तीन वर्षमा एकपटक नवीकरण: फार्मेसी लाइसेन्स अब प्रत्येक वर्ष नभई तीन वर्षमा एकपटक नवीकरण गर्न सकिने व्यवस्था लागू गरिएको छ।
म्याद अगावै नवीकरणको सुविधा: म्याद सकिनु अघि नवीकरण गर्दा थप दस्तुर तिर्नु पर्दैन; म्याद सकिएको ३० दिनभित्र दोब्बर दस्तुर बुझाएर नवीकरण गर्न सकिन्छ।
निष्क्रिय पसलको सूची: नेपालगन्ज शाखामा ५,०९६ फार्मेसी दर्ता छन्, तीमध्ये १,०२७ पसल निष्क्रिय सूचीमा राखिएका छन्, र नयाँ नियमले व्यवसायीलाई समयमै नवीकरण गर्न प्रेरित गर्नेछ। सारांश AI बाट सिर्जना गरिएको हो ।
नेपालगन्जः औषधि पसल सञ्चालन गरेका व्यवसायीहरूका लागि नवीकरण प्रक्रियामा संशोधन गरिएको छ । औषधि ऐन २०३५ को दफा ११ को नवीकरण सम्वन्धी व्यवस्थालाई हेरफेर गरिएको औषधि व्यवस्था विभाग नेपालगन्ज शाखा प्रमुख निनु श्रेष्ठले जानकारी दिइन् । यसअन्तर्गत व्यवसायीहरूले पुरानो लाइसेन्स, नागरिकता प्रमाणपत्र र पसल सञ्चालन प्रमाणसहित आवेदन दिनुपर्छ । औषधि व्यवस्था विभागका अधिकारीले पसल निरीक्षण गरी नियम अनुसार भएमा नवीकरण गरिएको लाइसेन्स जारी गर्नेछन् ।
श्रेष्ठले भनिन्–‘तीन वर्षमा एकपटक नवीकरणको व्यवस्था लागू भएपछि व्यवसायीहरू अब बारम्बार दर्ता र नवीकरणमा लाग्ने समय बचत गर्न सक्नेछन् ।’ ऐन संशोधन भएकाले त्यहीअनुसार नवीकरण गर्न सुरु गरिएको पनि उनले बताइन् । व्यवसायीहरुले दर्ता भएको दुई वर्षपछि प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था थियो । अहिले त्यसलाई संशोधन गरेर तीन वर्ष कायम गरिएको छ । तर व्यवसाय निरन्तरताका लागि त्यही तीन वर्षको अवधिमा नवीकरण गर्नुपर्ने प्रावधान ल्याइएको छ ।
‘यसअघि म्याद सकिएपछि नवीकरण गर्ने प्रावधान थियो तर विभागले ऐन संशोधन गरेपछि अव म्याद नसकिदै नवीकरण गरिसकेको हुनु पर्नेछ ।’ उनले भनिन् । म्याद सकिनु अगावै नवीकरण गरिए दस्तुर तिर्नु पर्दैन् । तर म्याद सकिएको ३० दिनभित्र दोब्बर दरस्तुर बुझाएर नवीकरण गर्न सकिने व्यवस्था पनि कायम गरिएको छ । यद्यपी ३० दिनको अवधिमा पनि नवीकरण नगरिए व्यवसाय स्वतः रद्द गरिने उनले बताइन् । यसअघि म्याद सकिएको ३५ देखि ९० दिनभित्र थप २५ प्रतिशत दस्तुर बुझाएर नवीकरण गर्न सकिने प्रावधान थियो ।
त्यसैगरि ९० देखि १२५ दिनभित्र नवीकरण गरे एक हजार गुणा बढी दस्तुर बुझाएर पनि नवीकरण गर्न सकिन्थ्यो । त्योअवधिमा पनि नवीकरण नगरिए व्यवसाय पुनः कायम गर्न सकिने व्यवस्था थियो । रद्दै गर्न सकिने प्रावधान भने थिएन् । तर गएको साउन १४ गतेदेखि नवीकरणमा कडाइँ गरिएको हो । नवीकरणका लागि अन्तिम समयमै तछाडमछाड गर्ने व्यवसायीहरुलाई यसले लगाम लगाउन खोजेको देखिन्छ । २५ जिल्ला कार्यक्षेत्र रहेको औषधि व्यवस्था विभाग नेपालगन्ज शाखामा ५ हजार ९६ फार्मेसी पसल दर्ता छन् । ती मध्ये १ हजार २७ फार्मेसी निष्क्रिय अवस्थामा छन् । व्यवसाय संचालनका लागि दर्ता भएका र २०७५ सालपछि उनीहरु अहिलेसम्म पनि सम्पर्कमा नआएपछि निष्क्रियको सूचिमा राखिएको श्रेष्ठले जानकारी दिइन् ।