डेंगीविरुद्ध ३ महिने अभियान, कर्मचारी बिदा बस्न नपाउने

    • स्वास्थ्य पेज

  • ६ श्रावण २०८२, मंगलवार
  • सरकारले मनसुनजन्य विपदलाई मध्यनजर गर्दै कर्मचारीहरुलाई अत्यावश्यक बाहेक कार्यस्थल छाड्न र बिदा बस्न रोक लगाएको छ।

  • तीन महिनासम्म डेंगी नियन्त्रण अभियान चलाउने र सर्पदंशबाट हुने मृत्युदर घटाउन सचेतना र उपचारको व्यवस्था मिलाउने निर्णय पनि भएको छ।

काठमाडौंः सरकारले मनसुनजन्य विपदलाई मध्यनजर गर्दै कर्मचारीहरुलाई अत्यावश्यक बाहेक कार्यस्थल छाड्न र बिदा बस्न रोक लगाएको छ । साथै भौतिक रुपले उपस्थित हुने गरी बैठक वा गोष्ठी आयोजना गर्न पनि रोक लगाइएको छ । नेपाल सरकारका सचिवहरुको बैठकले तीनै तहका सरकारका कर्मचारीहरुका लागि यो निर्णय गरेको हो ।

निर्णयको बुँदानम्बर ४ (ख)मा लेखिएको छ, ‘मनसुनको कारणबाट हुनसक्ने सम्भावित विपदलाई मध्यनजर गरी नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरु अत्यावश्यक काममा बाहेक कार्यस्थल नछाड्ने र बिदामा नबस्ने । जिल्लास्थित कार्यालय प्रमुखहरुले प्रमुख जिल्ला अधिकारीसँग समन्वय नगरी बिदा नबस्ने । संघीय मन्त्रालयहरुले अत्यावश्यक बाहेक प्रदेशका निकायमा कार्यरत कर्मचारीहरुलाई भौतिक रुपले उपस्थित हुने गरी बैठक गोष्ठीमा आमन्त्रण नगर्ने ।’

सचिवहरुको बैठकले मनसुनजन्य विपद व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालय/निकाय, सुरक्षा निकाय, विकास साझेदार, संयुक्त राष्ट्रसंघीय निकाय, रेडक्रस अभियान तथा गैरसरकारी एवम् सामुदायिक संस्थाहरुले आवश्यक पूर्वतयारी तथा खोज, उद्धार र राहतका कार्यहरु गृहमन्त्रालय तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समन्वयमा प्रभावकारी ढंगले गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

लाइफलाइन सडकमा भएका अवरोध तत्काल हटाउने व्यवस्था मिलाउने जिम्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिइएको छ ।

डेंगीविरुद्ध ३ महिना अभियान चलाउने

यसैगरी मनसुनका बेला बढ्ने डेंगी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारले तीन महिनासम्म अभियान चलाउने निर्णय पनि भएको छ ।

सचिव बैठकले गरेको निर्णय अनुसार साउन, भदौ र असोज महिनासम्म अभियान सन्चालन हुनेछ । यो अवधिमा लामखुट्टेको बासस्थान र लार्भा खोजेर नष्ट गरिनेछ ।

त्यसका लागि बिहान साढे ९ बजेदेखि सरसफाइ कार्यक्रम तथा प्रचार प्रसार अभियान सन्चालन गरिने छ ।

लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमण नेपालको एक प्रमुख स्वास्थ्य समस्या हुने गरेको छ । मनसुनको बेला जताततै पानी जम्ने र त्यहाँ लामखुट्टेले बच्चा हुर्काएर संख्या बढाउने भएकाले यसलाई रोक्नु चुनौतिपूर्ण हुने गरेको छ ।

नेपालमा २०६१ सालदेखि डेंगी संक्रमण सुरु भएको थियो । त्यसयता यो रोग प्रत्येक वर्ष कहिले महामारीको रुपमा त कहिले छिटपुट रुपमा देखिँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २०८० साल वैशाखदेखि पुस महिनासम्म ७७ वटै जिल्लामा डेंगी संक्रमण फैलिएर प्रकोपको रुप लिएको थियो ।

त्यसैले मन्त्रालयले २०८१ सालमा डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना जारी गरेको थियो । सोही कार्ययोजना अनुसार लामखुट्टेको बासस्थान र लार्भा नष्ट खोजी गरी नष्ट गर्ने, सरसफाइ गर्ने अनि स्वास्थ्य सचेतनाका कार्यक्रम चलाउने काम अभियानकै रुपमा चलाउने गरिएको छ ।

साथै सर्पदंशबाट हुने मृत्युदर घटाउन सचेतना, जोखिम न्यूनीकरण र उपचारको प्रभावकारी व्यवस्था मिलाउने निर्णय समेत भएको छ । यी व्यवस्था मिलाउने जिम्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिइएको छ ।

  • ६ श्रावण २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech