नेपालगन्जः नेपालगन्जको गणेशमान चोक नजिकै रहेको नेपालगन्ज आँखा अस्पतालले आँखा उपचारमा आफूलाई थप विस्तार गर्दै लगेको छ । अस्पतालले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा OCT (Optical Coherence Tomography) मेसिनको उद्घाटन गर्दै आँखा उपचारलाई थप प्रविधिमैत्री बनाइएको अस्पताल सञ्चालक समितिका सदस्य गोकर्ण आचार्यले बताए ।
याे एउटा अत्याधुनिक आँखाको जाँच गर्ने उपकरण हो। यसले आँखाको भित्री भागहरू विशेषगरी रेटिना, कोर्निया आदिको सूक्ष्म र विस्तृत तस्वीर खिचेर त्यहाँकाे अवस्थाबारे जानकारी दिने चिकित्सकहरु बताउँछन् ।
आँखाको स्वास्थ्य जाँचमा प्रयोग हुने याे एकदमै उपयोगी र आधुनिक प्रविधि मानिने आचार्यले भने –‘नेत्र विशेषज्ञको सल्लाह अनुसार गरिन्छ । यो विशेषतः गम्भीर आँखाका रोगहरू पहिचान गर्न यो अत्यन्तै प्रभावकारी मानिन्छ ।’ उनले आँखा उपचारमा नेपालगन्ज आँखा अस्पतालले स्तरिय सेवा दिँदै आएकाे पनि दावी गरे ।
‘हाम्रा सेवाहरु बिरामीमैत्री त छन् नै सकेसम्म प्रविधिको समेत अधिकतम उपयोग गर्ने प्रयास गरिएको छ उनले भने–‘त्यसैको निरन्तरता ओसिटी मेसिन जडान पनि एक हो ।’ नेत्र रोग विशेषज्ञ डा.विक्रम थापाको नेतृत्वमा अन्तरंग, बहिरंग, भिजन टेस्ट, ल्याव टेस्टसँगै फेगो सर्जरी, लेजर सर्जरी लगायतका जटिल खालका शल्यक्रियाहरु समेत नेपालगन्ज आँखा अस्पतालमा भइरहेका छन् । अस्पतालको आफ्नै फार्मेसी समेत रहेको छ ।
१६ वर्ष अघि स्थापना भएको यो अस्पताल आँखाका बिरामीको उपचारका लागि अन्त्यन्तै भरपर्दो र विश्वासिलो बन्दै गएको छ । १६ औं स्थापना दिवसमा आयाेजित कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राइले नेपालगन्ज आँखा अस्पतालले थुप्रै नागरिकहरुलाई आँखाको ज्योति प्रदान गरेको भन्दै अन्धोपन निवारणमा ठूलो टेवा पुर्याएको बताए ।
जानकी गाउँपालिकाका उपाध्यक्ष रामप्यारी यादवले निम्नआयस्तर भएका नागरिकहरुका लागि नेपालगन्ज आँखा अस्पताल सहयोगि बनेको भन्दै गाउँटोलमा पुगेर आँखा उपचार सेवा र परामर्श सेवा दिन आग्रह गरिन् । उनले त्यसका लागि स्थानीय सरकारका हिसावले सहयोग गर्ने वचन पनि दिइन् ।
अस्पतालका प्रमुख सल्लाहाकार वरिष्ठ चिकित्सक डा.एम किदवाईले आँखा उपचारमा नेपालगन्ज आँखा अस्पताल डेडिकेटेड अस्पतालको रुपमा विकास भइरहेको भन्दै खुसी व्यक्त गरे । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेका सभापति गोवर्धन सिंह सम्झनाले अस्पतालले सेवालाई थप विस्तार गर्दै नागरिकलाई छिटोछरितो र सहज तरिकाले सेवा दिनुपर्ने बताए ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष कोरेशा वानोको किदवाईको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ सल्लाहाकार एम किदवाईलाई कार्यक्रमका प्रमुख अतिथिले दोसल्ला ओढाएर सम्मान गरेका थिए भने कर्मचारी पूर्ण बहादुर थारुलाई प्रशंसा पत्र प्रदान गरेका थिए । अस्पतालको प्रगति प्रतिवेदन डा.विक्रम थापा र बद्रि प्रसाद श्रेष्ठले प्रस्तुत गरेको कार्यक्रमको सहजीकरण समेत गरेका सञ्चालक समिति सदस्य आचार्यले बताए ।