वीरगन्जः वीरगन्ज महानगरमा हैजा (कोलेरा)को महामारी समुदायस्तरमै फैलिएको छ। हैजाका शंकास्पद दुई जना बिरामीको मृत्युपनि भइसकेको छ। शुक्रबार नारायणी अस्पतालमा ३५ वर्षीय एक पुरुष र वीरगन्ज हेल्थकेयर हस्पिटलमा १९ वर्षीय एक युवतीको मृत्यु भएको हो। नारायणी अस्पतालका सूचना अधिकारी डा.उदयनारायण सिंहले भने-‘झाडापखालाबाट सिकिस्त भएपछि ती दुवै बिरामीलाई अस्पताल ल्याइएको थियो। तर अस्पतालमा ल्याइपुर्याउँदा दुवैको मृत्यु भइसकेको थियो। तर उनीहरूको मृत्यु झाडापखाला वा हैजाका कुन कारणले हो भनेर पुष्टि भएको छैन।’
शुक्रबार सुरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली टोलका ३ जनामा हैजाको संक्रमण पुष्टि भएकोमा शनिबार साँझसम्म उक्त संख्या संख्या ३६ पुगेको छ। स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले वीरगन्जमा हैजाको महामारी समुदायस्तरमै फैलिएको बताए। शनिबार साँझसम्म वीरगन्ज महानगरको वडा नम्बर ३, ११, १२, १३ र ३० मा गरी ३६ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ।
सबैभन्दा बढी वीरगन्जको नारायणी अस्पतालमा १३ जना, तराई हस्पिटलमा १२ जना, नेशनल मेडिकल कलेजमा ५ जना, अलि अर्थो सेन्टरमा ४ जना र भवानी हस्पिटलमा २ जना हैजाका बिरामी उपचाररत रहेको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख सुमनचन्द्र ठाकुरले जानकारी दिए। वीरगन्जका विभिन्न अस्पतालमा गरी झाडापखाला र हैजाका शंकास्पद गरी हाल २०० भन्दा बढी बिरामी उपचाररत छन्। झाडापखालाका सिकिस्त र हैजाका शंकास्पद बिरामीहरु थपिने क्रम जारी रहेको उनले बताए।
नारायणी अस्पतालमा झाडापखाला र हैजाका शंकास्पद बिरामी थपिन थालेपछि शय्याको अभावमा बिरामीलाई बरन्डाको भुइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता भएको अस्पतालका सूचना अधिकारी डा. सिंहले बताए। उनका अनुसार नारायणी अस्पतालमा शनिबार साँझसम्म १३ जना बिरामीमा हैजाको पुष्टि भएको छ। अस्पतालमा हाल झाडापखाला र हैजा पुष्टि भइसकेका गरी ३० जना बढीको उपचार चलिरहेको र बिरामीको संख्या थपिने क्रम अझै जारी रहेको उनले बताए।