नेपालगन्ज: बाँकेको खजुरा स्थित नेपाल रेडक्रस सोसाइटी खजुरा उप शाखामा आयोजित आँखा शिविरमा १२ जना मोतिबिन्दुका नयाँ बिरामी फेला परेका छन् । नेपालगन्ज आँखा अस्पताल प्रालिको प्राविधिक सहयोगमा सञ्चालित मोतिबिन्दु छनोट शिविरमा ७६ जनाले परीक्षण गराएका थिए । खजुरा ४ डि गाउँका मोहन खड्काले धमिलो देख्न थालेको वर्ष दिन पुग्न थालेछ । वृद्ध खड्काले आफ्नो समय अनुकूल चेकजाँच गर्न भने भ्याएका थिएनन् । शुक्रबार नेपाल रेडक्रस सोसाइटी खजुरा उपशाखाको आयोजना र युवा रेडक्रस सर्कलको संयोजनमा भएको मोतिबिन्दु छनोट शिविरमा खड्का पनि चेकजाँच गर्न आए । उनको दुवै आँखामा मोतिबिन्दु देखिएको छ ।
आँखा चेकजाँच गर्न आएकी धना रावल शर्माले पनि आफ्नो नियमित रूपमा जाँच गर्नुपर्ने आँखा शिविरमै आएर जाँच गराएकी छन् । खजुरा ३ का कान्तुराम गौतमले आफ्नो आँखा चेकजाक गर्दै यस्तो कार्यक्रम समय समयमा गाउँघरमा ल्याउन आवश्यक रहेको प्रतिक्रिया दिए । गौतमले गाउँघरमा शिविर हुँदा ग्रामीण स्तरका जनताले पनि सेवा लिन सक्ने भएकाले यस्तो कार्यक्रम अपरिहार्य रहेको जनाए । खजुरा ३ का यम कुमारी बुढाले सामाजिक सञ्जाल मार्फत शिविर आयोजना गरिएको जानकारी पाएर आएको प्रतिक्रिया दिइन् ।
परीक्षण गराएका मध्य अघिकांशको आँखा सुख्खा हुने, आँखा चिलाउने, बिझाउने, आँशु आउने समस्या देखापरेको आँखा परीक्षणमा संलग्न नेपालगन्ज आँखा अस्पतालका कार्यकारी निर्देशक बद्री प्रसाद श्रेष्ठले जानकारी दिए । शिविरमा चस्मा लगाउनु पर्ने खालका अधिक बिरामी आएको अस्पतालका कार्यकारी निर्देशक श्रेष्ठले जनाएका छन् । ३ जनाको आँखामा मासु पलाएको, १२ जना मोतिबिन्दुको अप्रेशन गर्नुपर्ने गरी बिरामी पत्ता लागेको खजुरा उप शाखाका सभापति जीवनाथ सापकोटाले जानकारी दिए ।
अस्पतालका कार्यकारी निर्देशक नेत्र सहायक बद्री प्रसाद श्रेष्ठ, अनुराग प्रजापति, बुद्धिमती थारु, कुसुम ओली सहितको टीमले सेवा प्रदान गरेको युवा रेडक्रस सर्कल खजुराका सभापति खगेन्द्र दाहालले जानकारी दिए ।