यान दिने र पेटको उपचार गर्ने, श्वासप्रश्वास नली र फोक्सोको समस्यालाई समयमै उपचार गर्ने, मधुमेह नियन्त्रणमा राख्ने, नियमित रूपमा दन्तचिकित्सकलाई देखाउने, के कारणले मुख गन्हाउँछ, त्यसको कारण पत्ता लगाई समयमै उपचार गर्ने गर्नुपर्छ ।