वीरगन्ज: दूषित पानी पिएका १ सय २९ भन्दा बढी पर्साबासी अस्पतालको शय्यामा छन् । प्रकोपको रूप लिएको झाडापखाला एवं हैजा नियन्त्रणको चुनौती देखिएको छ । सयौं बिरामी भर्ना भएपछि बल्ल विभिन्न वडाका धाराको पानीको नमुना संकलन गरिएको छ । जनकपुरस्थित प्रादेशिक प्रयोगशालामा कोलिफर्मको परीक्षण हुँदै छ । जनस्वास्थ्यविज्ञहरू हैजाको प्रकोप निम्तिए पछि पानी परीक्षण गर्नुलाई सरकारी अक्षमताको संज्ञा दिन्छन् ।
‘हैजा संक्रमण फैलिने मुख्य कारण तथा स्रोतको पानीको आपूर्ति नै हो । सरकारले समयमै सजगता नअपनाएकै कारण हैजा महामारी (मेजर आउटब्रेक) देखियो,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी प्रश्न गर्छन्, ‘धमिलो पानी थाहा पाउँदा–पाउँदै पिउनु नागरिकको लापरबाही हो । र, क्लोरिन नहालिएको खानेपानी किन सर्वसाधारणको घर-घरका धारामा वितरण गरियो ? ’
दूषित पानीको सेवनले हैजा फैलाएको छ: पर्साबासीले दूषित पानी पिउनुका कारण १ सय २९ भन्दा बढी बिरामी अस्पतालमा भर्ना भएका छन्, र हैजाको प्रकोप फैलिएको छ।
सरकारी अक्षमता र लापरवाही: जनस्वास्थ्यविज्ञहरूले पानीको नमुना परीक्षण ढिलो गरिएर मात्र नियन्त्रणका प्रयास सुरु भएकोमा आलोचना गरेका छन्। समयमै पानी परीक्षण नगरेको सरकारी अक्षमता भनिएको छ।
संक्रमणको र जोखिमको बारेमा चेतावनी: हैजाको संक्रमण निकै संक्रामक र तीव्र फैलिने भएकोले समयमै उपचार नगरे मृत्युदर पनि हुनसक्ने जनस्वास्थ्यविज्ञहरूको चेतावनी।
मुख्य सारांश AI बाट सिर्जना गरिएको हो ।
हैजाका जीवाणु संक्रमित खाना र पानीको सेवनले हैजा लाग्छ । सरसफाइको कमी, धमिलो खानेपानी पिउँदा हैजा छिटो फैलने जनस्वास्थ्यविद्हरू बताउँछन् । हैजा अति संक्रामक र शीघ्र फैलिने झाडापखाला हो । संक्रमण भएको १ दिनभन्दा कमदेखि ५ दिन सम्ममा हैजाका लक्षणहरू देखा पर्न सक्छन । सङ्क्रमितमध्ये करिब १ देखि २५ प्रतिशतमा मात्र लक्षण देखा पर्छ ।
संक्रमितमध्ये ८० प्रतिशतमा सामान्य खालका लक्षणहरू देखा पर्छन् भने करिब २० प्रतिशतमा कडा खालका लक्षणहरू देखा पर्छन् । डा. मरासिनी भन्छन्, ‘समयमै उपचार नभएमा संक्रमितको केही घण्टा मै मृत्युसमेत हुन सक्छ ।’ हैजासँग मिल्दोजुल्दो लक्षण भएका दुई जनाको ज्यान गएको छ । शुक्रबार वीरगन्जको नारायणी अस्पताल र वीरगन्ज हेल्थ केयर अस्पतालमा वीरगन्जकै ३५ वर्षीय युवक र १९ वर्षीया युवतीको मृत्यु भएको छ । पछिल्लो १० वर्षमा वीरगन्जमा पहिलो पटक हैजाको प्रकोप देखिएको हो । भिब्रियो कलेरा नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्दा हैजा हुने जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।