काँग्रेस क्षेत्र नं.१ ले गर्‍यो महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर

    • स्वास्थ्य पेज

  • ७ श्रावण २०८२, बुधबार

नेपालगन्जः नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ ले बाँकेको राप्तीसोनारी गाउँपालिका–७ नन्कौपुरमा महिलाहरुलाई लक्षित गरि एक दिने निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

स्वः वीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा बुधवार आयोजित महिलाहरुको पाठेघरको मुखको क्यान्सरको पहिचान र बाँझोपन सम्वन्धी शिविरमा स्थानीय एक सय बढी महिलाहरुले सेवा लिएका छन् ।

नेपालगन्जस्थित एचसिआरसी हस्पिटलकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.मञ्जु विसीको नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टिमले शिविरमा आएका बिरामीहरुको स्वास्थ्य चेकजाँचसँगै परामर्श सेवा प्रदान गरेको थियो ।

शिविरमा आएका अधिकांश महिलामा सेतो पानी वग्ने, पाठेघर खस्ने तथा बाझोपनको समस्या देखिएको डा.विसीले जानकारी दिइन् । भिआइए परीक्षणमा एक-दुई जनामा पाठेघरको मुखको क्यान्सरको शंकास्पद लक्षण चिन्ह देखिएको बताउँदै उनले थप परीक्षणका लागि रिफर गरिएको बताइन् ।

डा.विसीले महिलाहरुमा पाठेघरको मुखको क्यानसर अहिले सबैभन्दा चुनौतिपूर्ण बनेको बताइन् । उनले नियमित चेकजाँचको अभाव र स्वास्थ्यप्रतिको हेलचेक्र्याइका कारण महिलाहरुको पाठेघरको क्यान्सरसँग जुधिरहेको समेत उल्लेख गरिन् । उनले आफ्नो स्वास्थ्यप्रति आफै सजग रहन महिलाहरुलाई आग्रह समेत गरिन् ।

एचसिआरसी हस्पिटलसँगको प्राविधिक र राप्तीसोनारी गाउँपालिकाको सहयोगमा भएको उक्त शिविरमा महिलाहरुमा बढ्दो पाठेघरको मुखको क्यान्सर रोकथाम तथा न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले शिविर गरिएको काँग्रेस क्षेत्रीय सभापति पोषण केसीले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्यको पहुँच भन्दा टाढा रहेका महिलाहरुलाई प्राथमिकतामा राखेर गाउँघरमै विशेषज्ञ चिकित्सकबाट निःशुल्क उपचार सेवा प्रदान गरिएको हो । काँग्रेस राजनीतिक मुद्दामा मात्र केन्द्रीत नभएर आमनागरिकको स्वास्थ्यप्रति पनि अत्यन्तै सजग र जिम्मेवार रहेको पनि उनले बताए ।

काँग्रेस लुम्विनी प्रदेश सभा सदस्य तथा पार्टीकी प्रदेश स्वास्थ्य विभाग प्रमुख अञ्जना पाण्डेले महिलाहरु लाज र डरका कारण रोगहरु लुकाउने प्रवृत्ति रहेको भन्दै गाउँघरमा आयोजना गरिने यस्ता शिविरले उनीहरुलाई ठूलो राहात दिने बताइन् ।

उनले विशेषज्ञ चिकित्सकहरुबाटै स्वास्थ्य सेवा प्रवाह गरिँदा रोगको पहिचान समयमै हुने र त्यसले उपचारमा पनि सहजता ल्याउने बताइन् ।

काँग्रेस लुम्विनी प्रदेशका सल्लाहाकार हुर्मत न्यौपानेले पनि विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा गरिने यस्ता शिविरले स्वास्थ्यमा पहुँच नभएका महिलाहरुलाई फाइदा पुग्ने बताए ।

प्रदेश ‘क’ का सभापति अमर बहादुर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले गरेका थिए ।

कार्यक्रममा काँग्रेसका जिल्ला सदस्य देवबहादुर खाँड, प्रदेश ‘ख’ का सभापति बलराम शर्मा, राप्तीसोनारी गाउँपालिकाका सभापति भीम राना, राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारु लगायतको उपस्थिति रहेको थियो ।

  • ७ श्रावण २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech