पश्चिम नेपालका एक्ला इन्टरभेन्सनल रेडियोलोजिष्ट, जसले गर्छन् सञ्जिवनीमा बिना चिरफार उपचार

यो नयाँ आधुनिक सुपरस्पेसलाइजेसन प्रविधि हो । जहाँ बिना चिरफार सहज उपचार गरिन्छ ।


    • स्वास्थ्य पेज

  • ५ भाद्र २०८२, बिहीबार

नेपालगन्जः नेपालगन्जस्थित सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेसले इन्टरभेन्सनल रेडियोलोजी पद्धतिबाट उपचार सेवा प्रदान गर्दै आएको छ । यो नयाँ आधुनिक सुपरस्पेसलाइजेसन प्रविधि हो ।

जहाँ बिना चिरफार सहज उपचार गरिन्छ । पश्चिम नेपालका एक्ला इन्टरभेन्सनल रेडियोलोजिष्ट डा.रितेश कुमार कनोडियाले सञ्जिवनीसंगै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा पनि इन्टरभेन्सनल रेडियोलोजी पद्धतिबाट बिरामीलाई सेवा दिँदै आएको बताए ।

उनले भने–‘यो हरेक रोगको सहज उपचार हो । शल्यक्रियाको विकल्पमा इन्टरभेन्सनल रेडियोलोजी अत्यन्तै उपयोगीपूर्ण छ ।’ रेडियोलोजीको काम सिटी, एमआरआई, अल्ट्रासाउन्ड, एक्स–रे प्रविधिको माध्यमबाट रोगको पहिचान गर्नु हो ।

उनले भने–‘यी माध्यमबाट पहिचानसहितको उपचार गर्ने पद्धतिलाई इन्टरभेन्सनल रेडियोलोजी भनिन्छ ।’ बिरामीको रक्तनलीको समस्या र शरीरको कुनै पनि भागमा आउने गाँठागुठीको पहिचान गरी उपचार गरिन्छ । यो प्रविधि ट्युमरदेखि नसा अवरोधसम्म धेरै जटिल शल्यक्रियामा अत्यन्तै प्रभावकारी देखिएको डा.कनोनिया बताउँछन् ।

‘कुनै कारणवश शरीरको कुनै भागको नसा फुटन सक्छ । जसले रक्तसञ्चारको कार्यमा अवरोध गर्छ । यो पद्धतिले बन्द भएको नसा खोल्ने र फुटेको नसालाई मर्मत गर्ने काम गर्छ । टाउकोमा होस् वा शरीरका अन्य भागमा गुच्छा परेर बसेका नसालाई सुल्झाउने काम पनि हामीले सञ्जिवनीमा सफलतापूर्वक गर्दै आएका छौं’–डा.कनोडियाले भने ।

पश्चिम नेपालका एक्ला इन्टरभेन्सनल रेडियोलोजिष्ट डा.रितेश कुमार कनोडिया

शरीरमा सानो प्वाल बनाएर एक्स–रे, यूएसजी, सिटिस्क्यान वा फ्लोरोस्कोपी जस्तो इमेजहरुबाट शरीरको अवस्थालाई हेर्दैै विभिन्न पातलो तार र क्याथेटर तथा आवश्यक उपकरण छिराएर यो शल्यक्रिया गरिन्छ । ‘क्याथेटर (टयुब) र तार इन्टरभेन्सन पद्धतिमा प्रयोग गरिने उपकरण हो ।

तारले बाटो पत्ता लगाई क्याथेटर छिराइन्छ । जसको माध्यमबाट नसा खोल्ने र बन्द गर्ने काम गरिन्छ ।’ टाउकोदेखि खुट्टासम्म जति पनि समस्या छन्, त्यसमा कुनै न कुनै हिसाबले इन्टरभेन्सनल रेडियोलोजी जोडिएकै हुन्छ । त्यसैले नसाको माध्यमबाट शरीरको समग्र अंगको समस्याको उपचार इन्टरभेन्सनल रेडियोलोजीले सम्भव गरादिन्छ ।

शरीरमा देखिएका धेरैजसो ट्युमर पछि गएर क्यान्सरमा परिणत हुने जोखिम बढी हुन्छ । यस्तोमा इन्टरभेन्सनल रेडियोलोजीको माध्यमबाट यस्ता ट्युमरको उपचारपूर्व रोग पत्ता लगाउने र त्यसको जटिलताबारे पहिचान गरी उपचार गर्ने काम अहिले सञ्जिवनीमा भइरहेको डा. कनोडिया बताउँछन् । ठूलो चिरफार गर्न नपर्ने र कुनै अंगलाई मात्र लक्षित गर्दै उपचार गर्न सकिने भएकोले बिरामीलाई लामो समय अस्पताल बस्न नपर्ने उनको भनाइ छ ।

सरकारी संस्थामा यसको दरबन्दी नै छैन । लगानी धेरै लाग्ने हुँदा प्राय निजी अस्पतालले पनि लगानी गर्न सकेका छैनन् । तर विशिष्टिकृत सेवा प्रदान गर्दै आएको सञ्जिवनी कलेजले भने इन्टरभेन्सनल रेडियोलोजी पद्धतिबाट पनि बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

  • ५ भाद्र २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech