एआरटी सेवाको प्रभावकारिता, एचआइभी संक्रमितको पहिचान र रोकथामबारे छलफल

    • स्वास्थ्य पेज

  • १४ श्रावण २०८२, बुधबार

नेपालगन्जः एआइडी हेल्थकेयर फाउण्डेसन नेपालको आयोजनामा सञ्चालित ‘Sustaining the Gain, Strengthen HIV Prevention, Testing, Treatment and Care Services at ART Clinic of Nepal’ परियोजना अन्तर्गत बुधवार नेपालगन्जमा सल्लाहाकार समितिको बैठक सम्पन्न भएको छ ।

भेरी अस्पताल र नेपालगन्ज उपमहानगरपालिकाभित्र सञ्चालित उक्त परियोजनाको प्रगति, चुनौती र भावी योजनाबारे बैठकमा छलफल भएको एएचएफ नेपालका कार्यक्रम संयोजक सञ्जयकुमार पौडेलले जानकारी दिए । उनका अनुुसार नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एआरटी सेवाको प्रभावकारिता, एचआइभी संक्रमितको पहिचान र उपचार तथा संक्रमणको रोकथामका बिषयमा भइरहेको कार्यहरुको बारेमा परियोजनाले गर्दै आएका कामहरुको बारेमा जानकारी प्रदान गरिएको थियो ।

सन् २०२५ को जनवरीदेखि जुनसम्म ६ महिनाको अवधिमा भएका प्रमुख उपलब्धीबारे जानकारी प्रदान गरिएको उनले बताए । खासगरि एचआइभी परीक्षण र नयाँ पोजिटिभ केसहरुको पहिचानमा सफलता प्राप्त भएको उनले बताए । यो ६ महिनाको अवधिमा ३२ जना नयाँ संक्रमित पुष्टि भएका छन् । त्यसमा २९ जनाले भेरी अस्पतालबाट एआरटी सेवा लिइरहेका छन् । संक्रमण पुष्टि भएकामध्ये बालबालिकाको संख्या धेरैछ ।

संक्रमित आमावुवाबाट जन्मिएका बालबालिकामा जोखिम बढी देखिएको हो । ६ महिनामा भेरी अस्पतालको एआरटी क्लिनिकमा जाँच गारिएकामध्ये १०–१४ वर्ष उमेर समूहका ६० प्रतिशत बालबालिकालाई संक्रमण देखिएको छ । १५–१९ वर्ष उमेर समूहका ५० प्रतिशत र ४०–४९ उमेर समूहका ४५ प्रतिशतलाई एचआइभी संक्रमण देखिएको पनि उनले बताए । भेरी अस्पतालमा अहिले ६१३ जनाले एआरटी सेवा लिइरहेका छन् । तीमध्ये ५९९ जना स्वास्थ्य बीमा कार्यक्रममा समेटिएका छन् ।

जसका कारण उनीहरुको उपचारमा आर्थिक भार कम पर्न गएको भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन समेत रहेका एआरटी फोकलपर्सन डा.सकेत रिसालले बताए । उनका अनुुसार संक्रमितहरुलाई उक्त परियोजना अन्तर्गत यातायात, प्रयोगशाला परीक्षण, औंषधि र जटिल समस्या आए, त्यसको व्यवस्थापनमा सहयोग गर्ने गरिएको छ ।

डा.रिसालले एचआइभी संक्रमितलाई हेर्ने सामाजिक दृष्टिकोण अझैपनि बदल्नु पर्ने आवश्यकता औल्याए । उनले एचआइभीलाई अव सामान्य रोगका रुपमा लिनु पर्ने धारणा राखे ।

नेपालगन्ज उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख कमरुद्दिन राईले एचआइभी संक्रमण रोकथाम, पहिचान, निदान र उपचारमा पालिकाले कामहरु गर्दै आएको बताए । उनले संक्रमितहरुको सहज जीवनयापनका लागि आयआर्जनका कार्यक्रमहरुमा जोड दिइने उल्लेख गरे ।

कार्यक्रममा नेपालगन्ज उपमहानगर स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य निरीक्षक रबिन्द्र शाह, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, स्वास्थ्यकर्मी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

  • १४ श्रावण २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech