स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति स्थानीय तहमा कार्यान्वयन गर्न सुरु

    • स्वास्थ्य पेज

  • ३० श्रावण २०८२, शुक्रबार

नेपालगन्ज: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति स्थानीय तहमा कार्यान्वयन गर्न सुरु गरेको छ ।

लुम्विनी प्रदेशका १०९ वटै पालिकाका महिला तथा बालबालिका शाखा प्रमुखहरुलाई नेपालगन्ज बोलाएर रणनीतिको आवश्यकता, औचित्य र कार्यान्वयनका लागि संस्थागत संयन्त्रबारे जानकारी गराइएको मन्त्रालयलका शाखा अधिकृत टंक गौतमले जानकारी दिए ।

२०८० मा जारी भएको उक्त रणनीतिमा स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा महिला तथा बालबालिका शाखा सदस्य सचिव रहने गरी समन्वय समितिको परिकल्पना गरिएको छ । तर अहिलेसम्म धेरैजसो स्थानीय तहमा समिति बनेका छैनन् ।

महिला, दलित, आदिवासी, जनजाति, जेष्ठ नागरिक, सीमान्तकृत, अपांगता तथा यौनिक अल्पसंख्यक नागरिकहरुलाई स्वास्थ्यको मूलप्रवाहीकरणमा ल्याउन रणनीति कार्यान्वयनमा ल्याइएको मन्त्रालयका सहसचिव ऋषि आचार्यले बताए ।उनले भने–‘प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य अधिकार र आकास्मिक सेवा सुनिश्चित गर्न रणनीति स्थानीय तहमा पनि कार्यान्वयन जरुरी छ ।’

मन्त्रालयका शाखा अधिकृत गौतमले रणनीतिको उद्देश्य, प्राथमिकताका क्षेत्र, कार्यनीति लगायत समेटिएको कार्यपत्र र लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयका वरिष्ठ नर्सिङ प्रशासक इश्वरी केसीले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीतिमा समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए ।

अन्तरक्रिया कार्यक्रमको समापन सत्रलाई सम्वोधन गर्दै लुम्विनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले लुम्विनी प्रदेशले अव बनेको नीतिलाई कार्ययोजनामा लैजाने प्रतिवद्धता जनाइन् ।

स्वास्थ्य सेवाको पहुँचमा सरलता र सहजता काम गर्ने सवालमा रणनीति उपयोगीपूर्ण रहेको भन्दै सहभागिहरुले कार्यान्वयनमा सहजीकरणको प्रतिवद्धता जनाएको वरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत सुनालक्ष्मी कर्माचार्यले बताइन् । कार्यक्रममा सहभागि भएकाहरुलाई मन्त्रालयका उपसचिव प्रभप्रसाद सापकोटाले स्वागत गरेका थिए ।

  • ३० श्रावण २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech