नेपालगन्जः बाँकेमा पछिल्लो समय औलो (मलेरिया)को आयातित केसहरु बढि देखिएको छ । स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकलपर्सन दुर्गा गौतमका अनुसार सबैभन्दा धेरै आयातित केसहरुको स्रोत भारत हो । विशेषगरी यसको असर बाँकेको नरैनापुरमा बढी परेको देखिएको छ । भारतको मुम्वई, चोरबजार, बढीमहला, भेन्डीबजारबाट औलोको केस आएका देखिन्छन् ।
‘समग्र पालिकामै औलोको प्रभाव छ उनी भन्छिन्–‘त्यसमा पनि वडा नं.२ र ३ बढी प्रभावित छन् ।’ यहाँका अधिकांश मानिसहरुको आउजाउ भारतको मुम्वई, चोरबजार, बढीमहला, भेन्डीबजारसँग छ । त्यसले पनि औलोको मुख्य स्रोत भारत बनेको हो । आर्थिक वर्ष २०८१–०८२ मा नरैनापुरमा मात्रै १८५ जनामा औलो देखिएको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०–०८१ म ५३ जनाले बढी हो । अघिल्लो आर्थिक वर्षमा १३२ जनामा औलो भेटिएको थियो ।
‘विशेषगरी भारतबाट फर्किनेको संख्या धेरै हुँदा त्यहाँ औलोका बिरामी बढी रहेकोले त्यसको प्रभाव हाम्रोमा पनि परेको हो फोकलपर्सन गौतम भन्छिन्–‘बाँके औलोको उच्च जोखिममै छ ।’ यससँगै यस बाँकेका अधिकांश युवाहरू जोखिमयुक्त तथा शारीरिक श्रमका लागि भारतका विभिन्न प्रदेश जाने गर्दा उनीहरूलाई औलोको संक्रमण पनि बढी रहने स्वास्थ्य अधिकारीहरू बताउँछन् । बाँकेमा २ वर्षयताको तथ्यांक हेर्ने हो भने केसहरु बढ्दै गइरहेको देखिन्छ । आर्थिक वर्ष २०८०–०८१ मा १६० केसहरु रहेका थिए भने २०८१–०८२ मा २६४ केस देखिएका छन् । यो अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा १०४ ले बढी हो । आर्थिक वर्ष २०८१–०८२ मा बाँकेका सबै पालिकामा औलोका केसहरु देखिएका छन् ।
जवकी २०८०–०८१ म जानकीमा औलोका केसहरु देखिएको थिएन । तर २०८१–०८२ मा भने २ वटा केसहरु फेला परेका छन् । यस्तै बैजनाथमा ८, डुडुवामा १३, खजुरामा ९, नेपालगन्जमा १०, कोहलपुरमा ९ र राप्तीसोनारीमा १० वटा केस फेला परेका छन् । कोहलपुरमा अघिल्लो आर्थिक वर्षको तुलनामा औलोको प्रकोप तीन गुणाले बढेको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा ३ वटा केस फेला परेका थिए । नेपालगन्ज र राप्तीसोनारीमा पनि दुई गुणाले औलोको केस बढेको तथ्यांकले देखाएको छ । सन् २०२५ सम्ममा नेपालमा स्थानीय औलोको संख्यालाई शून्यमा पुर्याउने लक्ष्य रहेपनि जिल्लामा औलोका बिरामी देखिनु चुनौतीपूर्ण रहेको गौतम बताउँछिन् ।
औलो निवारणका लागि स्थानीय केस शुन्य हुनुपर्छ भने लगातार तीन वर्षदेखि मृत्यु पनि शुन्य भएको हुनुपर्छ । तर बाँकेमा अघिल्लो आर्थिक वर्षमा डुडुवा गाउँपालिका–१ मा औलोबाट एक जना पुरुषको मृत्यु भइसकेको छ । त्यसैगरी २६४ जना नयाँ केस देखिएकोमा १० वटा केस स्थानीय छन् । जसका कारण बाँकेलाई औलो निवारण गर्न चुनौतीपूर्ण रहेको उनले बताइन् । बिरामीहरु सुरुमै सरकारी स्वास्थ्य संस्थामा चेकजाँच गराउन नआउनु, निजी क्लिनिक तथा अस्पतालहरुमा आफूखुसी जाँच गराउन जानु, आफूखुसी औंषधिको प्रयोग गर्नु र सिरियस अवस्थामा मात्र औलो रोगको परीक्षण गराउनुले पनि नियन्त्रणमा समस्या देखिएको उनको भनाइ छ ।
औलो रोकथामका लागि स्वास्थ्य कार्यालयले खोजपड्ताल, निःशुल्क झुल वितरण देखि विषादी छर्किनेसम्मका कार्यक्रम गर्दै आएको छ । औलोको बढी प्रभाव क्षेत्र मानिएको नरैनापुरमा छुट्टै ल्याव टेक्निसियन खटाइएको छ । औलो देखिएका बिरामीका परिवारको तीन दिन भित्र रगत संकलन गरेर परीक्षण गर्ने, तीन वर्षमा एक पटक झुल वितरण गर्ने, वर्षमा दुई पटक समुदायस्तरमा विषादी छर्किने लगायतका कामहरु गर्दै आएको गौतमले बताइन् ।
‘जोखिम क्षेत्रमा विषादीयुक्त झुल वितरण गर्ने, समुदायका सबैको रगत परीक्षण गर्ने तथा लामखुट्टे नियन्त्रणका लागि विषादी छिट्नेलगायतका कामहरु गर्दै आएको छौं’ उनले भनिन् । उनी अगाडि भन्छिन्–‘औलो रोकथामका लागि औलोको गुणस्तरीय सेवामा समुदायको पहुँच अभिवृद्धि, औलोको रोकथाम तथा महामारीमा तत्काल प्रतिकारात्मक कार्य गर्ने, मृत्युलाई शून्यमा कायम राख्ने नै हाम्रो उद्देश्य हो । त्यहीअनुरुप हाम्रा कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।’
औलोबाट विशेषगरी गर्भवती महिला तथा ५ वर्षमुनिका बालबालिका, दीर्घरोगी, क्रोनिक डिजिजका बिरामीहरु बढी जोखिममा रहने चिकित्सकहरु बताउँछन् । सामान्य तया मलेरिया भनेर चिनिने यो रोग प्लाज्मोडियम नामक परजिवीका विभिन्न जातहरुवाट हुने गर्दछ । प्लाज्मोडियम भाइवेक्स, प्लाज्मोडियम मलेरि, प्लाज्मोडियम ओभेल र प्लाज्मोडियम फाल्सिपारम गरी चार जातका परजिवीहरु वाट यो रोग लाग्ने गर्दछ ।
साधरणतया नेपालमा प्लाजमोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सीफारम गरी दुई जातका परजिबीहरु पाइन्छ । प्लाज्मोडियम फाल्सीफारम जातको औलोले मानिसको मस्तिष्कमा समेत आक्रमण गर्न सक्ने हुनाले मानिसको ज्यान छिटो लिने गर्दछ । एनोफिलिज जातको पोथी लामखुट्टेले स्वास्थ्य मानिसमा टोक्दा मलरियाका परजिवीहरु सर्ने गर्दछन । मानिसको शरिरमा प्रवेश गरेपछि कलेजो र राता रक्तकोषहरुमा विकास भई हुर्किएका परजिवीहरु रगतको माध्यमवाट शरिर भरी फैलिएर विभिन्न किसिममा लक्षणहरु देखा पर्दछन ।
वेलैमा सही निदान र उपचार नभए मा छोटो समय मै ज्यान लिन सक्ने रोग हो । ज्वरो आउनु, मांशसपेशीहरु दुख्नु, जाडो लागेर कम्पन हुनु, वाकवाकी लाग्नु, थकान महसुस हुनु लगायत औलोको लक्षणहरु रहेको भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे बताउँछन् ।
औलो रोगबाट जोगिन घर वरिपरि लामखुट्टे बस्ने बासस्थान खोजी खोजी नष्ट गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने, राति सुत्दा झुलको प्रयोग गर्ने, शंकास्पद लक्षण देखिए चिकित्सकलाई तत्काल सम्पर्क गर्नुपर्ने उनको सुझाव छ । सन् २००६ मा बाँकेको राप्तीसोनारीमा औलोको प्रकोप फैलिँदा ३३ जनाले ज्यान गुमाएका थिए ।