नेपालगन्जः बाँकेको नरैनापुर गाउँपालिका वडा नं.२ गंगापुरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सरको पहिचान, बाँझोपन र छालारोग सम्बन्धी निः शुल्क स्वास्थ्य शिविर गरिएको छ ।
शिविरमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.मन्जु बिसी र छाला रोग विशेष डा.अनिशा उप्रेती नेतृत्वको टिमले स्वास्थ्य चेकजाँच तथा परामर्श सेवा प्रदान गरेको थियो भने नरैनापुर स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र कुमार साह नेतृत्वको स्वास्थ्यकर्मीको टिमले सहजिकरण गरेको थियो ।
विकट नरैनापुरमा आर्थिकरुपमा कमजोर, मुस्लिम तथा मधेसी समुदायका महिलाहरु विभिन्न स्वास्थ्य समस्यासंग जुधिरहेका छन् । यो शिविरबाट ती समुदाय लाभान्वित भएका छन् ।
नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्वः सुशील कोइरालाको ८६ औं जन्मजयन्तीको अवसरमा नेपाली काँग्रेस क्षेत्र नम्बर १ को आयोजना, नरैनापुर गाउँपालिकाको सहयोग र नेपाल परिवार नियोजन संघ तथा एचसीआरसी अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।
शिविर उद्घाटन गर्दै काँग्रेस क्षेत्र नं.१ का सभापति पोषण केसीले महिलाहरुमा पाठेघरको मुखको क्यान्सर विकराल स्वास्थ्य समस्याका रुपमा रहेको बताउँदै त्यसको समयमै पहिचान गरेर निदानमा सहजता होस् भन्ने उद्देश्यले शिविर गरिएको बताए ।
कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्त्याक अहमद साहले पालिकाका महिलाहरुको लागि स्वास्थ्य शिविर अत्यन्तै उपयोगीपूर्ण रहेको बताए ।
यस्तै काँग्रेसका लुम्बिनी प्रदेश सदस्य इशाक जोलाहले ग्रामीण क्षेत्रमा आयोजना गरिएको शिविरबाट स्वास्थ्यको पहुँच नपुगेका स्थानीय लाभान्वित भएको बताए ।
काँग्रेसका क्षेत्रीय सदस्य नसरुद्दिन शेषले स्वागत गरेको उक्त कार्यक्रम पार्टीका नरैनापुर गाउँपालिकाका सभापति मेराज अहमद खाँको अध्यक्षतामा भएको क्षेत्रीय सचिव जयश्वर पौडेलले जानकारी दिए ।