क्यान्सर अनुसन्धानकर्ताको जीवन- मुसा ढुक्ने बिरालो जस्तै !

    • डा. रन्जन मिश्र

  • २६ श्रावण २०८२, सोमबार

गत हप्ता म दुई महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुने आशामा थिएँ— एक व्यक्तिगत, अर्को सार्वजनिक।

एक जना मिल्ने साथी बोस्टन छोड्दै थिए र उनलाई बिदाइ दिन सानो जमघट आयोजना भएको थियो। त्यही समयमा, म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) मा रहेका केही साथीहरूले कुलमान घिसिङलाई लिएर कार्यक्रम राखेका थिए।

उहाँ अमेरिका भ्रमणमा हुनु हुन्थ्यो र आफ्ना भावी योजनाहरूबारे बोल्न आउनुभएको थियो।

दुवै कार्यक्रममा जान म निकै उत्साहित थिएँ।

कार्यक्रममा जान लागेका साथीहरूले फोन गरेर सोध्थे, ‘तिमी पनि आउँदैछौ है?’

सबैलाई मेरो उत्तर उस्तै हुन्थ्यो, ‘मेरो जीवन बिरालोको जस्तो छ, मुसाहरूले अनुमति दिए भने आउँछु।’

यही हो, क्यान्सर अनुसन्धानकर्ताको जीवन।

पक्कै पनि, सबै क्यान्सर अनुसन्धान एउटै प्रकृतिको हुँदैन।

यसको दायरा अत्यन्त फराकिलो हुन्छ — एकल कोषीय जीवमा गरिने आधारभूत अध्ययनदेखि लिएर जटिल जनावरहरू, विशेषतः मुसामा गरिने प्रयोग र अन्ततः क्यान्सर पीडित बिरामीहरूमा गरिने प्रत्यक्ष अनुसन्धानसम्म।

म यहाँ जुन अनुभव वर्णन गर्दैछु, त्यो विशेष गरी हामीजस्ता अनुसन्धानकर्ताहरूका लागि हो, जो मुसाको प्रयोगमार्फत क्यान्सरको जीवविज्ञान बुझ्न र सम्भावित उपचारहरू विकास गर्न निरन्तर लागिपरेका छौं।

क्यान्सर तब सुरू हुन्छ जब आनुवांशिक उत्परिवर्तनहरूका कारण शरीरका आधारभूत एकाइ—कोषिकाहरूमा हुने विभाजन प्रक्रिया नियन्त्रणमा रहन छाड्छ।

यस प्रक्रियामा दुई प्रकारका जीनहरू— ओन्कोजिन र ट्युमर सप्रेसरले मुख्य भूमिका खेल्छन्।

ओन्कोजिनमा उत्परिवर्तन हुँदा ती अत्यधिक सक्रिय भई कोषलाई अनियन्त्रित रूपमा विभाजन गराउँछन्।

यसको विपरीत, ट्युमर सप्रेसर जीनहरूले सामान्य अवस्थामा कोषको अस्वाभाविक वृद्धि रोक्ने काम गर्छन्। तर उत्परिवर्तनका कारण निष्क्रिय हुँदा त्यो नियन्त्रण समाप्त हुन्छ। जब ओन्कोजिनहरू अत्यधिक सक्रिय र ट्युमर सप्रेसर जीनहरू निष्क्रिय हुन्छन्, तब कोषहरू अनियन्त्रित रूपमा बढ्न थाल्छन् र वरपरका तन्तुहरूमा फैलिन थाल्छन् र यसरी क्यान्सर सुरू हुन्छ।

नवीन अनुक्रमण प्रविधिहरूमा भएको प्रगतिका साथ वैज्ञानिकहरूले विभिन्न प्रकारका क्यान्सरमा देखिने विशिष्ट उत्परिवर्तनहरू पहिचान गर्न सकेका छन्। ती नै उत्परिवर्तनहरू प्रयोग गरी मुसामा कृत्रिम रूपमा क्यान्सर उत्पन्न गरिन्छ, जसले रोगको विकास प्रक्रियालाई बुझ्न मद्दत गर्छ। त्यसको आधारमा वैज्ञानिकहरूले क्यान्सरको उपचार कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे विस्तृत अनुसन्धान गर्छन्।

मुसामा क्यान्सर उत्पन्न गर्न विभिन्न विधिहरू अपनाइन्छन्। केही विधिमा मुसाको भ्रूण अवस्थामै क्यान्सर प्रवर्द्धक जीनहरू सक्रिय पारिन्छन् वा ट्युमर सप्रेसर जीनहरू निष्क्रिय गरिन्छ, जसकारण मुसामा उमेरसँगै प्राकृतिक रूपमा ट्युमर विकास हुन्छ।

अर्को तरिकामा मुसाका कोषिकाहरूलाई शरीरबाट निकालेर प्रयोगशालामा आवश्यक उत्परिवर्तन गरिन्छ। अनि ती रूपान्तरित कोषलाई फेरि शरीरको कुनै विशेष अंगमा प्रत्यारोपण गरिन्छ, जसले ट्युमरको विकास गर्छ।

तेस्रो विकल्पको रूपमा, बिरामीबाट संकलन गरिएका क्यान्सर कोषिकाहरूलाई रोग प्रतिरोध क्षमताविहीन मुसामा प्रत्यारोपण गरिन्छ। यसले मानवीय क्यान्सरको व्यवहार नजिकबाट अध्ययन गर्न सहयोग पुर्‍याउँछ।

म स्वयं महिलामा देखिने अण्डाशयको क्यान्सरको अध्ययन गर्न मुसाको प्रयोग गर्छु। यसका लागि हामीले मुसाको अण्डाशयबाट कोषिकाहरू निकालेका छौं र ती कोषिकामा मानव अण्डाशय क्यान्सरमा प्रायः देखिने प्रमुख आनुवंशिक उत्परिवर्तनहरू समावेश गरेका छौं। जब यी रूपान्तरित कोषिकाहरूलाई मुसाको पेटभित्र प्रत्यारोपण गरिन्छ, त्यसले बिरामीहरूमा देखिने जस्तै गरी पेटको भित्ताभित्र फैलिने ट्युमर विकास गर्छ।

ट्युमर स्थापित भएपछि मुसामा नयाँ तथा प्रयोगात्मक औषधिहरू प्रयोग गरेर उपचार गरिन्छ। यी उपचारहरू यथासम्भव मानिसमा लागू गरिने विधिसँग मिल्दोजुल्दो ढंगले प्रयोग गरिन्छ।

त्यसपछि क्यान्सर लागेको मुसाहरूले ती औषधिप्रति कस्तो प्रतिक्रिया देखाउँछन्—ट्युमर बढ्छ कि यसमा संकोचन आउँछ—भन्ने कुरा नियमित रूपमा निगरानी गरिन्छ। यही कारण मुसाको अवस्था निरन्तर मूल्यांकन गर्नु र सावधानीपूर्वक रेखदेख गर्नु क्यान्सर अनुसन्धानकर्ताको दैनिक जीवनको अभिन्न हिस्सा बन्न पुग्छ।

क्यान्सर कोषिकामा उच्च आनुवंशिक अस्थिरता हुने भएकाले तीमा छिट्टै नयाँ नयाँ उत्परिवर्तनहरू जम्मा हुन थाल्छन्। यही कारणले सुरूमा प्रभावकारी देखिएको उपचार पनि केही समयपछि निष्क्रिय बन्न सक्छ।

यस्तो अवस्थामा क्यान्सर कोषिकाहरू उपचारबाट कसरी जोगिन्छन्, कुन जैविक मार्ग प्रयोग गरेर प्रतिरोध विकास गर्छन् भन्ने कुरा बुझ्न हामी प्रयास गर्छौं। यी प्रश्नहरूको उत्तर खोज्न हामी प्रतिरोध विकासमा संलग्न सक्रिय वा निष्क्रिय जीनहरूको पहिचान गर्छौं। ती जीनहरूको कार्य परिमार्जन गरेर परीक्षण गर्छौं। र, त्यसैको आधारमा नयाँ औषधिहरू विकास गर्न प्रयास गर्छौं।

अनुसन्धानको दिशा जेसुकै होस्, मुसामा ट्युमरको अवस्था दैनिक रूपमा निगरानी गर्नु अपरिहार्य हुन्छ। क्यान्सर अनुसन्धानमा मुसाहरूलाई जानाजानी क्यान्सर लगाइन्छ, तर त्यही मुसाहरूलाई यथासम्भव कम पीडा होस् भनेर नियमित निरीक्षण र संवेदनशील रेखदेख आवश्यक हुन्छ।

यही कारण क्यान्सर अनुसन्धानकर्ताको दिनचर्या मुसाको जीवनचक्रसँग गहिरो रूपमा गाँसिएको हुन्छ। अनि कहिलेकाहीँ अनुसन्धानकर्ताको भावनात्मक अवस्था पनि त्यसैसँग जोडिएको हुन्छ —कहिले मुसा बाँच्दा खुशी लाग्छ, कहिले मर्दा।

किनभने त्यसले ट्युमरमा संकोचन आएको वा बढेको संकेत गर्छ, त्यसैमा भर पर्छ हाम्रो अर्को कदम।

अन्ततः हामी ‘हार्वेस्ट डे’ मा पुग्छौं जसमा मुसाबाट ट्युमर निकालेर विस्तारपूर्वक अध्ययन गरिन्छ। यसको मिति अनुमान गर्न सकिए पनि, प्रायः उपचारको प्रभाव अनुसार नै समय निर्धारण हुन्छ। जब मुसामा पीडाको संकेत देखिन थाल्छ, उनीहरूलाई मानवीय तरिकाले मारेपछि ट्युमर सहित आवश्यक अंगहरू संकलन गरिन्छ।

अनुसन्धानको प्रश्न अनुसार १५-१६ घण्टासम्म लगातार चल्ने यो दिनको सुरूआत शल्यक्रियाबाट ट्युमर र अन्य महत्त्वपूर्ण अंगहरू निकालेर हुन्छ। त्यसपछि ती अंगहरूलाई वैज्ञानिक विधिबाट एकल कोषिकाहरूमा परिणत गरिन्छ।

यस्ता कोषिकाहरूलाई सुक्ष्म स्तरमा अध्ययन गरिन्छ, जसबाट क्यान्सरको जीवविज्ञान र उपचारको प्रभावबारे महत्वपूर्ण जानकारी प्राप्त हुन्छ।

जस्तै, ट्युमरबाट निकालिएका कोषिकाहरूमा प्रतिरक्षा कोषिकाको अनुपात कति छ? के उपचारले ती कोषिकाहरूको संख्या बढाएको छ? के ती कोषिकाहरूमा ट्युमर नष्ट गर्ने क्षमता छ? र के उपचारले त्यो क्षमता अझ प्रभावकारी बनाएको छ?

यी प्रश्नहरूको उत्तरले हामीलाई केवल प्रयोग सफल भयो कि भएन भन्ने मात्र बताउँदैन, यो पनि देखाउँछ कि क्यान्सर शरीरभित्र कसरी बाँच्छ, कसरी प्रतिरोध विकास गर्छ र त्यसलाई रोक्ने प्रभावकारी उपाय के हुन सक्छ।

यही सुक्ष्म विश्लेषण हो जसले क्यान्सर उपचारको भविष्यको दिशा निर्धारण गर्न मद्दत गर्छ।

यदि कुनै उपचार प्रभावकारी देखिन्छ भने, हामी त्यसलाई अझ परिमार्जन गर्दै जान्छौं र मानवमा प्रयोग गर्न मिल्छ कि मिल्दैन भन्ने कुरा मूल्यांकन गर्छौं। तर यदि परिणाम अपेक्षित भएन भने, हामी फेरि सुरू गर्छौं। नयाँ दृष्टिकोण र नयाँ प्रश्नसहित अर्को बाटो खोज्छौं।

अनि फेरि चक्र दोहोरिन्छ—मुसामा नयाँ ट्युमर सुरू गरिन्छ, नयाँ हस्तक्षेप गरिन्छ र हामी फेरि कुर्दै, अवलोकन गर्दै, विश्लेषण गर्दै अघि बढ्छौं।

यो यात्रा अन्त्यहीन भए पनि आशामा आधारित हुन्छ। किनभने हरेक प्रयोगमा त्यो सम्भावना हुन्छ— कुनै दिन मुसामा पत्ता लागेको सानो तर महत्त्वपूर्ण तथ्य नै मानिसको जीवन जोगाउने आधार बन्न सक्छ।

वास्तवमा, क्यान्सर उपचारमा प्रयोग भइरहेका धेरै औषधिहरू यस्तै प्रक्रियाबाट विकसित भएका हुन्।

सन् २०१८ मा नोबेल पुरस्कार जितेको इम्युनोथेरापी जसले आज धेरै प्रकारका क्यान्सरको उपचारमा क्रान्ति ल्याएको छ — यही विधिबाट, मुसामा गरिएको प्रयोगबाट सुरू भएको थियो। यस विकास यात्राको क्रममा, थुप्रै वैज्ञानिकहरू पारिवारिक जमघट वा अन्य व्यक्तिगत योजनाका लागि पनि मुसाको अनुमति कुर्दै धैर्यका साथ बसेका थिए होलान्।

त्यसैले कहिलेकाहीँ लाग्छ—क्यान्सर अनुसन्धानकर्ताको जीवन पनि बिरालोको जस्तै हो— मुसा ढुक्ने बिरालो!

(डाक्टर रन्जन मिश्र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) मा कार्यरत क्यान्सर वैज्ञानिक हुन्।)  

  • २६ श्रावण २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech