नेपालगन्ज: नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले ६०औं नेपाल रक्तसंचार दिवसको अवसरमा नयाँ भवनबाट सेवा प्रारम्भ गरको छ । नेपाल रेडक्रस सोसाइटी बाँकेको पहलमा भेरी अस्पताल परिसरभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा रक्तसंचार सेवाका लागि नवनिर्मित नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार सेवा भवनबाट दिवसका अवसरमा सेवा प्रारम्भ भएको हो ।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि मीन बहादुर मल्लले नवर्निमित भवनको मूल प्रवेशद्वारको रिबन काटेर रक्तसंचार सेवा प्रारम्भ भएको घोषणा गरे । उनले नेपाल रेडक्रसको विभिन्न सेवा मध्ये रक्तसंचार मानव जीवनसंग प्रत्यक्ष सरोकार राख्ने एक महत्वपूर्ण सेवा रहेको बताए । उनले रक्तसंचार सेवाले गुणस्तरीय सेवा प्रवाह गरिरहेको उल्लेख गरे । नेरेसो बाँके शाखाका सभापति गोवद्र्धन सिंह सम्झनाले भवन निर्माणका लागि सहयोग गर्ने पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो. इश्तियाक राईलाई धन्यवाद व्यक्त गर्दै रक्तदान गर्ने स्वयंसेवी र संस्थागत रक्तदाताहरुप्रति प्रकट गरे ।
रक्तसंचार सेवाबाट आर्थिक बर्ष २०८१/२०८२ मा १६ हजार १ सय ५१ पिन्ट रगत सकंलन र २३ हजार १ सय ९६ पिन्ट रगत वितरण भएको छ । रक्तसंचार सेवाबाट डाक्टरको सिफारिसमा पि.आर.पी., एफ.एफ.पी. प्याकसेल, (सेतो रक्तकोष) होल ब्लड र फ्रेस ब्लड उपलब्ध गराउँदै आएको ब्लड बैंकका इन्चार्ज उपेन्द्र रेग्मीले बताए । रक्तसंचार सेवा दिवसका अवसरमा दैलेखी सेवा समाजमा आवद्ध सदस्यहरुले ६५ पिन्ट रक्तदान गरेका छन् ।
नेरेसो रक्तसंचार सेवा व्यवस्थापन समितिका संयोजक राजकुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसोका महामन्त्री मल्ल, शाखा सभापति सम्झना, मन्त्री अजीज अहमद सिद्धिकी, भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाह लगायतले विचार व्यक्त गरेका थिए भने बार्षिक प्रतिवेदन ब्लड बैंकका इन्चार्ज उपेन्द्र रेग्मीले प्रस्तुत गरेका थिए । कार्यक्रममा नेरेसो जिल्ला र उपशाखा कार्यसमितिका पदाधिकारी, सदस्य, कर्मचारी र दैलेखी सेवा समाजका व्यक्ति र स्वयंसेवी रक्तदाताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन शाखाका लेखा अधिकृत झविलाल शर्माले गरेका थिए ।