कोहलपुरमा अशक्तलाई घरमै परिचयपत्र

    • स्वास्थ्य पेज

  • २७ श्रावण २०८२, मंगलवार

कोहलपुरः कोहलपुर नगरपालिका–१३ का हरिबहादुर डाँगीलाई तीन वर्षअघि उच्च रक्तचापका कारण प्यारालाइसिस भयो । लामो उपचार पछि ज्यान त जोगियो तर दैनिकी भने प्रभावित बन्यो । हातखुट्टा पहिलेजस्तो चल्न सकेन् । दैनिक जीवनयापनका लागि अरुकै साहारा लिनुपर्ने अवस्था बन्यो । कोहलपुर नगरपालिकाले तत्काल उनलाई अपांगता परिचयपत्र उपलब्ध गरायो ।

उनले पहेंलो कार्ड पाए । त्योबाहेक अन्य सुविधा भने उनले पाउन सकेनन् । उनको स्वास्थ्य अवस्था झन विग्रदै गयो । आइतवार कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख समेत रहेकी अपांगता समन्वय समितिका संयोजक संगिता सुवेदी चिकित्सकसहित हरिबहादुरकै घर पुगिन् । उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन् । चिकित्सकले पनि स्वास्थ्य जाँच गरे । उनलाई अव नीलो कार्डका लागि सिफारिस गरे । दैनिक जीवनमा धेरै कामहरु अरुकै मद्दतमा गर्नुपर्ने भएकाले उनलाई नीलो कार्डका लागि सिफारिस गरिएको संयोजक सुवेदीले बताइन् । उनले ‘ख’ वर्गको अर्थात नीलो कार्ड प्राप्त गर्नेछन् ।

नीलो कार्ड प्राप्त गर्नेलाई सरकारले दैनिक जीवनयापनका लागि दुई हजार १२८ रुपैयाँ मासिक भत्ता उपलब्ध गराउँदै आएको छ । ‘कम्तीमा त्यति रकम पाएपनि धेरै सहज हुने थियो उनले भने–‘स्थानीय सरकार घरमै आउनुभयो । हाम्रा लागि पनि सरकार रहिछ भन्ने महसुस भयो ।’ हरिबहादुरमात्र होइन १७ वर्षीय छोरा मिनबहादुर पनि मानसिक समस्यासँग जुधिरहेका छन् । आर्थिक अवस्था दयनीय भएकाले छोराको समेत उपचार गर्न नसकिएको हरिबहादुर बताउँछन् ।

हरिबहादुर जस्तै स्वास्थ्य अवस्था जटिल भएका र हिडडुल गर्न नसक्ने अपांगता भएका व्यक्तिहरुलाई घरमै पुगेर समेत परिचयपत्र दिने गरिएको सुवेदी बताउँछिन् । ‘शारीरिकरुपमा अत्यन्तै अशक्त, हिड्डुल गर्न नसक्नेहरुलाई घरमै पुगेर पनि हामीले परिचयपत्र दिने गरेको छौं उनले भनिन्–‘चिकित्सकको रायका आधारमा उनीहरुलाई परिचयपत्र उपलब्ध गराउने गरेका छौं ।’

उनले अपांगता भएका व्यक्तिहरुलाई आर्थिक आयआर्जनसँग जोड्ने खालका कार्यक्रमहरु आवश्यक रहेको बताइन् । ‘अपाङ्गता भएका व्यक्तिहरुको समान पहुँच र आत्मसम्मानमात्र हैन उनिहरुलाई अर्थसँग जोड्ने खालका कार्यक्रम आवश्यक छ’–सुवेदीले भनिन् । सरकारले अहिले पूर्ण असक्त रातो कार्ड पाएकालाई मासिक तीन हजार ९९० र नीलो कार्ड पाएकालाई मापसक दुई हजार ११८ रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

कोहलपुर नगरपालिकामा अहिलेसम्म एक हजार २३ जनाले अपांगता परिचयपत्र पाएका छन् । तीमध्ये रातो कार्ड पाउनेहरुको संख्या २०६ रहेको छ भने नीलो कार्ड पाउनेहरुको संख्या ४३८ रहेको छ । त्यसैगरी पहेंलो कार्ड तीन सयले पाएका छन् भने सेतो कार्ड पाउनेको संख्या ७९ रहेको कोहलुर नगरपालिका महिला तथा बालबालिका शाखा अधिकृत तारा भण्डारीले जानकारी दिइन् । गएको आर्थिक वर्ष २०८१/०८२ मा १२२ जनाले अपांगता परिचयपत्र प्राप्त गरेका थिए ।

ती मध्ये रातो कार्ड प्राप्त गर्ने २२, नीलो कार्ड प्राप्त गर्ने ६१, पहेंलो कार्ड प्राप्त गर्ने २६ र सेतो कार्ड प्राप्त गर्ने ४ जना रहेका थिए । प्रत्येक महिनाको २५ गते अपांगता परिचयपत्र वितरण गर्ने गरिएको भण्डारीको भनाइ छ । चालु आर्थिक वर्षको साउनमा रातो कार्ड ५ जनाले, नीलो कार्ड ६ र पहेंलो कार्ड २ जनाले पाएका छन् ।

  • २७ श्रावण २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech