स्वास्थ्य बीमा नवीकरण नगर्ने सेवाग्राहीले चारगुनासम्म रकम तिर्नुपर्ने

    • स्वास्थ्य पेज

  • ९ श्रावण २०८२, शुक्रबार

नेपालगन्ज: सरकारले समयमै स्वास्थ्य बीमा नवीकरण नगर्ने सेवाग्राहीलाई चारगुनासम्म रकम तिर्नुपर्ने नीति ल्याएको छ । स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन निर्देशिका, २०८२ अनुसार नवीकरणको म्याद छुटाउनेले अब सुविधाको साटो आर्थिक भार बेहोर्नुपर्नेछ ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले स्वीकृत गरेको संशोधित अनुसूचीअनुसार बीमा म्याद सकिएको तीन महिना भित्रमा नवीकरण गरेमा प्रिमियम रकमसहित थप ३५० तिर्नुपर्ने छ । हाल सरकारले पाँचजना परिवारका लागि ३ हजार ५०० प्रिमियम तोकेको छ । जसबाट एक लाखसम्मको सेवा पाइन्छ ।

समय कटाएर ६ महिनाभित्र नवीकरण गर्दा भने ४ हजार ५५० तिर्नुपर्ने हुन्छ । यस्तै बीमाको म्याद समाप्त भएको ६ महिनादेखि एक वर्षभित्र नवीकरण गर्दा ५ हजार २५० तिर्नुपर्ने बोर्डले जनाएको छ ।

एक वर्षपछि नवीकरण गर्दा भने ७ हजार तिर्नुपर्ने हुन्छ । यस्तै दुई वर्षपछि नवीकरण गर्दा १० हजार ५००, तीन वर्षसम्म १४ हजार र तीन वर्षभन्दा पछि १७ हजार ५०० रकम तिनुपर्ने हुन्छ । नवीकरण गर्नेसम्बन्धी कार्यविधि बोर्ड बैठकबाट २४ असारमा स्वीकृत भइसकेको छ ।

बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार धेरै नागरिक बिरामी परेपछि मात्र बीमा नवीरकण गर्ने प्रवृत्ति रहेकाले उक्त कार्यविधि ल्याइएको हो ।

‘नवीकरणलाई निरन्तरता दिने हिसाबले यस्तो नीति अगाडि सारिएको हो मल्लले भने- ‘तीन महिनापछि नवीकरण गर्दा थप ३५० रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो कारबाही होइन, निरन्तरताको प्रोत्साहन हो ।’

तर, यसभन्दा अगाडिका बोर्डका अध्यक्ष र कार्यकारी निर्देशक भने केही समय नवीकरण नगर्ने सेवाग्राहीलाई जरिबाना तोक्दा स्वास्थ्य बीमा नै धराशायी बन्दै जाने तर्क गर्छन् ।

बीमा बोर्डका पूर्वअध्यक्ष डा. गुणराज लोहनी यस्तो नीतिले आम नागरिकलाई बीमामा आबद्ध हुन झन् निरुसाहित गर्ने तर्क गर्छन् ।

‘अहिलेको अवस्थामा नागरिकले सहज नवीकरण गरिरहेका छैनन्। अझै प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने हो डा. लोहनीले भने- ‘तर सरकारले उल्टै थप पैसा तिर्नुपर्ने व्यवस्था लागु गर्दा बीमामा नआऊ भनिए जस्तो देखिन्छ । यस्तो नीतिले बीमा कार्यक्रम नै बन्द हुन्छ ।’

  • ९ श्रावण २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech