एकैसाथ बढ्दै डेंगु र कोरोना : एक सातामै १५७ मा डेंगु र २१ जनामा कोरोना

    • स्वास्थ्य पेज

  • ७ श्रावण २०८२, बुधबार

काठमाडौंः साउन लागेसँगै डेंगु र कोरोना संक्रमण एकैसाथ बढ्दै गएको छ । एक सातामा मात्रै १५७ जनालाई डेंगु संक्रमण भएको छ भने २१ जनामा कोरोना पजिटिभ देखिएको छ । सोमबार मात्रै पोखराको चिरक अस्पतालमा एक कोरोना संक्रमितको मृत्युसमेत भयो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार साउन लागेपछि हरेक वर्ष डेंगु संक्रमणदर बढ्छ । यो महिनामा निरन्तर बर्सात हुने, ठाउँ–ठाउँमा पानी जम्ने र लामखुट्टेले लार्भा पार्ने भएकाले डेंगु फैलिन्छ ।

यस वर्ष जनवरीदेखि २२ जुलाइसम्म दुई हजार २१३ जनालाई डेंगु भएको छ । मंगलबार मात्र १० जनामा संक्रमण देखिएको छ । हालसम्म ७३ जिल्लामा डेंगु फैलिसकेको पनि इडिसिडीले जनाएको छ । रसुवा, मनाङ, हुम्ला र डोल्पामा मात्र संक्रमण देखिएको छैन ।

सबैभन्दा बढी संक्रमण काठमाडौंमा २२४ जनामा देखिएको छ । प्रदेशअनुसार संक्रमणदर हेर्दा कोशीमा ४०२, मधेशमा ३८, बागमतीमा ४८१, गण्डकीमा ६१२, लुम्बिनीमा ३६७, कर्णालीमा ४२ र सुदूरपश्चिममा २७१ लाई डेंगु भएको छ ।

इडिसिडीका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले नेपालमा डेंगु संक्रमणदर साउन लागेपछि बढेकाले सचेत हुन सुझाए । ‘डेंगु संक्रमणदर अब थप बढ्ने देखिन्छ, किनभने यो समयमा लामखुट्टेको संख्या पनि बढ्छ, पानीमा फुल पारेर लामखुट्टेको संख्या बढ्छ, यसबाट बच्न आफैँ सचेत हुनुपर्छ,’ उनले भने ।

एडिस एजिप्टाई वा एडिस एल्बोपिक्टस जातको लामखुट्टेले डेंगु संक्रमण गराउँछ । मनसुनी मौसममा सफा पानीमा फुल पारेर फैलिने यो जातको लामखुट्टे बाह्रै महिना सक्रिय रहन्छ ।

अझ यो लामखुट्टे साँझ र बिहानको समयमा बढी सक्रिय रहन्छ । पछिल्लो समय यस प्रकारको लामखुट्टेले आफूलाई मौसमअनुसार समेत रूपान्तरण गरेकाले यसतर्फ थप सचेत हुन विज्ञहरूले सुझाउँदै आएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले लामखुट्टे नियन्त्रणमा सरकार र नागरिक समाज सधैँ चुक्दै आएको बताउँदै यसलाई गम्भीर रूपमा लिनुपर्ने बताए ।

‘अहिले नेपालमा सरुवारोग जटिल बन्दै गइरहेका छन्, सरुवारोग फैलाउने जीवहरूमा हरेक खालको वातावरणमा रहन सक्ने क्षमता वृद्धि हुँदै गइरहेको छ, यो निकै घातक हो,’ उनले भने ।

सरकारले डेंगु संक्रमणदरलाई नियन्त्रण गर्न र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानका रूपमा साउन महिनालाई घोषणा गरेको छ । हरेक वर्ष साउनलाई डेंगु नियन्त्रण र रोकथामको महिनाका रूपमा मनाउने घोषणा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घोषणा गरिसकेको छ ।

१७ पुसयता ३८० लाई कोरोना लागेकामा तीनको मृत्यु

इडिसिडीको तथ्यांकअनुसार १७ पुसयता ३८० जनामा संक्रमण पुष्टि भएको छ । तर, कतिपय जाँचबाहिर पनि थुप्रै संक्रमित रहेको हुन सक्ने भन्दै हेलचेक्र्याइँ गरे बढ्न सक्ने चेतावनी चिकित्सकले दिएका छन् ।

हालसम्म कोरोना संक्रमणबाट तीनजनाको मृत्युसमेत भइसकेको छ । सोमबार मात्रै पोखराको चिरक अस्पतालमा एक महिलाको मृत्यु भएको थियो । मंगलबार मात्रै पाँचजनामा संक्रमण पुष्टि भएको छ । हालसम्म देखिएको संक्रमणदर ४४ जिल्लाको हो ।

  • ७ श्रावण २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech