नेपालमा अहिलेसम्म ८२ प्रजातिका सर्प भेटिएको पुष्टि भएको छ । त्यसमध्ये २१ वटा विषालु छन् । विषालुमध्ये करेत, कोब्रा, रसियन, भाइपर र मोँगुस सर्प अतिविषालु छन् । यी सर्पहरूले टोकेर विष मानिसको शरीरभित्र पुग्याे भने मानिसको ज्यान जान्छ । सर्पहरूको प्राकृतिक बासस्थान हेर्दा समुद्र सतहदेखि ४८ सय मिटरको उचाइसम्म भेटिएका छन्
। सर्प समुद्रमा पनि पाइन्छ । साथै नेपालमा ४८ सय मिटरको उचाइमा पनि विषालु सर्प भेटिएको छ । यो मैले नै पत्ता लगाएको हो । मुगु र डोल्पा जिल्लाको बीचमा पर्ने तिलिचा भन्ने ठाउँमा ‘हिमालय पीट भाइपर’ भन्ने सर्प फेला परेको छ । नेपालमा अझै खोज्दै जाने हो भने ४८ सय मिटरभन्दा माथि पनि सर्प भेटिन सक्ने वातावरण रहेको छ ।
मौसमअनुसार सर्पहरूको बासस्थान फरक हुन्छ । तापक्रम कम हुने ठाउँमा सर्पहरू पाइँदैन । विश्वमा कतिपय देशहरू छन् जहाँ सर्प नै पाइँदैन । जस्तै– न्युजिल्यान्ड, आइसल्यान्डजस्ता टापु देशहरूमा सर्प पाइँदैन । पछिल्लो समय त्यहाँ दुई/तीन वटा सर्पहरू बाहिरी देशबाट गएको सामानमा भेटिएका छन् । नेपालकै पनि माथिल्लो मुस्ताङ र अन्नपूर्ण आधार शिविरमा सर्प देखिएको छैन । यी ठाउँमा वर्षमा दुई÷तीन महिनामात्रै घाम लाग्छ ।
जलवायुको परिवर्तनले सर्प माथिल्लो भेगमा जान थाले !
जलवायु परिवर्तनले सर्प माथिल्लो भेगमा जान थालेको मानिसहरूले चर्चा गर्ने गरेको पाइन्छ । पछिल्ला वर्षमा काठमाण्डौ उपत्यका, पहाडी र उच्च पहाडी क्षेत्रहरूमा सर्पहरू बढी देखिएको भनेर खबरहरू आएका छन् । तर यो कुरा चाँहि कुनै अध्ययन गरेर निष्कर्षका रूपमा आएको होइन ।
मानिसहरूले विना तथ्य चर्चा गरेको जस्तो लाग्छ । नेपालमा पाइने ‘राज गोमन’ भन्ने सर्प तराईसहित झन्डै तीन हजार मिटरको उचाइसम्म पाइन्छ । यो सर्प मकवानपुरको दामानमा रहेको शिवभञ्ज्याङको टुप्पोसम्म भेटिएको छ । नेपालमा राज गोमन घाटीमा झुन्डाएर हिँडेको बाहेक यसले घर अथवा जङ्गलमा मानिसलाई टोकेर ज्यान गएको भन्ने छैन । धेरै वर्ष पहिले भारतमा अङ्ग्रेज शासन हुँदा एक जना सिपाहीलाई आराम गरिरहेको राज गोमनलाई खुट्टाले किच्दा टोकेर ज्यान गएको भन्ने सुनिन्छ ।
सर्पहरू धेरैजसो ठाउँमा पाइन्छ । एक ठाउँबाट अर्को ठाउँमा बासस्थान सर्दै नयाँ ठाउँहरूमा सर्प भेटिएको भन्ने गलत हो जस्तो लाग्छ । काठमाण्डौ उपत्यकाभन्दा माथिल्लो भेगमा पहिलेभन्दा अहिले सर्पहरू बढी देखिन थालेको भनिएको सुन्निछ । तर पहिले कुनै अध्ययन हुँदैनथ्यो । कतिपय कुरा सही पनि हुन सक्छन् । कतिपय कुरा मानिस आफैँले बनाएर भनेको जस्तो देखिन्छ । काठमाण्डौभन्दा बढी उचाइ भएका ठाउँमा सर्प भेटिरहेको अवस्थामा यहाँ भेटिनु सामान्य जस्तै हो ।
धार्मिक रूपमा पनि काठमाण्डौ सर्पको बासस्थान भएको ठाउँ भनेर पनि चिनिन्छ । काठमाण्डौ उपत्यकाको हावापानी कतिपय सर्पका लागि अनुकूल छ । आजभन्दा ३० वर्षअघि काठमाण्डौमा तीन वटा गोमन सर्प भेटिएका थिए । यी सर्पका बारेमा लेख प्रकाशित भएका छन् । पहिलेभन्दा केही बढी सर्पहरू भेटिनुमा सर्प मार्न हुँदैन भन्ने चेतना मानिसमा बढ्दै गएकोले पनि हुन सक्छ ।
अनि प्रचारको कारण पनि हो । पहिले कुनै ठाउँमा केही घटना हुँदा अरू ठाउँका मानिसले केही दिनपछि थाहा पाउँथे । अहिले मासिनको हातहातमा मोबाइल छ । केही जङ्गली जीवसँगको भेटमात्रै हुँदा पनि जताजतै खबर फैलिन्छ । त्यसैगरी सर्पले डस्ने सङ्ख्या बढेको भन्दा पनि मानिसले छिटो र एकैपटक थाहा पाऊन् भनेर प्रचार धेरै भएको हुन सक्छ ।
प्रकृतिमा सर्पको महत्त्व
प्रकृतिमा कुनै भूमिका नभएको जीवजन्तुको उत्पत्ति भएको हुँदैन भन्ने विश्वास गरिन्छ । केही जीवजन्तुको क्रियाकलाप मानिसलाई थाहा हुन्छ भने कतिपय जीवजन्तुको बारे थाहा हुँदैन । सर्पकै बारेमा अध्ययन गर्ने मानिसलाई सर्पसम्बन्धी ज्ञान बढ्दै गएको हुन्छ ।
धेरै मानिसलाई सर्पको बारे ज्ञान हुँदैन । ‘इख नभएको मानिस र विष नभएको सर्प हुँदैन’ भन्ने तरिकाले मानिसले बुझेको पाइन्छ । तर सबै सर्प विषालु हुँदैनन् । सर्प र आगो एउटै जस्तो हो । आगोलाई सुदपयोग गर्दा यसबाट फाइदा लिन सकिन्छ । त्यस्तै सर्पको बारे थाहा पाउने र यसबाट बच्न सकेमा धेरै फाइदा लिन सकिन्छ । सर्प आफैँमा कतिपय जीवजन्तुको आहारा बनेको हुन्छ । काकाकुल, राजहांसको मुख्य आहारा नै सर्प हो ।
यस्तै सर्प मांशाहारी प्राणी हो । यसले कीरा फट्याङ्ग्रादेखि चारखुट्टे जीवजन्तुलाई आहारा बनाएको हुन्छ । प्रत्यक्ष रूपमा सर्प मानिसलाई काम लाग्ने भनेको मुसाको नियन्त्रणमा हो । कतिपय सर्पले मुसालाई खोजीखोजी खान्छ । धामन सर्पको मुख्य आहारा भनेको मुसा हो । सर्पको विष निकालेर औषधिहरू पनि बनाइन्छ ।
सर्पसम्बन्धी सचेतनाका कुरा
सर्पको संरक्षणका लागि सबैभन्दा पहिले विद्यालयको पाठ्यक्रममा सर्पसम्बन्धी कुराहरू राख्नुपर्छ । सर्प मानिसका लागि कुन अवस्थामा हानिकारक र प्रयोगजन्य हुन्छ भन्नेबारे विद्यार्थीहरूलाई सानै उमेरदेखि बुझाउनुपर्छ । सर्पलाई जोगाउनुपर्ने कारण र यसले डसेमा के गर्ने, कस्तो किसिमको प्राथमिक उपचार गर्ने भन्नेबारे जानकारी गराउनुपर्छ । मानिस सर्पको आहारा प्रजाति नभएकोले खोजीखोजी टोक्दैन । तर विभिन्न कारणले भेट हुने भएकोले टोक्ने जोखिम सधैँ रहन्छ ।
यस्तै ठाउँ–ठाउँमा गएर जनचेतनामूलक कार्यक्रम गरी मानिसहरूलाई बताउनुपर्छ । त्यसपछि सर्पबाट कसरी जोगिने भन्ने कुरा बुझ्न आवश्यक छ । विशेषगरी तराई क्षेत्रमा बढी सङ्ख्यामा सर्प भेटिन्छ । सर्प बढी देखिने समयमा खाली खुट्टा नहिँड्ने, चप्पलमात्र लगाएर नहिँड्ने तथा जुत्ता लगाएर हिँड्नुपर्छ । रातिको समयमा टर्च लाइट बालेर हिँड्नुपर्छ ।
सर्पको कान हुँदैन । यसले कम्पनमार्फत आवाज पत्ता लगाउँछ । लठ्ठी टेकेर हिँड्दा लठ्ठीको कम्पनबाट आवाज थाहा पाएर अन्यत्र जान्छ । सुत्नुअघि कोठामा राम्रोसँग हेरेर सुत्ने गर्नुपर्छ । सर्प माथिमाथि पनि चढ्ने भएकाले माथिल्लो तलामा पनि सुत्नुअघि हरेरमात्रै सुत्नुपर्छ ।
झुल टाँगेर सुतेको अवस्थामा पनि बाहिरबाट टोकेका घटना छन् । गर्मीको बेला कोठाको झ्याल खुलै राख्दा पनि सर्पभित्र पस्ने डर हुन्छ ।
प्राथमिक उपचार सँगैसँगै अस्पताल जानुपर्छ
सर्पले डसेपछिको प्राथमिक उपचार कसरी गर्ने भन्ने सबैलाई जानकारी गराउनुपर्छ । पहिले र अहिलेको प्राथमिक उपचारमा केही भिन्नताहरू छन् । पहिले सर्पले टोकेपछि टोकेको वरिपरिको छाला खुर्कने, आगोले डाम्ने, कपडा बेस्सरी कसेर बाँध्नेजस्ता काम गरिन्थ्यो । तर ती विधि गलत सावित भएका छन् ।
सर्पले डसेपछि लामो किसिमको प्रेसर ब्यान्डेज बाँध्ने, औँलामा टोक्यो भने कुमसम्म पुग्ने गरी ब्यान्डेजलाई हल्का दबाव हुने गरी बाँध्नुपर्छ । यसले सर्पको विष चाँडो फैलनबाट रोक्छ । घाउ धुँदा पनि हुन्छ । वयस्क सर्पको विषको शक्ति जति हुन्छ बच्चा सर्पको विषको शक्ति पनि उत्तिकै हुन्छ । त्यसैले बच्चा सर्पले टोकेको हो भनेर बेवास्ता गर्नु हुँदैन ।
सर्पले टोकेपछि कतिपयले खोजीखोजी त्यो सर्प मार्ने गरेका छन् । सर्पको पहिचानका लागि यो विधिले काम गर्छ । तर सर्प मार्नेतर्फ समय खेर नखाली अस्पताल गइहाल्नुपर्छ । नेपालमा सर्पले टोकेमा प्रयोग हुने प्रतिविष एकै किसिमको हुने र लक्षण हेरेर उपचार गरिने भएकोले सर्पको पहिचानतर्फ जोड दिएर समय खेर फाल्नु हुँदैन । सर्पले टोकेका बिरामीलाई सकेसम्म हिँडाउनु हुँदैन । हिँडाउँदा विष चाँडो फैलने भएकोले साइकल, मोटरसाइकल, गाडी जे उपलब्ध हुन्छ त्यसैमा राखेर लैजानुपर्छ । बच्चा भएमा बोक्न पनि सकिन्छ ।