बर्दियामा आधाभन्दा धेरैले गरेनन् स्वास्थ्य बीमा नवीकरण

    • स्वास्थ्य पेज

  • ११ भाद्र २०८२, बुधबार

गुलरियाः बर्दियामा आधा भन्दा धेरैले स्वास्थ्य बीमा नवीकरण नगरेको पाइएको छ । बर्दिया जिल्लामा स्वास्थ्य बीमा गर्ने घरपरिवारमध्ये आधाभन्दा बढीले बीमा नवीकरण नगरेको पाइएको छ । स्वास्थ्य बिमा बोर्ड बर्दियाका अनुसार निःशुल्क बीमाबाहेक पैसा तिरेर बीमा गर्ने १६ हजार ७०३ घर परिवारमध्ये केवल आठ हजार ६९९ घरपरिवारले मात्र नवीकरण गरेका छन् ।

कम बिरामी हुने वा स्वास्थ्य बीमाको तत्काल आवश्यकता नपरेका घरपरिवारले बीमा नगर्ने वा समयमा नवीकरण नगर्ने प्रवृत्ति देखिएको छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार बर्दियामा एक लाख छ हजार २८५ घरधुरी छन् । तीमध्ये निःशुल्क बीमा सुविधाबाहेक केवल १५ प्रतिशत घरपरिवारले मात्र स्वास्थ्य बीमा गरेका छन् । बर्दियामा बिमा गर्नेमा सबैभन्दा धेरै ज्येष्ठ नागरिक छन् । कुल ३९ हजार ४९४ घरपरिवारमध्ये २९ हजार ३२५ ज्येष्ठ नागरिक छन् ।

तिनको बीमा स्वतः नवीकरण हुन्छ । बोर्डका जिल्ला संयोजक डिकेन्द्रबहादुर विष्टले त्यसबाहेक एचआइभी सङ्क्रमित १६६ जना, कुष्ठरोगी १९ जना, अति अशक्त अपाङ्गता भएका एक १९१ जना र चार जना जटिल क्षयरोगीले निःशुल्क बीमा सुविधा लिएका जानकारी दिए । त्यसै गरी ५० प्रतिशत छुट पाउने महिला स्वास्थ्य स्वयं सेविकामध्ये पनि ५५ प्रतिशतले मात्र बीमा गरेका छन् । जिल्लामा रहेका ८३७ स्वयं सेविकामध्ये ४६१ जनाले मात्र स्वास्थ्य बीमा गरेका छन् ।

विष्टका अनुसार नवीकरण स्वतः हुने ज्येष्ठ नागरिकका कारण कागजमा बीमित घरपरिवारको संख्या धेरै देखिए पनि सक्रिय रूपमा बीमा गर्ने परिवार न्यून छ । उनले बीमा नगर्ने प्रवृत्तिलाई गम्भीर समस्या भन्दै नीति बनाउने र कार्यान्वयन गर्ने तहमा रहेका जनप्रतिनिधि, कर्मचारी, शिक्षक र समाजसेवीले समेत स्वास्थ्य बिमा नगरेको तथ्यलाई चिन्ताजनक बताए ।

  • ११ भाद्र २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech