नेपालगन्जः नेपालगन्ज फुलटेक्रास्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाले एक वर्षमा आउट रिच कार्यक्रम अन्तर्गत साढे सात हजार बढीलाई कान उपचार सेवा प्रदान गरेको छ ।
आउट रिच इन्चार्ज भीषण कुमार चौधरीका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न २१ स्थानमा पुगेर कान स्वास्थ्य सम्वन्धी शिविरका माध्यमबाट सात हजार छ सय ५६ जनालाई उपचार सेवा प्रदान गरिएको हो ।

भीषण चौधरी, आउट रिच इन्चार्ज
सेवा लिनेमा पुरुषको तुलनामा महिला धेरै रहेका छन् । तीन हजार तीन सय ३९ जना पुरुषले सेवा लिदा चार हजार तीन सय १७ जना महिलाले उपचार सेवा लिएको पनि उनले बताए ।
नौ सय ६२ जनामा कान पाक्ने, नौ सय ११ जनामा कानेगुजी, कानभित्र पानी जमेको एक सय ३८ जना, धुसी दुई सय ४९ र अन्य चार हजार नौं सय १३ जना अन्य समस्या देखिएका बिरामीको शिविरमा उपचार गरिएको छ ।
कहाँ-कहाँ भए शिविर कतिले लिए सेवा ?
शिविरबाट ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवामै आएर उपचार गर्नेको संख्या तीन सय ३५ रहेको पनि उनले बताए । तीमध्ये ५३ जनाको शल्यक्रिया गरिएको छ भने ६४ जनाको कानमा मेसिन लगाइएको चौधरीले बताए ।
‘शिविरमा आएका सबैलाई निःशुल्क चेकजाँच र औंषधि उपचार गर्ने गरेको छौं उनले भने–‘ग्रामीण क्षेत्रका मानिसहरुलाई यसले ठूलो राहात प्रदान गरेको छ ।’ कान स्वास्थ्यका बारेमा आमनागरिकहरुलाई सचेत बनाउन पनि ग्रामीण क्षेत्रमा शिविर गर्दै आएको उनले बताए ।
समुदायस्तरबाट सञ्चालित यो अस्पताल कान उपचारका लागि अव्वल मानिन्छ । यहाँ नेपालीमात्र नभएर छिमेकी देश भारतबाट पनि बिरामीहरु आउने गरेको अस्पताल म्यानेजर चेतनारायण चौधरीले बताए ।
‘कान उपचारका लागि यो यसक्षेत्रकै एउटा डेडिकेटेड अस्पतालका रुपमा परिचित छ उनले भने–‘सस्तो तथा गुणस्तरीय उपचार सेवाका कारण ब्रिनोजप्रतिको बढ्दो विश्वासले पनि टाढा–टाढाबाट उपचारका लागि यहाँ आउनुहुन्छ ।’