राम्रोसँग स्तनपान गरेका बच्चाहरूको तुलनामा दूध चुस्न नपाएका बच्चाहरूको आफ्नो पहिलो वार्षिक जन्मदिन अघि नै मृत्यु हुने जोखिम बढी हुन्छ । यूएनका अनुसार, मृत्यु हुने जोखिम १४ गुणा बढी हुन्छ । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण एनडीएचएस २०२२ ले ६ महिनाभन्दा मुनिका ५६ प्रतिशत बालबालिकालाई पूर्ण रूपमा स्तनपान गराउने गरेको देखिन्छ जुन सन् २०११ को सर्वेक्षणमा ७० र सन् २०१६ मा ६६ प्रतिशत थियो ।
नेपाल मल्टिइन्डिकेटर क्लस्टर सर्वेअनुसार नेपालमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपानको सुरुवात गर्नेको संख्या ४२ प्रतिशत छ । कामकाजी महिलामा बढोत्तरी, व्यस्तता, संक्रमण, कम सुत्केरी बिदा, फिगर बिग्रिने, दूध नै नआउने— तनाव, मोटोपना तथा गर्भवतीमा राम्रो स्याहार नपाउँदाका कारण स्तनपान दर घट्दै छ । स्तनपान नगराउने समस्या सहर बजारमा बढ्दो छ भने गाउँघरका आमाहरू उचित खानपानको अभाव, कामको चाप तथा अज्ञानताले यथेष्ट स्तनपान गराउन सक्दैनन् । सबै सरकारी तथा गैरसरकारी कार्यालयहरूमा स्तनपान कक्ष र शिशु स्याहार केन्द्र नहुनाले पनि पूर्ण स्तनपानबाट शिशुहरू छुट्दै आएका छन ।
एउटा स्वस्थ आमाको स्तनबाट बच्चाको दैनिक आवश्यकता पूरा गर्न दैनिक ९ देखि १२ सय मिलिलिटर दूध निस्कन्छ । जसमा ८८.२० प्रतिशत पानी, १.२५ प्रतिशत प्रोटिन, ल्याकटोज ७.२ प्रतिशत, ३.१ प्रतिशत चिल्लो पदार्थ हन्छ । त्यस्तै ०.२८ प्रतिशत क्याल्सियम र भिटामिन सी ०.३ प्रतिशत तथा भिटामिन ए, बी कम्पेलक्स, सी, डी र ई तथा लाइपेज इन्जाइम र शक्तिवद्र्धक थुप्रै तत्त्वहरू पाइन्छन् ।
आमाको सुरुको दूध ७—१० दिनभित्रको अलि बाक्लो, पहेँलो र च्यापच्याप लाग्ने, वंशाणुगत, कोलोस्टमसहित हुन्छ जसलाई बिगौती दूध भनिन्छ । जसमा हानिकारक संक्रामक जीवाणु र कीटाणुलाई नष्ट पार्ने, संक्रामक रोगसँग लड्न सक्ने तत्त्वहरू भएको, कार्बोहाइटेड, प्रोटिन, चिल्लो पदार्थको अलावा सबै पौष्टिक तत्त्वले भरिपूर्ण भएकोले बिगौती दूधलाई पहिलो खोप पनि भनिन्छ । आमामा जन्मेदेखि गर्भधारण गर्दासम्म उत्पन्न भएका रोगहरू विरुद्ध विकसित एन्टिबडी भएको दूध, बच्चा जन्मनेबित्तिकै वा ढिलोमा जन्मेको आधादेखि एक घण्टाभित्रै खुवाउनु पर्दछ । पिप मिसिएको दूध भनी फ्याक्ने, मह चटाउने, घिउ, जन्मघुँटी, ग्लुकोज र घोटीचौथी खुवाउनेजस्ता कार्यहरू उचित होइनन् ।
आमाको दूधमा रहने इम्युनोग्लोबिन ‘ए’ ले रोगसँग लड्न एन्टिबडीको काम गरी पाचन प्रणालीमा लाग्ने संक्रमण रोक्छ। तर, सरकारी तथा गैरसरकारी कार्यालयहरूमा स्तनपान कक्ष र शिशु स्याहार केन्द्र नहुनाले पनि पूर्ण स्तनपानबाट शिशुहरू छुट्दै आएका छन्।
स्तनपानले आमाको सौन्दर्यमा वृद्धि हुने गर्दछ । गर्भावस्थामा सञ्चित बोसो घटाउँदछ । स्तनपान गराउँदा प्रोजेस्टेरोन हर्मोनको वृद्धिले ६ महिनासम्म गर्भ निरोधकको रूपमा काम गरेको पाइन्छ । गर्भधारण ढिलो हुन गई गर्भान्तरमा पनि मद्दत पुग्दछ । स्तनपान ५० प्रतिशतले कम गर्दा १७–३७ प्रतिशत प्रजनन दरमा वृद्धि हुन्छ । डब्बा तथा अन्य दूध खुवाउँदा हुने खर्चको आर्थिक भार तथा बिरामी भई उपचारमा लाग्ने खर्चको भार कम हुन्छ । आमालाई स्तनपान गराउँदा आत्मीयता, भावनात्मक, सुखानुभूति, गौरव, मानसिक स्वस्थता र आत्मसन्तुष्टि प्रदान गर्दछ । बच्चाले दूध चुस्दा अक्सिटोसिन हर्माोन उत्पन्न भई दूध पगार्ने भएकोले बच्चा गर्भमा रहेको बेला खुलेको आमाको पाठेघरलाई खुम्चन मद्दत पुर्याउछ तथा पाठेघरमा लाग्ने रोगहरू न्यूनीकरण गर्दछ । प्रसवपछि हुने रक्तस्रावलाई रोक्दछ । त्यसैगरी आमालाई पछि गएर हुने डिम्बाशय, स्तन र पाठेघरको क्यान्सर हुने सम्भावना ८ गुणाले कम हुन्छ । तसर्थ स्तनपान गराउँदा आमाले पूर्णता पाउँछ ।
के छ फाइदा ?
बच्चाको शारीरिक आवश्यकतानुसार मस्तिष्क विकास गर्न जरुरत पर्ने सबै एसिनो एसिड पाइन्छन् । समय सीमा र मात्रा नभएको खाद्यवस्तु पनि आमाको दूध नै हो । आमाको दूध स्वच्छ, सुपाच्य, हानिकारक कीटाणुको प्रवेश हुन नपाउने, प्राकृतिक तत्त्वनिहित भएकोले घाँटीको संक्रमण, स्कर्भी, रिकेट, पोलियो, इन्फलुएन्जा र दमजस्ता रोगबाट बचाउँछ । शिशुको बढ्दो उमेरको आवश्यकताअनुसार दूधको संरचनामा पनि परिवर्तन हुने गर्दछ । आठ महिना बढीसम्म स्तनपान गराइएका ८–९ वर्षका शिशुहरू बढी तीक्ष्ण भएको प्रमाण छ । आमाको दूधमा रहने इम्युनोग्लोबिन ‘ए’ ले रोगसँग लड्न एन्टिबडीको काम गरी पाचन प्रणालीमा लाग्ने संक्रमण रोक्छ । बच्चाले आफूलाई सुरक्षित ठान्दछ ।
आमाको दूध प्रचुर मात्रामा ६ महिनासम्म खुवाउँदा पानीको समेत आवश्यकता पर्दैन । आमाको दूध बच्चाका लागि तयारी खाना पनि हो जसलाई शिशुले चाहेमा जुनसुकै बेला र जुनसुकै स्थानमा सजिलैसँग खुवाउन सकिन्छ । त्यसैमा अझ बच्चालाई समयअनुसार आवश्यक पर्ने तत्त्वहरू, उचित मात्रामा रहन्छ, पातलिने सम्भावना रहँदैन । सुपाच्य हुन्छ र दिगो रहन्छ साथै बाहिरी सूक्ष्म जीवले जीवले आक्रमण गरी दूषित बनाई रोग लाग्ने सम्भावना पनि रहँदैन । तसर्थ बट्टाको दूध खानेमा भन्दा निमोनिया, दम, झाडापखालाले समात्ने र मृत्यु हुने सम्भावना २५ गुणा कम र भिटामिन ए, फलाम र पोषणको कमी भई, कुपोषण हुने सम्भावना न्यून रहन्छ । शारीरिक अवस्था कमजोर हुने, समयमै घस्रिने र हिँडडुल गर्न नसकिने, दूध पचाउन नसकिने, बान्ता हुने, आँखा कमजोर हुने पछि रतन्धो हुने, बाौद्धिक क्षमता कम हुने र कमजोर शारीरिक अवस्थाका कारणले व्यक्तित्व विकास गर्न सक्दैन ।
अन्त्यमा, नेपालमा स्तनपानका लागि विभिन्न नीति नियमहरू बनेका छन् । ९८ दिन तलबी प्रसूति बिदा, प्रसूति भएको ६ महिनासम्म चाहेमा बेतलबी बिदा, ५० भन्दा बढी महिला कार्यरत संस्थामा नर्सिङ युनिट, स्तनपानमैत्री अस्पतालको घोषणालगायत उल्लेख छन् । नेपालमा २०७९ भदौ ३ देखि परोपकार प्रसूति गृह थापाथलीमा मिल्क बैंकका रूपमा अमृत कोष स्थापना भएको छ । स्तनपान प्रवद्र्धन गर्न मातृ तथा शिशुमैत्री अस्पतालका रूपमा विकास गर्ने तथा हरेक स्थानीय तहमा स्तनपान कक्ष स्थापना अभियान विस्तारमा थियो । तर कति कार्यान्वयन भयो ? स्तनपानलाई प्रतिस्थापन गर्ने वस्तुहरूमा प्रतिबन्ध लगाइएको छ । तथापि कार्यान्वयन र विस्तारमा सरोकारवालाहरूको ध्यान जान सकेको छैन । जस्का कारण भए, गरेका नियम कार्यान्वयन नहुँदा स्तनपानमा कमी र आमा तथा शिशुकोे स्वास्थ्यमा नकारात्मक असर बग्रेल्ती परेको छ ।
(डा. बुढाथोकी, संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव हुन् ।)