आरजुले दोस्रो पटक पनि उपकुलपति बन्न डा.रामेशलाई रोकिन्, दिए राजीनामा !

    • स्वास्थ्य पेज

  • २८ श्रावण २०८२, बुधबार

नेपालगन्जः शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीका कार्डियोभास्कुलर विभागका प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा.रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन्। कोइरालाले चिकित्सा पेसासँगै देश नै छाडेका छन् । कोइरालाले बुधबार बिहान सामाजिक सञ्जालमा ‘देश, पेसा जीवन र भूमिका सबै अब फरक’ लेख्दै तस्बिरसमेत हालेका छन् ।

डा कोइरालाले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्नो राजीनामा पत्र सार्वजनिक गरेका हुन्। उनले असोज ३० गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन्। हाल उनी अमेरिका पुगेका छन्। सामाजिक सञ्जाल एक्समार्फत् आगामी असोज ३० गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको सार्वजनिक गरेका हुन्। गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उनले २५ वर्ष काम गरेका थिए।

‘हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज २०८२ देखि लागू हुने गरी मेरो राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु,’ उनले कार्यकारी निर्देशक डा. रवि मल्ललाई सम्बोधन गरी लेखेको राजीनामा पत्रमा उल्लेख छ।

रामेशले राजीनामा पत्रमा कांग्रेस महामन्त्री गगन थापा र स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई शहीद गंगालाल राष्ट्रिय हृदय तथा स्नायु केन्द्रु बनाउन सहयोग गर्नेमा विश्वस्त रहेको उल्लेख गरेका छन्।

‘म यस केन्द्रमा कार्यरत नरहे पनि केन्द्रको प्रगति एवं गगन थापा, प्रदीप पौडेल, तपाईं-हाम्रो र हाम्रा शुभेच्छुकहरूको सपना बमोजिम संघीय सरकारले यस केन्द्रलाई मुटुबाट विस्तार गरी यसै वर्षदेखि ुशहीद गंगालाल राष्ट्रिय हृदय तथा स्नायु केन्द्रुका रूपमा देशलाई गौरवान्वित हुने मौका दिनेछ भन्नेमा विश्वस्त छु र यस्ता हरेक कार्यमा म सल्लाह सुझावका लागि हरदम उपलब्ध हुने नै छु,’ रामेशले भनेका छन्।

साथै उनले एक्कासि सीप, देश, पेशा छाड्दा मन अमिलो भएको उल्लेख गरेका छन्। ‘म तपाईंको खुच्चिङमा रमाइरहेछु। एक्कासि सीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ। र, म सो बेला सायद सर्जन नहुँला। सरी ! कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम,’ डा रामेशले भनेका छन्।

आरजुले दोस्रो पटक पनि रोकिन् उपकुलपति बन्न

परराष्ट्र मन्त्रीसमेत रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले डा रामेश कोइरालालाई उपकुलपति पदमा नियुक्तिका लागि दोस्रो पटक पनि रोकेको आरोप लागेको छ । यद्यपि त्यसबारेमा डा.रामेशले कुनै कुरा उल्लेख गरेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरे  । रिक्त ४ प्रतिष्ठानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले बराबर भागबन्डा गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान एमालेले छाड्न नसक्ने भन्दै कांग्रेसलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लिन भनेका थिए। जसअनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा विक्रम श्रेष्ठ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुद्धि पौडेल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भरत खत्री र कर्णालीमा पुजन रोकाया नियुक्त भएका हुन्।

उपकुलपतिहरू सिफारिस गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, स्वास्थ्य सचिव डा. विकास देवकोटा र योजना आयोगका सदस्य प्रा.डा. आरपी विच्छा रहेको तीन सदस्यीय सिफारिस समिति गठन भएको थियो। यो समितिमा उपकुलपतिहरूको नाम सिफारिस गर्ने क्रममै मतभेद देखियो। स्वास्थ्य मन्त्री पौडेलले सुरूमा आफ्नो गृह प्रदेश गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रामेश कोइरालालाई पठाउन चाहेका थिए। तर पोखरा एमालेले लिने भएपछि मन्त्री पौडेलले बिपी प्रतिष्ठानमा रामेशलाई पठाउन खोजेका थिए।

तर समितिमा रहेका अरू दुई जना (स्वास्थ्य सचिव देवकोटा र योजना आयोगका सदस्य विच्छा) ले रामेशको नाम नै सिफारिस नै गर्न मानेनन्। मन्त्री पौडेलले रामेशको नाम सिफारिस नभए कुनै प्रतिष्ठानका लागि उपकुलपति सिफारिस नहुने अडान लिए। त्यसपछि योजना आयोगका सदस्य विच्छाले ‘मलाई त रामेशको नाम सिफारिस नगर्नू भन्ने आदेश छ’ भनेका थिए। कसले यस्तो आदेश दिएको उनले खुलाएका थिएनन्।

स्वास्थ्य सचिव र योजना आयोग सदस्य दुवै विपक्षमा रहे पनि मन्त्री पौडेलले रामेशको नाम सिफारिस गरिछाडे। मन्त्रीले नै अडान लिएपछि अन्तत; बिपी प्रतिष्ठान धरानका लागि एक नम्बरमा विक्रम श्रेष्ठ र दोस्रो नम्बरमा रामेशको नाम सिफारिस गरिएको थियो। रामेशले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दुवैतर्फ आवेदन दिएका थिए। कांग्रेस र एमालेबीच समीकरण सरकार भएकोले कुन प्रतिष्ठान कसको भागमा पर्छ सुरूमा थाहा थिएन। तर क्षमता भएका व्यक्ति भएकोले जुनकुनै प्रतिष्ठानमा भए पनि रामेशलाई जिम्मेवारी दिनुपर्छ भन्नेमा मन्त्री पौडेल थिए।

भागबन्डामा पोखरा एमाले र धरान कांग्रेसलाई परेपछि मन्त्री पौडेलले रामेशलाई बिपी प्रतिष्ठान धरानको उपकुलपतिका रूपमा जिम्मेवारी दिन खोजेका थिए। नेता शेखर कोइरालाले भने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसअघि कायममुकायम उपकुलपति भइसकेका प्रा.डा. प्रल्हाद कार्कीलाई उपकुलपति बनाउनुपर्छ भन्ने लविङ गरेका थिए।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने स्वास्थ्य मन्त्री पौडेललाई क्षमता हेरेर उपकुलपति बनाउनुपर्ने र विभागीय मन्त्रीले नै उपकुलपतिका नाम सिफारिस गर्ने पद्धतीलाई पार्टीले सहयोग गर्नुपर्ने बताएका थिए। ‘जो राम्रो छ, उसैलाई उपकुलपति सिफारिस गर्नू, जो उपकुलपति बने पनि जबाफदेहीता अन्तिममा विभागीय मन्त्रीकै हुन आउँछ,’ महामन्त्रीद्वयले मन्त्री पौडेललाई सुझाव दिएका थिए।

त्यसैक्रममा महामन्त्री थापाले आफू स्वास्थ्य मन्त्री भएको बेलाको पनि प्रसंग निकालेका थिए। ‘मन्त्रीले जसलाई उपकुलपति बनाउन चाहेको हो उहीलाई सिफारिस गर्ने हो, यो काम विभागीय मन्त्रीको हो। तर मैले पनि चाहेको व्यक्ति (रामेश कोइराला) लाई उपकुलपति बनाउन पाएको थिइनँ, यसपालि त्यस्तो नहोस्,’ महामन्त्री थापाले भनेका थिए।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा गगन थापा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए। करिब ९ महिना उनी मन्त्री रहे। थापाले आफू मन्त्री हुँदा सिफारिस समितिबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा ३ जनाको नाम सिफारिस गरी मन्त्रिपरिषदमा लगेका थिए। त्यसमा रामेश कोइरालाको नाम पनि थियो। मन्त्री थापाले क्षमतावान् व्यक्ति भन्दै रामेशलाई नै उपकुलपति बनाउन चाहेका थिए।

तर त्यसबेला पूर्वको प्रतिष्ठान हो, त्यहीँका नेताहरूले नाम दिन्छन् भनेर पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले दिएको नामअनुसार प्रा.डा. राजकुमार रौनियार बिपीका उपकुलपति नियुक्त भए। रौनियारलाई केही समयपछि नै सिनेट बैठककै बेला बर्खास्त गरिएको थियो। पदको दुरूपयोग गरी प्रतिष्ठानलाई जर्जर बनाएको आरोप उनीमाथि लगाइएको थियो।

त्यसबेला पनि सभापति देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेता आरजु राणा देउवाले रामेशलाई बिपीको उपकुलपति बन्न नदिन सिटौलालाई नाम दिन भनेको स्रोतको भनाइ छ। महामन्त्री थापाले आफू मन्त्री हुँदा पनि आफूले चाहेको व्यक्तिलाई उपकुलपति बनाउन नपाएको अनुभव सुनाउँदै स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ‘आफूलाई क्षमतावान् लाग्ने व्यक्ति सिफारिस गर्न’ सुझाव दिएका थिए।

उपकुलपति सिफारिस गर्नुअघि मन्त्री पौडेलले पटक-पटक सभापति शेरबहादुर देउवालाई भेटेर यसबारे कुरा पनि गरे। तर सभापति देउवाले ‘ग्रीन सिग्नल’ दिएनन्। त्यसबेला पटक-पटक परराष्ट्र मन्त्रीसमेत रहेकी आरजुले पनि रामेशलाई उपकुलपति बनाउन ‘सकिँदैन’ भनेकी थिइन्। आफूले राखेको प्रस्तावमा सभापति देउवा र आरजु सकारात्मक नदेखेपछि मन्त्री पौडेलले महामन्त्रीद्वय थापा र शर्मासँग कुराकानी पनि गरेका थिए भने उपकुलपति सिफारिस प्रक्रिया नै लम्बिएको थियो।

यसपछि यो विषयमा सभापति देउवा निवास बूढानीलकण्ठमा छलफल भयो। गत साउन २३ गते बूढानीलकण्ठमा भएको छलफलमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय थापा र शर्मा तथा मुख्यसचिव कृष्णप्रसाद पौडेल थिए।

महामन्त्री गगन थापाले उपकुलपति सिफारिसका कुरा निकाले। ‘विभागीय मन्त्रीलाई यस विषयमा स्वतन्त्र छाड्नुपर्छ, उसलाई जो क्षमतावान् लाग्छ त्यसको नाम सिफारिस गर्न दिनुपर्छ,’ महामन्त्री थापाले भनेका थिए, ‘स्वास्थ्य मन्त्री पौडेलले चाहेको मानिसलाई उपकुलपति बनाउन दिनुपर्छ, पार्टीले यसमा हस्तक्षेप गर्नु हुँदैन।’

महामन्त्री थापाले यति कुरा राखेपछि सभापति देउवाले ‘मैले अरू कसैलाई वचन दिइसकेको छु’ भनेका थिए। यसपछि महामन्त्री थापाले यस्तो विषय वचनको भन्दा पनि क्षमता भएका मानिसलाई जिम्मेवारी दिने कुरा हो भनेका थिए। केही बेरमा परराष्ट्र मन्त्री आरजु राणा देउवाले पनि नेताहरूसँग स्वास्थ्य मन्त्री पौडेलको चाहनाअनुसार रामेश कोइरालालाई उपकुलपति नियुक्त गर्न सकिँदैन भनेको स्रोतको भनाइ छ।

‘गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त हुँदा होस् वा त्यसअघि पनि रामेश कोइरालाले अनेक स्टाटस लेखेका छन्, उनी कांग्रेसलाई गाली गरिराख्छन्, के नियुक्ति दिनू?,’ राणाको भनाइ थियो। रामेश कोइराला पनि गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकका आकांक्षी थिए।

तर सभापति देउवानिकट डा. मल्ल २०८० माघ ३ गते कार्यकारी निर्देशक नियुक्त भएका थिए। त्यसबेला नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेससहित दलको समर्थनमा प्रधानमन्त्री थिए भने कांग्रेसका मोहनबहादुर बस्नेत स्वास्थ्य मन्त्री थिए।  त्यसबेला पनि आरजु राणाले ‘कांग्रेस नेताहरूको विरोध गरिराख्ने रामेशलाई कार्यकारी निर्देशक बनाउन हुन्न’ भनेकी थिइन्।

  • २८ श्रावण २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech