डोल्पा जिल्ला अस्पतालमा कृष्ण नन्दन मेहता फार्मेसी शाखा प्रमुखको रुपमा कार्यरत छन् । उनले विगत ३१ महिनादेखि विकट डोल्पा अस्पतालबाट सेवा दिँदै आएका छन् । प्रदेश लोक सेवा आयोगबाट २०७९ पुषमा सिफारिस भएका फार्मासिष्ट मेहता अस्पतालको फार्मेसी सुधारमा मात्रै लागेका छैनन् आमनागरिकले सर्वसुलभ र गुणस्तरीय औषधिको उपभोग गर्न पाउनु पर्छ भन्ने संकल्पसहित कार्ययोजना नै बनाएर अगाडि बढिरहेका छन् ।
फार्मेसीबाट निः शुल्क औषधिहरु कडा नियन्त्रणका साथ सहि र किफायती तरिकाले वितरण गरी स्टक आउट हुनबाट बचाउनुको साथै सः शुल्क औषधि तथा औषधिजन्य सामग्रीहरुको उचित परामर्श सहित अधिकतम खुद्रा मूल्य भन्दा कममा बिक्रि वितरण गर्दै आएका छन् । फार्मेसी अस्पतालको मुख्य आयस्रोत मध्येको एक हो ।
मेहताले कमाण्ड सम्हालेपछि फार्मेसीले लय समातेको छ । मेहताको नेतृत्वमा १० देखि ५ बजे सम्म र बाँकी समय अनकल डिउटी गर्ने गरी २४ सै घण्टा नयाँ भवनबाट फार्मेसी सञ्चालन भईरहको छ। उनी एक्लैले अस्पतालबाट सेवा दिँदै आएका छन् । डोल्पा अस्पतालको फार्मेसीका विभिन्न आयामबारे उनै मेहताले स्वास्थ्य पेजलाई अनुभूति बाँडेका छन् ।
के हो फार्मेसी ?
फार्मेसी भनेको औषधिहरूको अध्ययन, उत्पादन, तयारी, भण्डारण, बिक्री वितरण, निगरानी एवंम् व्यवस्थापन तथा समुचित प्रयोग गर्ने पेसा हो । यसको मुख्य उद्देश्य भनेको औषधिहरूको सुरक्षित, प्रभावकारी, र किफायती प्रयोग सुनिश्चित गर्नु हो। फार्मेसीले स्वास्थ्य विज्ञान र रसायनिक विज्ञानलाई जोड्ने एक बहुविध विज्ञानको रूपमा कार्य गर्दछ।औषधिको उत्पादन, तयारी, भण्डारण, बिक्री वितरण, निगरानी एवम् व्यवस्थापन तथा समुचित प्रयोग गर्ने कार्यहरुमा दक्षता हासिल गरेका विज्ञ जनशक्तिलाई फार्मासिस्ट भनिन्छ । फार्मासिस्टको मुख्य काम औषधि तथा औषधिजन्य सामग्रीहरूको निर्माण र प्याकेजिङ, वितरण, गुणस्तर नियन्त्रण, बिरामी तथा अन्यलाई औषधिको प्रयोगका बारे उचित सल्लाह र परामर्श दिने, औषधि सम्बन्धीको खोज तथा अनुसन्धानमा सहयोग गर्ने, निर्माण गरिएको औषधिको नीति र मापदण्डहरूको पालना गर्ने, फार्मेसी शिक्षा र प्रशिक्षणको व्यवस्था गर्ने पनि समावेश गरिन्छ । फार्मासिस्टले चिकित्सकसँग मिलेर औषधिहरूको उपयुक्तता र प्रभावकारिता सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निभाउँछन्।
फार्मेसीको स्थापना र हालको अवस्था
स्वास्थ्य सेवा प्रभावकारी रूपमा सबैको पहुँच सुनिश्चित गर्नका लागि फार्मेसी विषयका दक्ष जनशक्ति मार्फत स्वास्थ्य संस्थाहरुबाट आफ्नै फार्मेसी सेवा सञ्चालन गरी बिरामी तथा सेवाग्राहीहरुलाई सुलभ एवम् गुणस्तरीय सेवा पुर्याउन सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ को दफा ४५ को अधिकार प्रयोग गरि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ बमोजिम ठूली भेरी नगरपालिका वडा नम्बर ३ दुनै अवस्थित डोल्पा जिल्ला अस्पताल, डोल्पामा इति सम्बत् २०७३ साल माघदेखि पुरानो भवनमा अस्पताल फार्मेसी सेवाको सुरुवात भएको थियो तर तत्कालीन फार्मेसीबाट २४ सै घण्टा नियमित रूपमा सेवा प्रवाह भइरहेको थिएन ।
विश्व स्वास्थ्य संगठनको मान्यता अनुरुप बिरामीहरुका लागि जनसुरक्षित, असरयुक्त, गुणयुक्त, लागत प्रभावी उत्तम रहेको औषधिको छनौट, औषधिको उपयोग सम्बन्धी नीति तथा अस्पताल फर्मुलरीको निर्माणका लागि स्वास्थ्य सेवा व्यवस्थापक, चिकित्सकिय विभाग, नर्सिङ, प्रशासन, लेखा, विभागीय ईन्चार्ज र फार्मेसी शाखा प्रमुख रहने गरी ड्रग एण्ड थेराप्युटिक कमिटी (DTC) मार्फत औषधि सम्बन्धि कार्यहरु हुदै आएको छ। जसमा अस्पताल फार्मेसी प्रमुखले सदस्य सचिबको भूमिका निर्वाह गर्दछ।
सेवा र सुबिधा
अस्पताल फार्मेसीबाट नेपाल सरकारले तोकेको ९८ प्रकारका नि: शुल्क औषधिहरु, स्वास्थ्य बीमामा आबद्ध बिरामी, आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम, ओसिएमसी, कैदी, ज्येष्ठ नागरिक, गरिब तथा अति विपन्न बिरामीहरुका लागि सामाजिक सुरक्षा इकाई मार्फत सोधभर्ना हुने गरी नि: शुल्क तथा स: शुल्क औषधि तथा औषधिजन्य सामग्रीहरुको भण्डारण, बिक्री र वितरण औषधि ऐन २०३५ र औषधि दर्ता नियमावली २०३८ अनुसार हुदै आएको छ । साथै, नियमन निकायमा दर्ता भएका नि: शुल्क तथा स:शुल्क औषधि तथा औषधिजन्य सामग्रीहरुको Bahmni EHR & Oddo नामक सफ्टवेयर माध्यमबाट व्यक्तिगत प्रिस्क्रिप्सन अर्डर प्रणाली र फ्लोर (वार्ड) स्टक Individual Prescription Order System & Floor Ward Stock System) प्रणालीबाट भण्डारण, बिक्री र वितरण हुदै आएको छ ।

डोल्पा जिल्ला अस्पताल ।
प्रमुख उपलब्धिहरु
अस्पताल फार्मेसीमा स्टक मौज्दात भएका औषधि तथा औषधिजन्य सामग्रीहरुको अस्पतालको सबै शाखामा अत्यावश्यक भएमा समयमै आपूर्ति हुने व्यवस्था गरिएको छ, जसले गर्दा सेवा प्रवाहमा निरन्तरता कायम राख्न मद्दत गरेको छ । औषधि तथा औषधिजन्य सामग्रीहरु सम्बन्धी नीति, छनोट र उपयोगमा गुणस्तरीय निर्णय लिनका लागि ड्रग एण्ड थेराप्युटिक कमिटी (Drug and Therapeutics Committee) लाई सक्रिय बनाई यसको नियमित बैठक गरी निर्णय कार्यान्वयन गरिदै आएको छ ।
औषधि तथा औषधिजन्य सामग्रीहरुको आपूर्ति र व्यवस्थापन सार्वजनिक खरिद ऐन, २०६३ तथा सो अन्तर्गत बनेको नियमावली २०६५, लाई पालना गर्दै टेण्डर तथा कोटेसन प्रक्रिया मार्फत पारदर्शी ढंगले सम्पन्न हुदै आएको छ। औषधि तथा औषधिजन्य सामग्रीहरुको अभिलेख व्यवस्थापन प्रणालीमा समेत सुधार ल्याइएको छ, जसबाट मौज्दात, बिक्री, वितरण र खरिद सम्बन्धी कार्यहरू अझ सहज, सु-सूचित र प्रभावकारी बनेको छ ।
आ.व. २०८१/८२ को जेठमा स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतको आयोजनामा फार्मासिष्ट कृष्ण नन्दन मेहतालाई Good Pharmacy Practice (GPP) & Good manufacturing Practice (GMP) सम्बन्धी तालिम पनि प्रदान गरिएको छ, जसले गर्दा गुणस्तरीय फार्मेसी सेवामा अझ सुधार आएको छ।
त्यसैगरी गत आ.व. २०८१/८२ मा औषधिको समुचित प्रयोग र एन्टिमाइक्रोबियल प्रतिरोधी गतिविधि सम्बन्धी अभिमुखिकरण कार्यक्रम विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत स्वास्थ्यकर्मी, फार्मेसी व्यावसाय, बुद्धिजीवि, पत्रकार लगायतको सहभागिता सम्पन्न गरी जनचेतना फैलाउने काम गरियो, जसले गर्दा औषधिको उचित प्रयोगमा मद्दत पुग्नुको साथै बिरामीलाई उपचार खर्चमा घटौती हुने आशा छ ।
साथै, गत आर्थिक वर्षमा कर्णाली टेक्निकल ईन्स्टिच्यु, जुम्लाबाट आएका १ जना डिप्लोमा इन फार्मेसी (D Pharmacy) अध्ययनरत विद्यार्थीले यहाँ सफलता पुर्वक ईन्टर्नसिप सम्पन्न गरेका थिए, जसले गर्दा शिक्षण तथा सिकाइको अभ्यासलाई पनि सुदृढ बनाएको छ ।हाल अस्पताल फार्मेसीमा स्वास्थ्य बिमा सेवा समेत समेटिएको स-शुल्क तथा नि: शुल्क सेवा अन्तर्गत जम्मा २३२ प्रकारका औषधि तथा औषधिजन्य सामग्रीहरु उपलब्ध छन र यो संख्या क्रमशः वृद्धि गर्ने लक्ष्य सहित कार्य भइरहेको छ ।

अस्पताल फार्मेसीबाट सेवा लिँदै सेवाग्राही ।
नीति नियम
स्वास्थ्य नीति २०७१(२०७६) र अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ अनुसार अस्पतालले आफ्नै स्वामित्वको फार्मेसी सञ्चालन गरी दक्ष फार्मेसी जनशक्ति मार्फत अस्पताल फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने भनिएता पनि दक्ष फार्मेसी जनशक्ति बिना नै लामो समयसम्म फार्मेसी सञ्चालनमा रहेको छ। हालसम्म कर्णाली प्रदेशका प्रत्येक जिल्ला अस्पतालमा १ जना फार्मेसी सुपरभाइजरको दरबन्दी रहेको छ । के साचिकै १ जनाले २४ घण्टा सेवा दिन सम्भव छ ? यो चुनौतीको विषय रहेको छ । यदि सकिँदैन भने प्रदेश सरकार र संघीय सरकार तथा सरोकारवाला निकाय किन मौन छन् ? कर्णाली प्रदेश सरकारले अस्पताल फार्मेसीबाट गुणस्तरीय सेवा प्रवाहको निमित्त कर्मचारीहरुको लागि प्रयाप्त तालिम तथा सम्मेलन नगराउनु पनि ठुलो समस्याको विषय रहेको छ जसका कारण कर्मचारीहरुको वृत्तिविकास नहुने देखिन्छ ।
फार्मेसी सेवा सञ्चालनमा व्यवहारिक चुनौतीहरु
बजेटः सर्व प्रथम कर्णाली प्रदेश सरकारबाट औषधि तथा औषधिजन्य सामग्रीहरु खरिद गर्ने बजेट सिमित हुनु ।
जनशक्तिः फार्मेसी सेवा सञ्चालनमा जनशक्तिको अभावले सेवा प्रभावकारीतामा असर पुगेको देखिन्छ। एक्लै जनशक्ति भएर २४ सै घण्टा सेवा दिनुपर्ने हुँदा कार्य दबाब उच्च रहेको छ।
स्वास्थ्य बिमाः स्वास्थ्य बिमाको रकम समयमै सोधभर्ना नहुनुको कारण अत्यावश्यक सबै औषधि तथा औषधिजन्य सामग्रीहरु खरिद गर्न कठिनाइ भइरहेको छ ।
भौगोलिक बिकटताः डोल्पा भौगोलिक बिकटताले कतिपय दिन बिद्दुत, नेटवर्क र नेटको समस्याले समयमै बिमा क्लेम गर्न अवरोध भइरहेको हुन्छ ।
ढुवानीः कठिन भू-परिवेशका कारण औषधि ढुवानीमा ढिलाई हुनुको साथै बाटो ग्राइबेल भएकोले औषधि टुट्ने र फुट्ने गरेको पाईन्छ भन्ने हवाईमार्गबाट ढुवानी गर्दा लागत बढी लाग्ने गरेको छ।
न्यूनतम सेवा मापदण्डः अस्पताल फार्मेसी सेवाहरूमा न्यूनतम सेवा मापदण्ड (MSS) को मूल्याङ्कनमा २० ओटा विभिन्न शीर्षक अन्तर्गत ३७ ओटा उपशीर्षकहरू उल्लेख गरिएता पनि हालसम्म ६०-६५% मात्र परिपूर्ति भएको देखिन्छ।
निष्कर्ष
डोल्पा जिल्ला अस्पताल फार्मेसी सेवा स्वास्थ्य सेवा प्रणालीको मूल आधार हो । एक्लै जनशक्ति, सिमित स्रोत र साधनको बाबजुद पनि गुणस्तरीय सेवा प्रदान गरिएको छ तर अझ प्रभावकारी र गुणस्तरीय सेवा सुनिश्चित गर्न जनशक्ति थप, सः शुल्क औषधिहरुको संख्यामा वृद्धि, बिद्दुत र नेटको उपलब्धता, सफ्टवेयर सम्बन्धी तालिम, नियमन निकायबाट नियमित अनुगमन र निगरानीकरण गर्नु पर्ने देखिन्छ । अस्पताल फार्मेसीलाई जनताको सेवाको लागि प्रतिबद्ध निकायको रूपमा जनसमुदायमा परिचित गराउन समाजका हरेक शिक्षित, बुद्दिजिवि, पत्रकार, समाजसेवी, राजनीतिकर्मी र सचेत नागरिकहरूको समेत भूमिका हुन्छ ।