वर्षा सुरु हुनेबित्तिकै वातावरणमा हरियाली त बढ्छ, तर त्यससँगै रोगको जोखिम पनि उस्तै बढ्छ । वर्षायामले बग्ने फोहोर, जम्ने पानी र बढी चिसोपनका कारण विभिन्न संक्रामक रोगहरू फैलाउने अनुकूल वातावरण बनाइदिन्छ । त्यही कारण वर्षायामलाई स्वास्थ्यका हिसाबले निकै संवेदनशील समय मानिन्छ ।
नेपालमा वर्षायामका समयमा डेंगु, हैजा, टाइफाइड, झाडापखाला, ज्वरो, रुघाखोकी, स्किन एलर्जी, आँखाको संक्रमणलगायतका समस्या व्यापक देखिन्छन् । विशेषगरी बालबालिका, वृद्धवृद्धा र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरू यो मौसममा बढी जोखिममा पर्ने चिकित्सकहरू बताउँछन् ।
डेंगु ज्वरोः सजग नहुन्जेल जोखिम
डेंगु ज्वरो ‘एडिज’ जातको लामखुट्टेको टोकाइबाट सर्ने एक किसिमको झाइरल संक्रमण हो । विशेषगरी वर्षायाममा डेंगुको संत्रमण तीव्र रूपमा फैलिने गर्छ । डेंगु लागेपछि उच्च ज्वरो आउने, टाउको र आँखाको पछाडि दुख्ने, मांसपेशी र जोर्नी दुख्ने, वाकवाकी लाग्ने, शरीरमा रातो दाग देखिने र कहिलेकाहीँ रगत बग्ने समस्या देखिन सक्छन् ।
डेंगुको विशेष औषधि नभएकाले लक्षणअनुसार मात्र उपचार गरिन्छ । चिकित्सकको सल्लाहमा प्रशस्त आराम गर्ने, पानी र झोलिलो पदार्थ बढी सेवन गर्ने र ज्वरो घटाउने औषधि सेवन गर्ने उपचारका मुख्य तरिका हुन् ।
डेंगु रोकथामको सबैभन्दा प्रभावकारी उपाय भनेको लामखुट्टेको बस्ने ठाउँ नष्ट गर्नु हो । घर वरिपरि पानी जम्न नदिनु, झूल प्रयोग गर्नु, शरीर पूरा छोपिने लुगा लगाउनु र लामखुट्टे भगाउने क्रिम प्रयोग गर्नु आवश्यक छ ।
सजगता र सरसफाइ कायम राख्न सके डेंगुबाट बच्न सकिन्छ । त्यसैले व्यक्तिगत र सामूहिक रूपमा डेंगु नियन्त्रणका लागि सचेत बन्नु अहिलेको प्रमुख आवश्यकता हो ।
लक्षणहरूः उच्च ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, आँखाको पछाडि पीडा, रगत जम्ने समस्या र शरीरमा रातो दाग देखिनु डेंगुका मुख्य लक्षण हुन् ।
उपचारः डेंगुको विशेष औषधि छैन । चिकित्सकको सल्लाहमा आराम गर्नु, प्रशस्त पानी पिउनु र लक्षणको आधारमा उपचार गर्नुपर्छ ।
रोकथामः घर वरिपरि पानी जम्न नदिनु, शरीर पूरा छोपिने लुगा लगाउनु, झुलको प्रयोग गर्नु र लामखुट्टे भगाउने क्रिम प्रयोग गर्नु डेंगुबाट बच्ने मुख्य उपायहरू हुन् ।
झाडापखाला र हैजाः वर्षाका खतरनाक रोग
वर्षायाममा झाडापखाला र हैजाको संक्रमण व्यापक रूपमा देखिन्छ । दूषित पानी र खाना सेवन गर्दा हुने यी रोगहरू प्रायः बालबालिका, वृद्धवृद्धा र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिमा बढी देखिन्छ ।
झाडापखालामा बारम्बार पातलो दिसा हुने, पेट दुख्ने, बान्ता हुने र शरीरमा पानीको कमी हुने समस्या देखिन्छ । हैजा भने भिब्रियो कोलेरा नामक ब्याक्टेरियाबाट सर्ने गम्भीर रोग हो, जसमा पातलो पखाला, बान्ता र अत्यधिक निर्जलीकरण हुन्छ ।
यी रोगहरूको प्रमुख उपचार भनेको शरीरमा हराएको पानी र नुनको मात्रा पुनः पूर्ति गर्नु हो । ओरल रिहाइड्रेसन सोलुसन दिने, झोलिलो खाना खाने र गम्भीर अवस्थामा चिकित्सकको सल्लाहअनुसार सलाइन चढाउनुपर्छ ।
रोकथामका लागि सधैं सफा र उमालेको पानी पिउनु, ताजा र राम्ररी पकाएको खाना माक्र खानु, हात धुने बानी बसाल्नु र व्यत्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ । सावधानी अपनाउन सके झाडापखाला र हैजाबाट सजिलै बच्न सकिन्छ । सामुदायिक सरसफाइ र स्वच्छ खानेपानी नै यी रोगहरूको दीर्घकालीन समाधान हो ।
लक्षणहरूः अत्यधिक पखाला, बान्ता, पेट दुख्ने, निर्जलीकरण, कमजोरी र उच्च ज्वरो हुन सक्छ ।
उपचारः ओरल रिहाइड्रेसन सोलुसन दिने, सफा पानी पिउने र जटिल अवस्थामा अस्पतालमा भर्ना गराई सलाइन चढाउने ।
रोकथामः सफा र उमालेर मात्र पानी पिउने, खाना राम्रोसँग पकाउने, हात धुने बानी बसाल्ने र फोहोर नफाल्ने ।
टाइफाइडः स्वच्छ नखाए लाग्न सक्ने गम्भीर रोग
टाइफाइड ‘साल्मोनेला टाइफी’ नामक ब्याक्टेरियाबाट सर्ने गम्भीर संक्रामक रोग हो, जुन प्रायः दूषित पानी र खाना सेवन गर्दा सर्छ । नेपालमा विशेषगरी वर्षायाम र गर्मीयाममा टाइफाइडको संक्रमण बढ्छ ।
टाइफाइड लागेपछि बिरामीलाई लगातार उच्च ज्वरो आउने, टाउको दुख्ने, कमजोरी महसुस हुने, पेट दुख्ने, कब्जियत वा पखाला हुने र कहिलेकाहीँ शरीरमा रातो दाग देखिने लक्षणहरू देखिन्छन् ।
चिकित्सकको सल्लाहअनुसार एन्टिबायोटिक औषधि सेवन गर्नुपर्छ । समयमै उपचार नगरिए टाइफाइड जटिल बन्छ र आन्द्रामा घाउ वा प्वाल पर्न सक्छ । रोकथामका लागि सधैं उमालेर वा फिल्टर गरी पानी पिउनु, सफा र ताजा खाना मात्र सेवन गर्नु, खाना खानुअघि र दिसापिसाबपछि राम्रोसँग साबुन पानीले हात धुने बानी बसाल्नुपर्छ ।
टाइफाइड खोप लगाएर पनि यसको जोखिम घटाउन सकिन्छ । सफा पानी, स्वच्छ खाना र व्यक्तिगत सरसफाइ नै टाइफाइडबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो ।
लक्षणहरूः अविरल ज्वरो, कमजोरी, टाउको दुख्ने, पेट फुल्ने, भोक नलाग्ने, कब्जियत र कहिलेकाहीँ र्यासेज आउन सक्छ ।
उपचारः चिकित्सकको सल्लाहमा एन्टिबायोटिक औषधि सेवन गर्नु र झोलिलो खानेकुरा बढी खानुपर्छ ।
रोकथामः सफा र ताजा खानेकुरा मात्र सेवन गर्ने, दूषित पानी नपिउने र व्यक्तिगत सरसफाइमा ध्यान दिने ।
रुघाखोकी र ज्वरोः सामान्य तर बेवास्ता गर्न नहुने
वर्षायाममा मौसमको चिसोपन, नमी र संक्रमणको जोखिम बढ्ने भएकाले रुघाखोकी र ज्वरो व्यापक रूपमा देखिने समस्या हो । सामान्यतः भाइरल संक्रमणका कारण रुघाखोकी लाग्न सक्छ । नाकबाट पानी बग्ने, घाँटी दुख्ने, खोकी लाग्ने, टाउको दुख्ने र कहिलेकाहीँ हल्का ज्वरो आउन सक्छ । शरीर तातो हुने, थकाइ लाग्ने, टाउको दुख्ने, कहिलेकाहीँ कम्पन हुने जस्ता समस्या देखिन्छन् ।
रुघाखोकी र ज्वरो सामान्य भए पनि समयमै ध्यान नदिए संक्रमण फोक्सोमा पुग्न सक्ने र दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्छ । पर्याप्त आराम गर्नु, मनतातो पानी पिउनु, झोलिलो खाना खानु र चिकित्सकको सल्लाहअनुसार आवश्यक औषधि सेवन गर्नुपर्छ । शरीर न्यानो राख्नु, भीडभाडमा मास्क लगाउनु, चिसो पदार्थ कम सेवन गर्नु र व्यक्तिगत सरसफाइमा ध्यान दिनु आवश्यक छ ।
छोटो समयमै सुधार नआएमा चिकित्सकको सल्लाह लिनु र उचित उपचार गर्नु अनिवार्य हुन्छ । रुघाखोकी र ज्वरोलाई सामान्य भन्दै बेवास्ता गर्नु हुँदैन ।
चिसो मौसम, भीडभाड र सुक्खा वातावरणले गर्दा वर्षायाममा सामान्य रुघाखोकी र ज्वरोको समस्या पनि बढी देखिन्छ ।
लक्षणहरूः नाकबाट पानी बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, हल्का ज्वरो आउने ।
उपचारः पर्याप्त आराम, मनतातो पानी पिउने, चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्ने ।
रोकथामः भीडभाडमा मास्क लगाउने, शरीर न्यानो राख्ने, चिसो पदार्थबाट जोगिने ।
छालाका रोगः सावधानी नअपनाए झन्झटिलो समस्या
वर्षायाममा अत्यधिक नमी, फोहोर पानी र सफाइको कमीका कारण छालाका विभिन्न रोगहरू देखा पर्न सक्छन् । पानी र हिलोमा बढी सम्पर्क हुँदा छालामा ब्याक्टेरिया, भाइरस र फंगल संक्रमणको जोखिम बढ्छ । खटिरा आउने, छाला चिलाउने, रातो दाग देखिने, गन्हाउने र चाउरी पर्ने समस्या देखिन्छ । फंगल संक्रमण (दाद) वर्षायाममा निकै सामान्य छ, जसमा गोलो रातो घेरा देखिन्छ र अत्यधिक चिलाउने हुन्छ । छालालाई सधैं सफा र सुक्खा राख्नुपर्छ । एन्टिफंगल क्रिम र औषधि चिकित्सकको सल्लाहमा प्रयोग गर्नुपर्छ । आफै औषधि प्रयोग गर्दा संक्रमण बढ्न सक्छ ।
पानीमा लामो समय नभिज्नु, भिजेको लुगा तत्काल फेर्नु, शरीर सुक्खा राख्नु, व्यक्तिगत सरसफाइमा ध्यान दिनु र अरूको प्रयोगमा आएका तौलिया, कपडा वा चप्पल प्रयोग नगर्नु आवश्यक छ । सामान्य देखिने छालाका रोगलाई बेवास्ता गर्दा दीर्घकालीन समस्या हुन सक्छ । त्यसैले समयमै उपचार र नियमित सरसफाइ नै सबैभन्दा राम्रो उपाय हो । वर्षायाममा बढी घाम नलाग्ने, शरीरमा बढी नमी रहने र फोहोर पानीमा सम्पर्क हुँदा छालामा विभिन्न समस्या देखिन्छन् ।
लक्षणहरूः छालामा रातो दाग, खटिरा, चिलाउने, गन्हाउने र फोकाहरू आउने हुन्छ ।
उपचारः छाला सुक्खा राख्ने, एन्टिफंगल क्रिम प्रयोग गर्ने, चिकित्सकको सल्लाहमा औषधि सेवन गर्ने ।
रोकथामः जमेको पानी र फोहोरबाट टाढा रहने, शरीर सधै सफा र सुक्खा राख्ने ।