काठमाडौंः गण्डकी प्रदेश सरकारले क्यान्सर उपचारमा संघीय सहयोग बाहेक थप एक लाख रुपैयाँ सहायता दिने भएको छ। देशका ६ अस्पतालमा उपचार गर्ने क्यान्सर बिरामीले गण्डकी प्रदेश सरकारबाट थप एक लाख रुपैयाँ सहायता प्राप्त गर्ने भएका छन् । संघीय सरकारले क्यान्सरका बिरामीलाई दिने सुविधानका अतिरिक्त गण्डकीले सम्झौता गरेका जुनसुकै ६ अस्पतालमा उपचार गर्ने क्यान्सरका बिरामीले थप एकलाख उपचार सुविधा प्राप्त गर्ने भएका हुन् ।
अब यो सेवा काठमाडौंको कान्ति बाल अस्पतालबाट पनि दिइने भएको छ । गण्डकी प्रदेशका बालबालिकाहरुलाई प्राणघातक रोग क्यान्सर लागेमा सोको उपचारको लागि कान्ति बाल अस्पताल महाराजगञ्जसँग सम्झौता भएको हो । यसअघि गण्डकीले देशका अन्य ५ अस्पताल बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, वीर अस्पताल,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल र निजामती कर्मचारी अस्पताल बाट पनि क्यान्सरका विरामीलाई थप सहायता उपलब्ध गराउँदै आएको छ ।
क्यान्सर उपचारको लागि संघीय सरकारले उपलब्ध गराउने सहयोग रकमका अतिरिक्त गण्डकीले थप एक लाख रकम उपलब्ध गराउने गरी सम्झौता गरिएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए । कान्ति बाल अस्पतालसँग सम्झौता गरेर गण्डकी प्रदेशको क्यान्सर रोग उपचार सहायता कार्यविधि २०८२ समेत कार्यान्वयनमा ल्याइएको स्वास्थमन्त्री पाठकले जानकारी दिए ।
अब गण्डकी प्रदेश स्थायी ठेगाना भएका बालबालिकामा क्यान्सर रोग पत्ता लागी कान्ति बाल अस्पतालमा उपचाररत रहेको अवस्थामा गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका तर्फबाट थप १ रुपैयाँ बराबरको आर्थिक सहायता उपलब्ध हुने छ । सबै प्रक्रिया विद्युतीय माध्यमबाट सम्पन्न हुने भएकोले गण्डकी प्रदेशको उक्त सेवा प्राप्त गर्नका लागि बिरामीले थप कुनै कागजात पेश गर्नुपर्ने छैन ।