स्वास्थ्यमा गम्भीर असर पार्ने रङ्ग मिसाएर बिरयानी खुवाउने नेपालगन्जका उमरलाई ६ महिना कैद !

    • स्वास्थ्य पेज

  • ७ भाद्र २०८२, शनिबार

नेपालगन्जः स्वास्थ्यमा गम्भीर असर पार्ने रङ्ग मिसाएर उपभोक्तामाथि अपराध गरेको भन्दै एक जना व्यवसायीले कैद सजाए पाएका छन् । बिरयानी, कवाब र शोर्मा लगायतका खाने कुरामा अखाद्य हानिकारक कोलटार रङ्ग मिसाउने तथा फोहोर ठाउँमा मासु भण्डारण गर्ने गरेको भन्दै होटल व्यवसायी मोहम्मद उमरलाई जिल्ला अदालत बाँकेले एक लाख रुपैयाँ जरिवाना र ६ महिनाको कैद सजाय सुनाएको हो ।

गत वर्ष २०८१ जेठ ५ गते बिसमिल्ला होटलका सञ्चालक मोहम्मद उमर साइ विरुद्द जिल्ला अदालत बाँकेमा मुद्दा दायर गरेको थियो ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्ज, बाँकेले नेपालगन्ज उप-महानगरपालिका वडा नं. ११ स्थित बिसमिल्ला होटलका सञ्चालक साइविरुद्द मुद्दा दायर भएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्ज, बाँकेका खाद्य निरीक्षक रामहरि लामिछानेद्धारा दायर मुद्दामा जिल्ला अदालत बाँकेका न्यायधीश केशवराज चपाईको ईजलाशले फैसला सुनाउँदै प्रतिवादीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ४२ (१) (ख) बमोजिम ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको हो ।

सो होटलको स्थलगत अनुगमन निरीक्षण गर्दा बिरयानी पकाउने ठाउँ खुला रहेको, शौचालयसँग जोडिएको, अत्यधिक फोहोर अवस्था रहेको, झिङ्गा भन्केको पाइएको, फ्रिजमा अत्यन्त फोहोर (दूषित) अवस्थामा मासु भण्डारण गरेको, प्लाष्टिकका भाडामा खानेकुरा (प्याज, राइता, ब्रेडक्रम, चिकन) भण्डारण गरेको, पकाएर खाने खाना बिरयानी र कवाफमा कोरटार रङको प्रयोग गरेको पाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।

  • ७ भाद्र २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech