नेपालगन्ज: चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस अध्ययनका लागि सिट संख्या बढाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको आयोगको बैठकले यसअघि तोकिएको सिट संख्यामा वृद्धि गर्ने निर्णय गरेको हो । जसअनुसार हालसम्म एक सय सिट रहेको एमबीबीएसको सिलिङ बढाएर एक सय ३० र ५० सिट रहेको बीडीएसलाई ६० पुर्याउने निर्णय भएको छ ।
बैठकमा सहभागी एक सदस्यले दिएको जानकारी अनुसार, मेडिकल कलेजहरूको पूर्वाधार, फ्याकल्टीसहितका मापदण्ड हेरी एमबीबीएसमा बढीमा १३० र बीडीएसमा ६० सिट दिने निर्णय भएको हो ।
‘मापदण्ड पूरा गरेका कलेजका हकमा मापदण्डअनुसार नै सिट संख्या तोकिने निर्णय भएको छ,’ ती सदस्यले भने ।निर्णय अनुसार, सबैभन्दा बढी १३० सिट पाउने मेडिकल कलेजहरूमा विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस पर्छन् ।
पोखराको मणिपाल शिक्षण अस्पतालले १२० सिट पाएको छ ।चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा. डा. गोविन्द केसीले मेडिकल कलेजको सिट र शुल्क वृद्धि नगर्न चेतावनी दिँदै आएका छन् । उनी लगातार चिकित्सा शिक्षा प्रणालीमा पारदर्शिता र पहुँचको पक्षमा आन्दोलन गर्दै आएका छन् ।