नेपालगन्जः बर्दियाको बारबर्दिया नगरपालिकामा रहेको नगर अस्पतालमा ब्लड ट्रान्फ्युजन (बिरामीलाई रगत चढाउने) कार्य सुरु भएको छ । रक्तसंचार सेवा केन्द्रले ब्लड संकलन गरेर सेवा दिन थालेपनि अस्पतालमा ब्लड ट्रान्फ्युजन सेवा सुरु हुन सकेको थिएन् ।
तर आइतवारदेखि भने बिरामीलाई अस्पतालबाट रगत चढाउने कामको सुरुवात भएको बारबर्दिया सिकलसेल नगर समितिका अध्यक्ष दिपक थारुले बताए । नगर अस्पतालमा कार्यरत नर्स सरिता राजीलाई रगतको पोका हस्तान्तरण गरेर केन्द्रको नगर प्रमुख छविलाल थारुले सुभारम्भ गरे ।
बारबर्दिया नगरपालिका उद्यम विकास शाखा प्रमुख पार्वती गौडेलले बारबर्दिया नगरपालिका वडा नं. २, जोगिगाउँका बिटा थालेसिमियाका बिरामी विकास थारुलाई ओ पोजेटिभ रगत दान गरिन् ।
नगर अस्पतालमा रहेको रक्तसंचार केन्द्रमा तीन पटक वृह्त रक्तदान कार्यक्रम भइसकेको छ । संकलित रगत बिरामीहरुले आवश्यकताका आधारमा कोहलपुर र नेपालगन्जसम्म ल्याउने गरेका थिए ।
नगर अस्पतालमा ब्लड ट्रान्फ्युजन सेवा नहुँदा संकलित रगत बोकेर बिरामीहरु रगत चढाउनका लागि नेपालगन्ज र कोहलपुर आउनुपर्ने बाध्यता थियो ।
सिकलसेल तथा थालेसिमियाका बिरामीहरुको समस्यालाई ध्यानमा राखी बारबर्दिया नगर अस्पतालमा ब्लड ट्रान्फ्युजन सेवा सन्चालन गरिएको नगर प्रमुख थारुले बताए ।
ब्लड ट्रान्फ्युजन सेवा सुरु भएसँगै सिकलसेल तथा थालेसिमियाका बिरामीलाई ठूलो राहात मिलेको सिकलसेल नगर समितिका अध्यक्ष थारुले बताए ।
कार्यक्रममा नगर अस्पताल सन्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तिर्थराज पौडेल, नगर अस्पताल मे.सु डा. माधव पन्त, स्वास्थ्य डा.सुधिर के.सी ज्यू, डा.जितेन्द्र यादव, रक्तसन्चार केन्द्रका प्राविधिक अंकक्ष चौधरी लगायतको उपस्थिति रहेको थियो ।