डा.कुमार शान शाहको नेतृत्वमा फड्को मार्दै एचसीआरसी अस्पताल

विशेषगरी महिला डेडिकेटेड अस्पतालका रुपमा परिचित यस अस्पतालले पछिल्लो पटक आइभिएफ सेवालाई समेत भित्र्याएको छ ।


    • प्रियास्मृति ढकाल

  • २ भाद्र २०८२, सोमबार

नेपालगन्ज: पश्चिम नेपालमा यसैपनि स्वास्थ्यमा आमनागरिकको पहुँच कम छ । लुम्विनी प्रदेशका पहाडी जिल्ला, कर्णाली र सुदूरपश्चिममा अझैपनि मानिसहरु स्वास्थ्य सेवा पाउनबाट बञ्चित छन् । भुगोल, दक्ष चिकित्सक, भएका स्वास्थ्य संरचनामा पनि जनशक्ति नहुनु, उपकरण लगायतको अभाव त छदै छ । नागरिकको चेतनाको स्तरपनि कमजोर छ ।

पहाडी तथा हिमाली जिल्लामात्र नभएर सुगम जिल्ला भनिएपनि बाँके, बर्दिया, दाङ लगायतका भारतीय सीमासँग जोडिएका वस्ती हुन् वा मधेशी तथा मुस्लिम समुदायका नागरिक नै किन नहुन् उनीहरुको पनि स्वास्थ्यमा खासै पहुँच छैन । नजिकै स्वास्थ्य संस्था छन् । तर स्वास्थ्य संस्थामा गएर नियमित चेकजाँच गराउनु पर्छ भन्ने सोचको विकास भएको छैन । त्यसमा झन महिलाहरुको स्वास्थ्य समस्या एक हिसावले भन्ने हो भने विकरालजस्तै छ । पाठेघरको मुखको क्यान्सरदेखि स्तन क्यान्सर, आङ खस्ने लगायतका स्वास्थ्य समस्याहरु ग्रामीण क्षेत्रमा विकरालजस्तै छन् ।

यी स्वास्थ्य समस्यासँग नजिकबाट साक्षात्कार गरेका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.कुमार शान शाह लाग्थ्यो महिलाहरुलाई मात्रै उपचार दिनेगरी छुट्टै अस्पताल निर्माण गर्न पाए हुन्थ्यो । त्यसले मूर्तरुप लियो २०७२ सालतिर । २५ शैयाको एचसीआरसी (हेल्थ केयर अस्पताल तथा प्रसूति गृह) त्योभन्दा पहिला हेल्थ केयर सेन्टरका नाममा बाँकेको नेपालगन्ज, दाङको लमही, सल्यानको सल्लीबजार, बर्दियाको राजापुर र कैलालीमा क्लिनिकल सेवा प्रवाह भइरहकै थिए । नेपालगन्ज र लमहीबाहेक अन्य क्लिनिकल सेवा वन्द भइसकेका छन् । नेपालगन्जमा भने २०७२ सालपछि एचसीआरसी अस्पतालका रुपमा यसलेसेवा प्रवाह गर्दै आएको छ ।

स्वास्थ्य पेजका लागि पत्रकार प्रियास्मृति ढकालसँग कुराकानी गर्दै डा.कुमार शान शाह

२०८१ सालमा लुम्विनी प्रदेश सरकारबाट सय शैयाको अनुमति प्राप्त गरेको एचसीआरसी अस्पातलले आफ्नै अत्याधुनिक भवनबाट अहिले विशिष्टिकृत सेवा दिँदै आएको छ । विशेषगरी महिला डेडिकेटेड अस्पतालका रुपमा परिचित यस अस्पतालले पछिल्लो पटक आइभिएफ सेवालाई समेत भित्र्याएको छ । ‘आइभिएफ सेवा प्रदान गर्ने गरि सबै तयारी पूरा भइसकेको छ अस्पतालका व्यवस्थापक समेत रहेका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.शाहले भने–‘केवल मन्त्रालयको अनुमतिको प्रतिक्षामा छौं ।’ आइभिएफ सेवाका लागि डा.मञ्जु विसी शाहको टिम तयार छ।

‘विशेष गरी आइभिएफ सेवा लिनका लागि भारत तथा काठमाडौं जानुपर्ने बाध्यता छ डा. शाह भन्छन्–‘सन्तानको रहर पूरा गर्ने गरी हाम्रा सेवाहरुलाई विस्तारमात्र गरिएको छैन स्तरीय पनि बनाइएको छ ।’ प्रसूति सेवासँगै नवजात शिशुको स्वास्थ्य समेत जोडिएर आउने भएकाले यसलाई पनि सर्वसुलभ र स्तरीय बनाउन बालरोग विशेषज्ञसहितको एनआइसीयू सेवा पनि संचालनमा रहेको छ । ‘अस्पतालमा आइसकेपछि सकेसम्म कुनैपनि बिरामी फर्किएर अन्यत्र जान नपरोस भन्ने उद्देश्यले फिजिसियन, अर्थो, डर्माटो, गाइने लगायतको सेवा समेत प्रवाह भइरहेको छ’–उनले भने ।

यस्तै २४ घन्टा इमर्जेन्सी अप्रेसन सुबिधा, दूरबिन प्रबिधि (ल्याप्रोस्कोपी) बाट हुने शल्यक्रिया, मिर्गौला तथा पित्तथैलीको पत्थरी, मुत्रनली, पिसाब थैली र प्रोस्टेट, पाइल्स, फिस्टुला, हाइड्रोसिल तथा हर्निया, महिलाहरुको स्तनमा आउने गाँठगुठी, पाठेघर तथा सिस्टहरुको समेत शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ । इन्टरनेशलन मापदण्डमा बनेको यो अस्पताल अत्यन्तै सुविधा सम्पन्न छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं.१० गणेशमान चोकदेखि करिव तीन सय मिटर पूर्व दक्षिण साइडमा १६ कठ्ठा क्षेत्रफलमा सञ्चालनमा रहेको एचसीआरसी अस्पतालले आफुलाई रेफरल सेन्टरकै रुपमा विकास गर्दै लगेको छ । करिव ८० करोडको लगानी भइसकेको यो अस्पतालमा एक सयको हाराहारीमा कर्मचारी छन् ।

डा.शाहको सपना छ अस्पतालमा छिट्टै क्याथल्याव समेत सञ्चालन गर्ने । तर स्थायी जनशक्तिको सुनिश्चिता नहुँदा आट गर्न सकेका छैनन् । ठूलो लगानीमा खोलिएका कर्पोरेट अस्पतालहरुमा स्थानीय विशेषज्ञ चिकित्सक नहुँदा भने समस्या झेल्दै आएका छन् । ‘हामीसँग स्थानीय चिकित्सक आवश्यक हो । किनकि स्थानीय चिकित्सक दीर्घकालीन रुपमा यही नै बसेर सेवा दिन्छन् । बाहिरबाट चिकित्सकहरु ल्याउँदा स्वभाविक महंगो पर्छ । त्यसको मार फेरि बिरामीले नै खेप्नु पर्ने हो ।

हामीसँग क्याथल्याव सेवा दिने संरचना छ । तर चिकित्सकको स्थायित्व सुनिश्चिता भएको छैन । जसले गर्दा लगानी गर्न पनि जोखिम छ’–डा शाह बताउँछन् । निजी क्षेत्रले जुन सुकै क्षेत्रमा लगानी गरेपनि सरकारी नीतिगत समस्या झेल्नु परेको उनी अनुभव सुनाउँछन् । अस्पतालजस्तो संवेदनशील क्षेत्रलाई वर्सेनि नवीकरण गर्नेदेखि त्यसका प्रक्रिया पूरा गर्न असाध्यै झन्झटिलो बनाइएको उनले बताए ।

को हुन् डा. कुमार शान शाह ?

डा.कुमार शान शाह जाजरकोट सदरमुकाम खलंगामा २०३३ सालमा जन्मिए । जमिनदार परिवारमा जन्मिएका उनी कक्षा ८ सम्म होस्टेलमै बसेर काठमाडौंमा पढे । कक्षा ४ सम्म बालविद्या र ८ कक्षासम्म ज्ञानमन्दिरमा । त्यसपछि भने उनी गृह सदरमुकाम खलंगा फर्किए । कक्षा ९ र १० त्रिभुवन मावि पढें । २०४९–२०५० साल (त्यतिबेला एसएलसी दिएको अर्को वर्षमात्रै नतिजा प्रकाशित हुन्थ्यो) सेकेन्ड डिभिजनमा एसएलसी उर्तीण गरे । डा.शाहको चाहना पाइलट बन्ने थियो । तर बुवा बलराम शाह छोरालाई डाक्टर बनाउन चाहान्थे । बलराम राजनीतिज्ञ थिए ।

छोरा डाक्टर भएर आएपछि गाउँघरमा सेवा गर्छ र आफुलाई राजनीति गर्न सहज हुन्छ भन्ने लागेर होला बलरामले छोरालाई डाक्टर नै पढाउन चाहे । डाक्टर नै पढाउने बुवाको चाहनालाई कुमारले इन्कार गर्न सकेनन् । उनी १६ वर्षमै डाक्टर पढ्न रसिया गए । त्यतिबेला एसएलसी गरे सिधैं एमबीबीएस पढ्न पाइन्थ्यो । कोर्ष भने ७ वर्षको हुन्थ्यो । उनी २०५८ सालमा एमबीबीएस पूरा गरेर नेपाल फर्किए । वीर अस्पताल काठमाडौंमा ६ महिना प्रि–इन्टर्नसिप गरे । थप दुई वर्ष इन्टर्नसिपका लागि भेरी अस्पतालमा आए । त्यसपछि भने उनी एमडी गर्दाको अवधि बाहेक भेरी अस्पतालमा रहेर पश्चिम नेपालका हजारौं बिरामीलाई सेवा दिए ।

२०६४ सालमा रसियाबाटै एमडी गरेका उनी पश्चिम नेपालमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रुपमा परिचित छन् । कुमारका दुई आमामध्ये उनी एक्ला छोरा हुन् । प्रेमाका दुई छोरी छन् । त्यस्तै अर्की आमा डा.प्राणबाट एक भाइ र एक बहिनी छन् । दुवै डाक्टर छन् । कुमारका श्रीमति र दुई छोरा छन् । श्रमति मञ्जु शाह । पेशाले चिकित्सक हुन् । उनी पनि प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् । दुई दशकबढी भेरी अस्पतालमा सेवा गरे । केही महिना अघि उनले भेरी अस्पतालबाट राजीनामा दिइसकेका छन् । अहिले उनी आफ्नै लगानीमा सञ्चालनमा रहेको एचसीआरसी अस्पतालमा पूर्णकालीन सेवामा छन् ।

उनी भन्छन्–‘स्वास्थ्य सेवा पाउनकै लागि कुनै पनि नागरिक भारत तथा काठमाडौं जान र महंगो आर्थिक भार थेक्न नपरोस् भन्ने मेरो उद्देश्य हो । त्यसका निमित्त यो अस्पताललाई स्तरवृद्धि गर्दै सर्वसुलभ सेवा प्रवाह गर्दै स्वास्थ्यमा आमनागरिकको पहुँच सुनिश्चित गर्नु हो ।’

कसरी बने स्त्रीरोग विशेषज्ञ ?

डा.कुमार स्त्रीरोग विशेषज्ञ पनि बन्न चाहेका थिएनन् । सर्जनकै रुपमा आफुलाई स्थापित गराउन चाहान्थे । संयोग नै भनौं भेरी अस्पताल र मेरी स्टोपमा डाक्टर माग भयो । उनले आवेदन दिए । दुवै तिर नाम निस्कियो । मेरी स्टोपमा दुई वर्षको लागि थियो । साथीहरुले पनि सहयोग गरे । भेरीमा राती र मेरी स्टोपमा दिउँसो । यसरी उनले डिउटी मिलाए । उनले महिलाहरुका स्वास्थ्य समस्या नजिकबाट बुझ्दै गए । विस्तारै उनलाई बिरामीहरुले पनि चिन्दै गए । र, स्त्रीरोग विशेषज्ञ नै बन्ने सोच आयो । ‘पाइलट बन्न चाहान्थे डाक्टर बने, स्त्रीरोग विशेषज्ञ बन्दैन भनेको थिए बने उनी भन्छन्–‘कहिलेकाहीँ परिस्थिति आफ्नो नियन्त्रणमा हुँदैन । तर म जे छु खुसी र सन्तुष्ट छु ।’

वेहोस गराउने डाक्टरले नै आस मारेका बिरामी बाँचेपछि…

करिव १०–१२ वर्षअघि १८–१९ वर्षकी महिला भेरी अस्पतालको प्रसूति वार्डमा आइन् । पाठेघरमा बस्नु पर्ने बच्चा नलीमा बसेको रहिछ । र, नली नै फुटेर रक्तश्राव भइरहेको थियो । यस्तो केसमा रगत बाहिर देखिदैन । तर आन्तरिक रक्तश्राव भने तीब्ररुपमा भइरहेको हुन्छ । उनको हेमोग्लोबिनको मात्रा केवल दुई मात्रै थियो । शल्यक्रिया नगरि नहुने । एक हिसावले भन्ने हो भने शल्यक्रिया नगरे पनि मृत्यु हुने गरे पनि मृत्यु हुने केस थियो त्यो ।

किनकि शल्यक्रियाका लागि वेहोस पार्नुपथ्र्यो । एनेस्थेसियामा डा.कृष्ण आचार्य थिए । एनेस्थेसियोलोजिष्ट डा.आचार्यले बेहोस गरे बिरामी होसमै नआउने भन्दै गराउनै मानेन् । डा.कुमारले कन्भिन्स गरे । बल्लतल्ल डा.कृष्ण सहमत भए । डा.कुमारलाई अहिलेपनि याद छ शल्यक्रिया गर्नु पूर्व बिरामीको आफन्तलाई पेपर सहमित लिइन्छ । तर त्यो केसमा भने उनले श्रीमानको भिडियो सहमित लिए । संयोग शल्यक्रिया सफल भयो । बिरामी बाँचे । त्यो केस उनी कहिल्यैं विर्सिन सक्दैनन् ।

२८ दिनसम्म शल्यक्रिया र ओपिडी एक्लै

डा.कुमार शान शाह अर्को घटना पनि विर्सन सक्दैनन् । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.कल्पना थापा र उषा शाहसँगै तालिमका लागि काठमाडौं गए । त्यो ५/७ दिनको मात्रै तालिम थियो । संयोग अर्को तालिम फेरि थपियो । २८ दिन उनीहरुलाई उतै बस्नु पर्यो । यो २८ दिन भेरी अस्पतालमा ओपिडी हेर्नेदेखि शल्यक्रिया र डिस्चार्ज गर्ने एक्ला बने डा.कुमार । ‘यो त अत्यन्तै दुखारी पेसा पो हो त उनी भन्छन्–‘२४ सैं घण्टा खटिनु पर्ने । कहाँ सजिलो छ ?’ त्यसबेला उनलाई असाध्यै गाह्रो भयो । तर त्यहीं २८ दिनले उनलाई पेसागत जीवनमा अब्बल र सफलमात्र बनाएन धैर्यता र सहनशिलता हुन पनि सिकायो । उनी भन्छन्–‘काममा खटिनु पर्छ भन्ने भावना मैले त्यहीबाट सिके ।’

  • २ भाद्र २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech