नेपालगन्जः बाँकेका स्थानीय तहले औंषधि खरिद सुरु गरेका छन् । कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाले औंषधि खरिद प्रक्रिया सुरु गरेका हुन् । यससँगै यहाँका आधारभूत स्वास्थ्य संस्था, सहरी स्वास्थ्य केन्द्र र अस्पतालहरुमा समयमै औंषधिको आपूर्ति हुने अपेक्षा गरिएको छ । स्वास्थ्य क्षेत्रमा आवश्यक औंषधि समयमै नपुग्दा उपचार प्रभावित हुने समस्या बेलाबेला बाहिरिन्छ । तर यसपालि चार पालिकाले समयमै खरिद प्रक्रिया अघि बढाएका छन् ।
बाँकेको कोहलपुर नगरपालिकाले साउन १६ गते बोलपत्र आह्वान गरिसकेको छ । कोहलपुर नगरपालिकाले नगर अस्पताल, नगर प्रर्वधन केन्द्र र वडा स्वास्थ्य चौकीहरुलाई लक्षित गर्दै आंैषधि खरिदको योजना बनाएको कार्यबाहक नगर प्रमुख संगिता सुवेदी बताउँछिन् । ‘कोहलपुर नगरपालिकामा रहेको नगर अस्पताल र वडा नं.१५ अकलघरुवामा रहेको एक मात्र नगर प्रवर्धन केन्द्र भएकाले यहाँ आउने बिरामीको चाप धेरै हुन्छ । प्रदेशका विभिन्न ठाउँबाट बिरामी आउने भएकाले औंषधि र सर्जिकल सामग्रीको आपूर्ति सहजहोस् भनेर समयमै औंषधि लगायतका सामग्री खरिदको प्रक्रिया अगाडि बढाइएको हो’–उनले भनिन् ।
यस्तै साउन १८ गते सूचना जारी गरेको खजुरा गाउँपालिकाले सर्जिकल सामग्री ४६ प्रकारका र औंषधिजन्य सामग्री ८९ प्रकारका खरिद गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष डम्वर विकले जानकारी दिए । ‘स्वास्थ्यमा गुणस्तरीय सेवा दिन जनशक्ति मात्र पर्याप्त हुँदैन, आवश्यक उपकरण र औंषधि पनि हुनुपर्छ उनी भन्छन्–‘यसपटक हामीले दीर्घकालीन आवश्यकतालाई ध्यानमा राखेर सूचि तयार गरेका छौं । औंषधिको अभाव नहोस् भन्ने सवालमा सजग र सचेत छौं ।’
यस्तै डुडुवा गाउँपालिकाले साउन १५ गते नै बोलपत्र आह्वान गरिसकेको छ । बोलपत्र जमानत रकम १ लाख र बोलपत्र कागजात शुल्क १ हजार तोकिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले बताए । ‘हाम्रो प्राथमिकता आधारभूत स्वास्थ्य संस्था र स्वास्थ्य चौकीमा आवश्यक औंषधि निरन्तर उपलब्ध गराउनु हो उनले भने–‘यो पटक खरिद सूचिमा जीवनरक्षक आंैषधिदेखि सामान्य उपचारका सामग्रीसम्म समेटिएका छन् । बिरामीलाई गुणस्तरीय औषधि उपलब्ध गराउन हामी पूर्ण प्रतिबद्ध छौं ।’
नेपालको संविधानले स्वास्थ्यलाई आधारभूत अभिकारको रुपमा सुनिश्चित गर्दै स्थानीय तहलाई प्राथमिक स्वास्थ्य सेवा पुर्याउने जिम्मेवारी दिएको छ । तर, स्वास्थ्य सामग्री आपूर्तिमा ढिलासुस्ती, गुणस्तरीयताको कमी र बजारमा निर्भरता जस्ता समस्या हटाउन नसक्दा ग्रामीण तथा सहरी दुवै क्षेत्रमा बिरामीले निजी मेडिकलबाट महंगो मूल्यमा औंषधि किन्नुपर्ने अवस्था छ ।
बाँकेमा केही स्वास्थ्य संस्थाहरुमा सर्जकल सामग्री महिनौंसम्म नपुग्ने, जीवनरक्षक औंषधि आपूर्तिमा कमी हुने र प्राथमिक उपचार सामग्री अभाव हुने जस्ता समस्या बारम्बार देखिँदै आएका छन् । यस अवस्थामा पालिकाहरुले औंषसध आपूर्ति प्रणालीमा सुधार ल्याउन ‘बोलपत्र प्रक्रिया’मार्फत खरिद अघि बढाएका हुन् ।