भेरी अस्पतालमा सुत्केरी हुनेको चाप दुई गुणाले बढ्यो, बेड अभावमा नवजात शिशु र सुत्केरी भुइँमा

    • स्वास्थ्य पेज

  • १६ श्रावण २०८२, शुक्रबार

नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पतालमा सुत्केरी हुनेको चाप करिव दुई गुणाले बढेको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आमा सुरक्षा कार्यक्रम बन्द भएपछि भेरी अस्पतालमा सुत्केरी हुनेको चाप करिव दुई गुणाले बढेको अस्पतालले जनाएको छ । वेड अभावमा भुइँमै नवजात शिशु र सुत्केरी राख्नुपर्ने अवस्था सिर्जना भएको छ ।

पिएनसी कक्ष (प्रसूतिपश्चात्को हेरचाह कक्ष)मा बेड भरिभराउ छ । पहिले एक दिनमा सरदर ६ जनासम्मको शल्यक्रियामार्फत् सुत्केरी हुने भेरी अस्पतालमा अहिले १२ जनासम्मको शल्यक्रिया भइरहेको वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीले बताए । शल्यक्रियापछि सुत्केरीलाई राख्ने पोष्ट अपरेटिव वार्डमा अहिले बेडको संख्या दोब्बर छ । त्यसलेपनि चाप धान्न नसक्ने अवस्था देखिएको डा.सुवेदी बताउँछन् ।

आमा सुरक्षा कार्यक्रम अन्तर्गत् निःशुल्क सुत्केरी सेवा प्रदान गर्ने व्यवस्था छ । तर नेपालगन्ज मेडिकल कलेजमा उक्त कार्यक्रम बन्द भएपछि सुत्केरी हुनेको चाप भेरी अस्पतालमा बढेको हो । नेपालगन्जस्थित सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेस र कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालजस्ता ठूला अस्पतालहरुमा आमा सुरक्षा कार्यक्रम नहुँदा स्वभाविकरुपमा भेरी अस्पतालमा सेवाग्राहीको चाप बढेको छ अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदी भन्छन्–‘अस्पतालले थेग्न सक्ने जति थेगिरहेकै छ । यसलाई सरोकारवाला पक्षले गम्भीर ढंगले लिएर सहजीकरण गर्नुपर्ने अवस्था छ ।’

साउनदेखि सुत्केरी हुन आउनेक्रम बढेको अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले बताए । सेवाग्राहीहरुको चाप बढेको विषयमा छलफल भइरहेको पनि उनले बताए । अगाडि भने–‘हामीसँग सीमित स्रोत छ । उत्पन्न समस्या समाधानका लागि केन्द्र सरकारसँग थप सहयोगकालागि आग्रह गर्ने तयारी छ ।’ मेडिकल कलेज कोहलपुरमा साउन १ गतेदेखि आमा सुरक्षा कार्यक्रम बन्द छ । आमा सुरक्षा कार्यक्रम बन्द भएपछि यो दुई हप्ताको तथ्यांक हेर्दा भेरी अस्पतालमा ७० प्रतिशतले सुत्केरी हुन आउनेको संख्या बढेको देखिएको छ ।

  • १६ श्रावण २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech