नेपालगन्ज: नेपालगन्जस्थित सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेसका नेत्र रोग विशेषज्ञ डा.विक्रम थापा १६ वर्षको यो चिकित्सकीय जीवनमा आँखाका कैयौं केसहरु हेरिसकेका छन् । अनि कैयौं जटिल शल्यक्रिया पनि गरिसकेका छन् । गुमेका कैयौंका आँखाको ज्योति फर्कादिएका पनि छन् । शल्यक्रिया चिकित्सककालागि जोखिमपूर्ण त हो नै । तर शल्य चिकित्सकहरु उत्साहित पनि हुने गर्छन् । किनकि जति शल्यक्रिया गर्दै गयो उति हात सफा हुँदै जाने भएकाले पनि जोखिमकाबीच पनि चिकित्सकहरु उत्साहित हुने गर्छन् ।
तर गएको शनिवार भने शल्यक्रियाका लागि सधैं उत्साहित हुने डा.थापा हच्किए । उनले जीवनमा पहिलोपटक यस्तो केसको फेस गर्दै थिए । ‘मैले जीवनमै पहिलो पटक यस्तो केस देखे । त्यही केसको शल्यक्रिया गर्नु पर्दा पहिलो पटक हात नै कामे । धन्न् भगवानको कृपाले शल्यक्रिया सफल भयो ।’ सुर्खेत लेकबेशी नगरपालिका–६ कल्यानका २२ वर्षीय युवक ललित परियारमाथि शुक्रबार राती आक्रमण भयो । उनको बाँया आँखामा चक्कु प्रहार भयो । चक्कु यसरी धसिएको थियो की आँखा र नाकको बीचबाट साइनसलाई छेकेर हड्डीमा छिरेको थियो । ललितलाई राती प्रादेशीक अस्पताल सुर्खेत लगियो । त्यहाँ चक्कु निकाल्ने चिकित्सकको प्रयास सफल भएन् ।
चिकित्सकहरुले तत्काल नेपालगन्जका लागि रिफर गरिदिए । आफन्तहरुले शनिवार विहान फत्तेवाल आँखा अस्पताल पुर्याए । त्यहाँपनि उपचार सम्भव नभएको भन्दै चिकित्सकहरुले अन्यत्र लैजान सुझाव दिए । विहान ८ बजेतिर ललितलाई सञ्जिवनी कलेजको इमरजेन्सीमा पुर्याइयो । नेत्र रोग विशेषज्ञ डा.थापाले हेरे । एकछिन उनी आफै डराए । आँखा विशेषज्ञको टिमबाट मात्रै शल्यक्रियाको सम्भावना देखेनन् । चक्कु यसरी धसिएको थियो की हल्लाउन समेत नसक्ने अवस्थामा थियो । ‘चक्कु निकाल्ने मात्र ठूलो कुरा थिएन, मान्छेको ज्यानै जोखिममा थियो उनले भने–‘६ इन्च भित्र छिरेको चक्कुले आँखा त छदै थियो ब्रेन, घाँटीको रुद्रघण्टीसम्म क्षतीको जोखिम हुन सक्ने अवस्था थियो । त्यही भएर सम्पूर्ण विशेषज्ञ टिमको राय र उपस्थिति बिना शल्यक्रिया गर्न सम्भव थिएन् ।’
न्यूरो, इएन्टीदेखि अर्थोपेडिक सर्जनसम्मको छलफलको निष्कर्षको आधारमा आइतवारमात्रै ललितको शल्यक्रिया गरिएको उनले बताए । उनले भने–‘बिरामीको ज्यानमात्र जोगिएन आँखाको ज्योति समेत जोगियो ।’ नेत्र रोग विशेषज्ञ डा.विक्रम थापाको नेतृत्वमा टेक्निसियन कविता बज्राचार्य, पिउस गुप्ता, पूर्णा शर्मा, न्यूरो विभागबाट विभागिय प्रमुख न्यूरोसर्जन डा.मनिष कोलाक्षपती, इएन्टीबाट डा.सना किदवाई र अंशु शर्मा, अर्थोबाट सर्जन डा.सन्दीप गुरुङ र टेक्निसियन सुरज मिश्र, एनेस्थेसियाबाट डा.नवीन रेग्मी लगायतको टिमले करिव सवा दुई घण्टा लगाएर सफलतापूर्वक शल्यक्रिया गरेको हो ।
आँखामा गाडिएको चक्कु निकाल्न अर्थोपेडिक विभागका उपकरणको समेत प्रयोग गर्नु परेको थियो । ललितलाई विहीबारमात्रै डिस्चार्ज गरिएको डा.थापाले बताए । डा.थापा त्यति गहिरो गरि चक्कु गाडिँदा पनि आँखादेखि ब्रेन सुरक्षित रहनु ललितको भाग्य सम्झन्छन् । ‘शल्यक्रिया गर्नु जटिल हैन तर प्रकृति अत्यन्तै जटिल हो उनले भने-‘तर ललितको भाग्य रहिछ सबै सामान्य अवस्थामा आज (विहीबार) डिस्चार्ज गरिएको छ ।’
उनकी आमा हरिकला नेपालीले भनिन्–‘मैले त छोराकै आस मारिसकेकी थिए, यहाँ आएर छोराको ज्यानमात्र जोगिएन आँखाको ज्योति गुम्नबाट समेत डाक्टरसावले बचाइदिनुभयो । मेरो लागि भगवान आए जस्तै भयो ।’
आर्थिक अवस्था समेत कमजोर भएकाले आफ्नो छोरालाई सञ्जिवनी कलेजबाट अन्यन्त्र लैजाने अवस्था नै नरहेको बेला अस्पतालले अत्यन्तै कम पैसामा शल्यक्रिया गरिदिएको उनले बताइन् । अस्पतालका प्रशासन शाखा प्रमुख कुमार अधिकारीले सामाजिक उत्तरदायित्वलाई समेत सम्झेर बिरामीलाई आर्थिक रुपमा पनि सहयोग गरिएको बताए ।
पछिल्लो समय सञ्जिवी कलेजमा ट्रमा जटिल केसहरुको समेत सफलतापूर्वक उपचार हुन थालेका छन् । विशिष्टिकृत सेवा प्रवाह गर्दै आइरहेको सञ्जिवनी कलेजले बिरामीहरुलाई गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएको अधिकारी बताउँछन् ।